काठमाडौं र धरानमा ‘लाठीचार्ज’- बालेन र हर्कबीच कति समानता, कति भिन्नता ? – Nepal Press
टिप्पणी

काठमाडौं र धरानमा ‘लाठीचार्ज’- बालेन र हर्कबीच कति समानता, कति भिन्नता ?

इटहरी । काठमाडाैं महानगरपालिकाका चर्चित स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र साह अर्थात् बालेन र धरानका स्वतन्त्र मेयर हर्कराज राई अर्थात् हर्क साम्पाङ जोडेर गरिने चर्चाले बजार तातेको छ । सामाजिक सञ्जालमा बालेनको चर्चा चुनावअघिदेखि नै व्यापक थियो । साम्पाङ भने चुनाव सकिएपछि सञ्जालमा छाएका छन् ।

स्थानीय चुनावमा आएको गठबन्धन भर्सेस एमालेको चुनावी अंक गणितलाई नै छायाँमा पार्ने स्तरको चर्चा बालेन र हर्क साम्पाङको छ । धरानको मेयरमा साम्पाङले चुनाव जितिसकेका छन् भने काठमाडौंको मेयरमा बालेनको फराकिलो अग्रता छ । लौरो चुनाव चिन्ह लिएर लडेका दुई उम्मेदवारबीच अरु पनि धेरै समानता छन्, र असमानता पनि उत्ति नै । यसैबारेमा चर्चा गराैं ।

समानताहरु

१. गैरदलीय अभिमत तान्ने अभियान

अभियानमा हिँड्दा साम्पाङले मूलतः धरानमा दलीय राजनीतिले खत्तम गरेको मुद्दालाई प्राथमिकता दिए । दलले विद्यालय, अस्पतालदेखि लामखुट्टे मार्न छर्कने विषयमा समेत असर गरेको भन्दै उनले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिइरहे ।

नेपालप्रेससँग चुनाव अगाडि कुरा गर्दै साम्पाङले भनेका थिए, ‘अब यस्तो दिन आउला कि दल मिल्दामात्रै मान्छेहरु चिया गफमा बस्न तयार होलान् । दल मिल्दामात्रै मान्छेहरुले एउटै गाडी चढ्लान् । डाक्टरले दल मिलाएरमात्रै उपचार गर्लान् ।’

हर्क साम्पाङको दलतन्त्रविरोधी अभियान जस्तै अभियान थियो बालेनको । बालेनले दलहरुकै कारण काठमाडौंको हुनुपर्ने विकास नभएको धेरै कुराकानीमा बताएका छन् । उनले स्वतन्त्र उम्मेदवार हुनुको कारण नै दलका उम्मेदवारहरुको असक्षमतालाई देखाएका थिए । काठमाडौंमा व्यवस्थापन कमजोर भएर समस्या भएको भन्दै त्यो व्यवस्थापनमा दलतन्त्र प्रमुख कारण भएको अर्थ दिने धेरै अन्तर्वार्ताहरु बालेनले दिएका छन् ।

हर्क साम्पाङ र बालेनको स्वतन्त्र उम्मेदवारीको प्रमुख शक्तिस्रोत नै गैरदलीय मतदाता थिए । दुवैले कुनै दलको नेतृत्व तहमा सक्रियता नदेखाएकाले उनीहरुलाई स्वतन्त्र मतदाता तान्न सहज भयो । दलहरुले आफूसँग मिल्न आग्रह गर्दा दुवै उम्मेदवारले बेवास्ता गरेर एक्लै चुनाव लडे र साँच्चिकै स्वतन्त्र उम्मेदवार भएको पुष्टि गरे ।

२. पानी

धरान काकाकुल सहर हो, काठमाडौं पनि उस्तै । धरानमा २ अर्ब १६ करोड हाराहारी बजेट ऋण लिएर पनि पानी नआएको कथा छ । काठमाडौंको आधा खर्ब हाराहारी सकिएको मेलम्चीको उस्तै खालको व्यथा छ ।

हर्क साम्पाङले धरानमा पानी खुवाएरै छाड्ने मुद्दा बोके । आफ्नो २७ बुँदे प्रतिबद्धतापत्रको एक नम्बरमै धरानलाई पानी खुवाउने लेखेर हर्क चुनावी अभियानमा हिँडे ।

बालेनले पानी, प्रदूषण र पर्यटन भनेर ‘तीन प’को चुनावी सूत्र अगाडि सारेका थिए । उनले काठमाडौंमा पानीको राम्रो व्यवस्थापन गर्ने बताएका छन् । काठमाडौंमा वर्षाको पानी जम्मा गरेर गरिने रिभर्स बोरिङदेखि आसपासका कुवा–नालाका मुहानलाई सुरक्षित गर्ने कुरा गरे । काठमाडौंको ग्राउन्ड वाटर रिचार्ज गरेर खोलानाला, हिटी र इनारको पानीको सतह बढाउने कुरा गरे ।

३. भ्रष्टाचारकाे अन्त्य र पारदर्शिता

हर्क साम्पाङले चुनावी एजेण्डामा ल्याएको एक प्रमुख मुद्दा पारदर्शिता हो । धरानमा स्थानीय सरकारले गरेका हरेक कामको पारदर्शिता हुनुपर्ने उनको तर्क छ । सूचनाको हक सबै नागरिकमा सहज पुग्नुपर्ने उनले बताइरहेका छन् । यसमा उनले अभियानकर्मी हुँदादेखि अहिले मेयर हुँदासम्म जोड दिँदै आएका छन् । मेयरका रुपमा आफू जनताको सेवक भएको उनको कथन छ ।

बालेनले पनि पारदर्शिताको कुरा गरेका छन् । नगर कार्यपालिकाको बैठक लाइभ गरेर मिडियामा ल्याउने उनको पारदर्शिताकै मुद्दा हो । त्यो मुद्दामा धेरै आकर्षित भएको पाइएको छ । हरेक सरकारी कामहरुमा सूचनाको सहज पहुँच बालेनको मुद्दा हो ।

४. अब्बल भर्चुअल संगठन

हर्क साम्पाङको एक चर्चित पेज छ– हर्क साम्पाङ अ रिभोलुसन । त्यसमा एक लाख पैंतालीस हजारभन्दा बढी फलोअर छन् । यो अझ बढ्दो क्रममा छ । उनी आफ्ना गतिविधिहरु त्यहीँ पोस्ट गर्छन् । लाइभमा आउँछन् । त्यो उनको विशाल भर्चुअल संगठन हो । सामाजिक सञ्जाल जस्तै टिकटकमा पनि साम्पाङ सक्रिय छन् । उनका भिडिओहरु लाखौंले हेरेका छन् ।

बालेन चर्चित ¥यापर हुन् । उनको आफ्नै क्रेज छ । बालेनको सामाजिक सञ्जाल फेसबुकमा फलोअरमात्रै ६ लाख ४७ हजार बढी छन् । यसका अतिरिक्त उनी विभिन्न सामाजिक सञ्जालमा उत्तिकै सक्रिय छन् । रुटिन अफ नेपाल बन्द, एमआरआरदेखि डब्लुआरआर जस्ता सञ्जालले उनलाई साथ दिएर उनको भर्चुअल संगठन झनै बलियो भएको छ ।

५. लौरो

चुनाव चिन्ह हर्क साम्पाङ र बालेनको एकै भयो । यो उनीहरुको रोजाइ थिएन । अचानक मिलेको संयोग थियो । यही चुनाव चिन्हले उनीहरुलाई समानमात्रै बनाएन, एक–अर्काको सहज ब्रान्डिङसमेत भयो । दलतन्त्रलाई चेक दिने एक गज्जब विम्बसमेत बन्यो लौरो । धरानमा लौरोले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनदेखि एमालेलाई कुटिसक्यो । काठमाडौंमा बलेनको लाठीचार्ज जारी छ ।

असमानताहरु
१. सेलिब्रिटी भर्सेस भूईंमान्छे

बालेन एक र्‍यापर हुन् । एक सेलिब्रिटीको छविमा उनले मेयरको उम्मेदवारी दिएका थिए । पेशागत हिसाबले स्ट्रक्चरल इञ्जिनियर हुन् उनी । आम्दानी राम्रो छ । काठमाडौंमा घर, गाडी, बैंक ब्यालेन्स सबै चिजले सम्पन्न छन् । उनी कालो चस्मा र कोटमा टिपटप भएर हिँड्छन् ।

काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा उनको घर छ । मधेसी मूलको भए पनि उनलाई काठमाडौंकै रैथाने भन्न सकिन्छ । उनको पुरानो घर नरदेवीमा थियो ।

हर्क साम्पाङ भूईंमान्छे हुन् । बालेनको भन्दा फरक हर्कको लवाइखवाइ अत्यन्त सामान्य छ । जीवनशैलीमा कुनै तडकभडक छैन । अध्ययनको कुरा गर्दा उनले दुई विषयमा स्नातक गरेका छन् ।

हर्क खोटाङको खार्तम्छामा जन्मेका हुन् । धरानमा उच्च शिक्षा पढ्न आएका थिए । केही वर्ष अफगानिस्तान र इराक पुगेर आएपछि उनले आफ्नो स्थायी मुकाम धरान बनाए । धरानकै वातावरणमा रमाए । उनी टेम्पु व्यवसायी पनि हुन् ।

२. अचानक उदाएका बालेन, वर्षौंदेखि संघर्षशील साम्पाङ

हर्कले धरानमा सक्रिय अभियान चलाएको झन्डै दशक पुग्यो । उनी जनसरोकारका मुद्दा बोकेर सीधै सडकमा आइहाल्छन् ।

धरानका मात्रै होइन, राष्ट्रिय सरोकारका मुद्दामा पनि उनी सडकमै अभिमत जाहेर गर्छन् । एमसीसीदेखि भारतले सिमाना मिचेको मुद्दामा हर्कले सडकमै आएर विरोध गरे । धरानको खोला दोहन, कर वृद्धि, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति, खानेपानीको समस्या जस्ता विषयमा हर्क तत्काल सडकमा आफ्ना सहयोगीसहित वा एक्लै पनि आउने व्यक्ति हुन् । उनी अभियानकै क्रममा थुनामा समेत परेका छन् ।

बालेन भूकम्पपछिको पुनर्निर्माणमा आफ्नो पेशागत हिसाबले सक्रिय भए । देशका धेरै ठाउँमा विभिन्न संरचनाहरुको निर्माणमा जुटे । अन्य राजनीतिक–सामाजिक मुद्दा लिएर सडकमा आएको भने देखिँदैन । उनी एक कुशल स्ट्रक्चरल इञ्जिनियरको रुपमा र एक चर्चित ¥यापरको रुपमा नै व्यस्त रहे । हर्क जस्तो आम मान्छेका मुद्दा लिएर सडकमा ओर्लिएको अनुभव बालेनसँग छैन ।

३. मिडिया र सेलिब्रिटीले साथ दिएका बालेन र नपाएका साम्पाङ

हर्क साम्पाङले २०७९ वैशाख ३० गतेको चुनावमा दिएको मेयरको उम्मेदवारीको समाचार धरानका केही अनलाइनले मात्रै लेखे । यो कुनै राष्ट्रिय हेडलाइन बनेन ।

हर्क साम्पाङलाई चुनाव अगाडि विभिन्न राष्ट्रिय मिडिया, खासगरी टेलिभिजनहरुले गरेका ककस प्रकारका कार्यक्रमहरुमा गठबन्धन र एमालेका उम्मेदवारसँग स्थान दिइएन । सेलिब्रिटीको साथ त झन् छँदै थिएन भन्दा हुन्छ । उनले चुनाव जितेपछि भने ‘बलेको आगो’ ताप्न सेलिब्रिटी झुम्मिएका छन् । तर, उनी हिजो संघर्षमा एक्लै हुँदा कसैको ध्यान पुगेको थिएन ।

बालेनले भने उम्मेदवारी घोषणादेखि नै मिडियामा स्थान पाइरहे । सुरुमा केही चर्चित फेसबुक पेजहरुले उनलाई प्रमोट गरे । विस्तारै मेनस्ट्रिम मिडियामा छाउन थाले । उनले मनोनयन दर्ता गर्दा राष्ट्रिय हेडलाइन नै बन्यो । मिडियादेखि युट्युबर सबै उनको पछि लागेका थिए ।

देशका धेरै चर्चित सेलिब्रिटीहरुले बालेनको खुलेर समर्थन गरे । साहित्यकार, लेखकदेखि पत्रकारहरुले उनलाई व्यापक साथ थिए । उनको पक्षमा गज्जब माहोल बन्यो ।

४. स्वतन्त्र उम्मेदवारलाई माया गर्ने र नगर्ने सहर

काठमाडौंले स्वतन्त्रदेखि साना दलका उम्मेदवारलाई समेत माया गर्दै आएको इतिहास छ । २०३८ बैशाख २० मा भएको चुनावमा ६५ हजार ७७७ मत ल्याएर नानीमैंया दाहालले काठमाडौंमा जित हासिल गरेकी थिइन् । चर्चित नेता जोगमेहर श्रेष्ठभन्दा अत्यधिक मतका साथ उनी विजयी भएकी थिइन् । ३९ हजार ७४१ मतमात्रै ल्याएका थिए श्रेष्ठले । राजनीतिक बजारमा अचानक आएकी दाहालको त्यो जितलाई धेरैले अचम्म मानेका थिए ।

दुई सिटको काठमाडौंको चुनावमा नानीमैंयाले घडी चुनाव चिन्हबाट उक्त भोट ल्याएकी थिइन् । नानीमैंयामात्रै हैन साना दलहरुलाई समेत काठमाडाैंले माया गर्दै आएको छ । २०७४ सालको चुनावमा विवेकशील पार्टीकी रञ्जु दर्शनाले पाएको २३ हजार ४३९ मत र साझा पार्टीका किशोर थापाले पाएको १८ हजार ४९६ मतले काठमाडौंले साना दलहरुलाई दिएको अभिमत देखाउँछ । यस्तो सुन्दर पृष्ठभूमिको सहरमा बालेनलाई चुनाव उठ्न ऊर्जा थियो नै ।

हर्क साम्पाङका हकमा भने यस्तो अनुकूलता थिएन । धरानले काठमाडौंको जस्तो साना दलदेखि नयाँ स्वतन्त्र उम्मेदवारलाई बोकेको नजिर छैन । यिनै हर्क साम्पाङले अघिल्लो उपचुनावमा एक हजार मत पनि ल्याउन सकेनन् । यस्तो स्थितिमा हर्कलाई उम्मेदवार दिनमात्रै होइन जित्नसमेत कठिन थियो ।

५. राजनीतिक विचारमा नखुलेका बालेन र कम्युनिष्टमा झुकाव राख्ने साम्पाङ

मूलतः स्थानीय सरकार जनतालाई डेलिभरी दिन बनाइएको हो । यहाँ राजनीतिक, वैचारिक कुराले धेरै अर्थ नराख्ला । तर, राजनीतिक विचारको कुरा त आइहाल्छ नै ।

यो मामलामा बालेन सार्वजनिक रुपमा प्रस्ट देखिएका छैनन् । अन्तर्वार्ताहरुमा उनले आफ्नो कुन वैचारिक झुकाव हो भनेर अहिलेसम्म भनेका छैनन् ।

तर, हर्क साम्पाङले भने कुनै पार्टीको सदस्यता नपाए पनि झुकाव कम्युनिष्टतिर भएको बताएका छन् । एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘सैद्धान्तिक हिसाबले म कम्युनिजम मन पराउँछु । तर, कुनै पार्टीको सदस्यता लिएको छैन । गरिब दुःखीहरुकै हितमा काम गर्छु ।’


प्रतिक्रिया

4 thoughts on “काठमाडौं र धरानमा ‘लाठीचार्ज’- बालेन र हर्कबीच कति समानता, कति भिन्नता ?

  1. बालेन राजनीतिक विचारमा नखुलेका होइनन्, खासमा उनी राजनीतिक विचारमा स्पष्ट छन् । उनले संघीयताको स्पष्ट विरोध गरेका छन् । अहिलेका शासकभन्दा पहिलेकै ठिक थिए भनिरहेका छन् । अझ, उनले काठमाडाैंको मेयरमा राप्रपाबाट उठ्न प्रस्ताव अाएका वेला सुरूमा सिधै इन्कार गरेनन् । बरू उनले टिममा राप्रपाबाट यस्तो प्रस्ताव अायो के गर्ने भनेर छलफल चलाए । अरूले हुँदैन भनेपछि मात्र उनी रोकिए । उनी यदी राजसंस्थाप्रति झुकाव राख्दैनथे भने त पहिलो चरणमै होइन भन्न सक्नुपर्थ्यो । राप्रपालार्इ इन्कार गर्न सक्नुपर्थ्यो । होइन र ?

  2. हर्क साम्पाङ दाई जस्तो जनताको नेता चाहिएको छ नेपाललाई हर्क साम्पाङ जस्तो जनताको नेताले मात्रै बिकास गर्छ नेपाललाई किनकी उहाँ पाटिको नेता होइनन् जनताका नेता हुन्

  3. लोकप्रियता हेर्न्र हो भने हर्क साङ्पाङ बालेन भन्दा अब्बल छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *