कसैले वास्ता नगरेका सुमन सायमीले काठमाडौंमा कसरी ल्याए साढे ८ हजार भोट ? – Nepal Press

कसैले वास्ता नगरेका सुमन सायमीले काठमाडौंमा कसरी ल्याए साढे ८ हजार भोट ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले हाइलाइट बटुल्दा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी छायामा परे । मिडिया र सोसल मिडियामा उनको कुनै चर्चा भएन । तर, चुनावपछि काठमाडौंको मतगणनामा भने उनले आफ्नो उपस्थिति देखाउन सफल भएका छन् ।

आज बिहानसम्मको अपडेटअनुसार सायमीको चुनावचिन्ह आँखिझ्यालले ८ हजार ५ सय ३३ भोट ल्याएको छ । अझै काठमाडौंको ४० हजार भोट गन्न बाँकी रहेको अवस्थामा उनले अझै धेरै भोट थप्न सक्ने देखिन्छ किनकी उनको प्रभाव क्षेत्रहरूमा गणना सकिएको छैन ।

सायमी मेयर बन्ने दौडमा छैनन्, तर उनले ल्याएको भोटले धेरैलाई आश्चर्यमा पारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा जस्ता स्थापित पार्टीका उम्मेदवारहरूलाई उनले पछाडि छोडेका छन् । राप्रपाका मदनदास श्रेष्ठ र विवेकशीलकी समीक्षा बास्कोटा क्रमशः पाँचौं र छैटौं स्थानमा छन् । अघिल्लोपटक विवेकशील र साझा पार्टीका उम्मेदवारहरुले कुल मिलाएर ४२ हजारभन्दा बढी भोट ल्याएका थिए । यसपाली समीक्षाले हजार भोट कटाउन मुस्किल पर्ने देखिएको छ । यस्तोमा सुमन सायमीले कसरी ल्याए यत्रो भोट भन्ने धेरैलाई कौतुहल हुन सक्छ ।

चुनावअघि सायमी उनी खासै चर्चामा थिएनन् । उनले लामो तयारी गरेर चुनावमा होमिएका पनि होइनन् । ३० दिन अगाडि मात्रै आफ्नो राजनीतिक यात्रा सुरु भएको सायमी बताउँछन् । उनले १२ वैशाखमा आफ्नो उम्मेदवारीको घोषणा गरेका थिए । १७ गते चुनावचिन्ह आँखिझ्याल पाएपछि बल्ल भोट माग्न हिँडे । मुस्किलले १५ दिन आफ्नो चुनावचिन्हमा भोट माग्न पाए उनले ।

आफूलाई जनताले काम हेरेर भोट दिएको बताउँछन् सायमी । काठमाडौंको भूमि तथा सम्पदा संरक्षण र काठमाडौंवासीको घरबास बचाउन निरन्तर लगिरहेका उनी आगामी संसदीय चुनाव लड्ने सोचमा थिए । तर, अचानक स्थानीय चुनावमै उम्मेदवारी दिए । किन त ?

सायमीले सुनाए, ‘जब ठूला दलका उम्मेदवारहरूको नाम बाहिर आयो, त्यसले मलाई एकदमै निराश भनायो । कांग्रेसका सिर्जना सिंह र एमालेका केशव स्थापितलाई काठमाडौंवासीले के आधारमा भोट दिने ? मलाई पटक्कै चित्त बुझेन र आफैं मैदानमा आउने निर्णय लिएको हुँ ।’

सायमीलाई चुनाव जित्ने महत्वाकांक्षा पनि थिएन । १२-१५ हजार भोट ल्याउने लक्ष्य रहेको उनले सुनाए ।

‘मैले सोचेकै १२-१५ हजार हो, सायद त्यति आउँछ पनि होला,’ उनले भने ।

अर्का स्वतन्त्र उम्मेदवार बालेन साह जिततर्फ लम्किरहेका छन् काठमाडौंमा । आज भोलिमा उनी मेयर निर्वाचित हुने छन् । यसमा खुसी छन् सायमी । दलहरुको लिगेसीबाट मुक्त भएर काठमाडौंवासीले स्वतन्त्र व्यक्तिलाई रोज्नु सुखद भएको उनी बताउँछन् ।

उनले बालेनसँग सहकार्यको प्रयास पनि नगरेका होइनन् । बालेनलाई भेटेका पनि थिए । बालेनले उनलाई आफूलाई समर्थन जनाउन आग्रह गरे पनि उनी तयार भएनन् । किनकी उनले आफूसम्बद्ध विभिन्न संघ-संस्थाबाट निर्णय गराएरै उम्मेदवार दिएका थिए ।

आफूले उम्मेदवारी दिएको औचित्य पुष्टि भयो भन्ने लाग्छ सायमीलाई । खासगरि काठमाडौंका कोर एरियाबाट उनलाई उल्लेख्य भोट आइरहेको छ । बाहिरी क्षेत्रमा भने उनको प्रभाव देखिएको छैन । सायमी अब संसदीय चुनावमा क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिन तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर