रेनु जिताउन उमेशको भूमिकाबाट प्रचण्ड प्रशन्न, विभागीय मन्त्री बनाउन लबिङ – Nepal Press

रेनु जिताउन उमेशको भूमिकाबाट प्रचण्ड प्रशन्न, विभागीय मन्त्री बनाउन लबिङ

काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहाललाई चुनाव जिताउन सबै साधनस्रोत लगाएर सहयोग गरेका विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठलाई विभागसहितको मन्त्री बनाउन माओवादी अध्यक्ष प्रचण्डले चासो राखेका छन् ।

चुनावलगत्तै खुमलटार पुगेका श्रेष्ठलाई प्रचण्डले आफू चुनावमा उनको भूमिकामा खुसी भएको भन्दै विभागीय मन्त्री बनाउन सघाउने आश्वासन दिएका थिए । श्रेष्ठ भरतपुरको मेयरमा रेनु दाहाल जिताउन शेरबहादुर देउवा र प्रचण्डको प्रतिनिधिका रुपमा चितवनमा खटिएका थिए ।

चुनावमा रेनु जिताउन उमेश श्रेष्ठको व्यक्तिगत रुपमा पनि ठूलो खर्च भएको चर्चा चितवनका कांग्रेसहरुबीच चलेको छ । उनी आगामी संसदीय चुनावमा चितवन २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने सम्भावना छ । चितवन ३ बाट प्रचण्ड लड्ने भएकाले पनि उनलाई उमेशको सहयोग आवश्यक छ ।

प्रचण्डको भनाइ उदृत गर्दै खुमलटार वार्ताका एक सहभागीले भने, ‘तपाईले भरतपुरमा गठबन्धन जिताउन खेलेको भूमिकाबाट म खुसी भएको छु । प्रधानमन्त्रीलाई म पनि भन्छु, तपाईं पनि लाग्नुहोला । तपाईंलाई राम्रो मन्त्रालयसहितको मन्त्री बनाउनुपर्छ ।’

भरतपुरको चुनावमा रेनु जिताउन देउवा र प्रचण्डले उमेशलाई खटाएका थिए । दुवै नेतासँग राम्रो सम्बन्ध कायम गरेका र अर्थमन्त्री जनार्दन शर्माको व्यापारिक साझेदारसमेत रहेकाले यसपटक उमेशले विभागीय मन्त्रालय पाउने सम्भावना रहेको छ । यसअघि केही समय स्वास्थ्य राज्यमन्त्री भएका श्रेष्ठलाई मन्त्रिपरिषद् विस्तारपछि विनाविभागीय राज्यमन्त्री बनाइएको थियो ।

उमेशले विभागीय मन्त्री पाउन मन्त्रिपरिषद् पुनर्गठन हुनुपर्छ । अहिले सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मन्त्रीहरु हरुफेर गर्न चाहेको प्रचण्डले बताएका छन् । त्यसो त प्रचण्डले माओवादीले आफ्नो हैसियतअनुसार सरकारमा मन्त्रालय नपाएको र आफ्नो भागको मन्त्रालय नेकपा एसलाई दिएको भन्दै अब सम्मानजनक सहभागिता हुनुपर्ने पनि बताइसकेका छन् ।

अहिले प्रधानमन्त्रीले रक्षा मन्त्रालय आफैसँग राखेका छन् ।


प्रतिक्रिया

2 thoughts on “रेनु जिताउन उमेशको भूमिकाबाट प्रचण्ड प्रशन्न, विभागीय मन्त्री बनाउन लबिङ

  1. पार्टि बदली रहने, आफ्नो इज्जत को ख्याल नराखि त्यति धनि भएर पनि पदको लागी जनजाति को कोटा चाहिने शिक्षा माफिया, शिक्षकलाई मारेर कमाएको पैसा कै भरमा खुसी पार्न सक्दैन र?

  2. भनेपछि प्रचण्ड पुत्रीकाे जितमा उमेशकाे पैसाकाे खेल रहेछ । यसपाली भरतपुरवासीले बजाएर भाेट हालेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर