प्रदेश १ मा कुन दल ठूलो ? पालिका प्रमुखमा कांग्रेसका धेरै, समग्र पद जित्नेमा एमाले पहिलो – Nepal Press

प्रदेश १ मा कुन दल ठूलो ? पालिका प्रमुखमा कांग्रेसका धेरै, समग्र पद जित्नेमा एमाले पहिलो

विराटनगर । प्रदेश १ का १३७ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६७ स्थानीय तहको नेतृत्व जितेर ठूलो पार्टी बनेको छ । पछिल्लो नतिजाअनुसार कांग्रेस ६७ स्थानीय तहमा प्रमुख एवम् अध्यक्ष जित्दा ४४ वटा उपप्रमुख एवम् उपाध्यक्ष पद जितेको छ । २०७४ मा कांग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा जित हासिल गरेको थियो ।

गएको स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले यसपटक दोस्रो स्थानमा खुम्चिएको छ । एमालेले हालसम्म ४७ वटा प्रमुख एवम् अध्यक्ष र ६१ वटा उपप्रमुखएवम् उपाध्यक्ष पद जितेको छ ।

नेकपा माओवादी केन्द्रले प्रमुख र अध्यक्षमा १२ र उपप्रमुख एवम् उपाध्यक्ष २१ ठाउँमा जितेको छ । अघिल्लो निर्वाचनमा जम्मा नौ स्थानीय तह जितेको माओवादीले यसपटक थप तीन स्थानीय तह जितेको हो ।

अघिल्लो चुनावमा प्रदेशमा तीन स्थान जितेको राप्रपाले यसपालि दुई तहको प्रमुख, उपप्रमुख जितेको छ ।

त्यस्तै अघिल्लोपटक दुई स्थानीय तह जितेको जसपा तत्कालीन संघीय समाजवादी फोरमले यसपटक दुई तहको प्रमुख एवम् उपप्रमुख जितेको छ ।
प्रदेश १ मा तीनजना स्वतन्त्र उम्मेदवारले प्रमुख एवम् अध्यक्ष पदमा जित हासिल गरेका छन् ।

नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीले दुई प्रमुख एवम् अध्यक्ष र पाँच स्थानमा उपप्रमुख एवम् उपाध्यक्ष जितेको छ ।

धेरै पद जित्नेमा एमाले पहिलो

निर्वाचन आयोगका अनुसार प्रदेश १ मा सबैभन्दा धेरै पदमा एमालेले जितेको छ । एमालेले नगरपालिकाको मेयर १९ र गाउँपालिकाको अध्यक्ष २४ सहित उपमेयर, उपाध्यक्ष‚ वडाध्यक्ष‚ महिला सदस्य‚ दलित महिला सदस्य र सदस्य गरी दुई हजार ६९० पदमा जित निकालेको छ । यस्तै‚ कांग्रेसले मेयर २१ र अध्यक्ष ४४ सहित दुई हजार २८७ पदमा विजय हासिल गरेको छ ।

मतणनाको अन्तिम परिणाम आउन बाँकी १ स्थानीय तहमा कांग्रेसको अग्रता छ भने एक तहको गणना सुरु भएको छैन । उदयपुरको त्रियुगामा मतदानकै दिनमा भएको विवादका कारण मतगणना सुरु हुन सकेको छैन ।

मतगणना भइरहेको उदयपुरको कटारी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार राजेशचन्द्र श्रेष्ठले ४ हजार ५ सय ७१ मत प्राप्त गदै अग्रता लिएका छन् ।
प्रदेश १ का १४ जिल्लामा १ महानगर, दुई उपमहानगर, ४६ नगरपालिका र ८८ वटा गाउँपालिका गरी कूल १३७ स्थानीय तह छन् । यीमध्ये यसपटकको चुनावमा १०२ वटा स्थानीय तहमा भने सत्तागठबन्धन भित्रका या बाहिरका दलबीच कुनै न कुनैरूपको चुनावी तालमेल भएको थियो ।

सत्तारूढ गठबन्धनले प्रदेशका ९१ वटा स्थानीय तहमा तालमेल गरेका थिए । कतिपय पालिकामा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सहभागी नभए पनि सत्तागठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी भने ९१ वटै पालिकामा तालमेलमा सहभागी भएका थिए ।

त्यसबाहेक गठबन्धनभित्रकै जसपासँग एक ठाउँ र एकीकृत समाजवादीसँग एक गरी दुई ठाउँमा कांग्रेसले फरक गठबन्धन गरेको थियो ।

प्रदेशका सात स्थानीय तहमा सत्ता गठबन्धनभित्रैका अन्य दलले कांग्रेसबाहेकको तालमेल गरेका थिए ।

प्रदेशका दुई स्थानीय तहमा कांग्रेसले एमालेसँग समेत चुनावी तालमेल गरेको थियो । सबैको उम्मेदवारी दर्ता भए पनि खोटाङको हलेसी तुवाचुङ नगरमा माओवादी र एमालेबीच अघोषित तालमेल भएको थियो ।

एमालेले प्रदेशभरमा जम्मा ९ वटा पालिकामा अन्य दल र व्यक्तिसँग तालमेल गरेको थियो । माओवादीका विद्रोहीलाई उपाध्यक्षको उम्मेदवार बनाएर एमालेले व्यक्तिसँग तालमेल गरेको हो ।

ताप्लेजुङको मेरिङदेन र सिदिङवामा उपाध्यक्ष दिएर एमालेले माओवादीले सहकार्य गरेको थियो ।

त्यस्तै, पाँचथरको फिदिम नगरमा राप्रपा र राप्रपा नेपालसँग एमालेको तालमेल थियो । पाँचथरकै फाल्गुनन्द गाउँपालिका, सुनसरीको दुहबी नगरपालिका र ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा एमालेले जसपासँग तालमेल गरेको थियो ।

एमालेले कांग्रेससँग झापा कचनकवल र भोजपुरको आमचोकमा तालमेल गरेको थियो । ३५ वटा पालिकामा कुनै पनि खाले गठबन्धन भएको थिएन ।

१३७ स्थानीय तह रहेको प्रदेश १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ५१, नेकपा एमालेले ६९, माओवादी केन्द्रले ९, मधेसी जनअधिकर फोरमले ३, राप्रपाले ३, संघीय समाजवादी फोरमले २ स्थानमा परिणाम आफ्नो पक्षमा पारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर