६ महिला उपमेयर, जसले रुपन्देहीमा एमालेको साख जोगाए – Nepal Press

६ महिला उपमेयर, जसले रुपन्देहीमा एमालेको साख जोगाए

गणना भइरहेका ठाउँमा पनि एमालेका उपमेयर उम्मेदवार नै अगाडि

रुपन्देही । एमालेको प्रभाव क्षेत्र मानिने रुपन्देहीमा यसपटकको स्थानीय तह निर्वाचन परिणाम भने सुखद हुन सकेन । अधिकांश पालिकाको प्रमुखमा एमालेका उम्मेदवार पराजित भए । तर, एक उपमहानगरसहित ६ नगरपालिकाको उपमेयर जितेर महिला नेतृत्वले एमालेको साख जोगाइदिएका छन् ।

एमालेका मेयर उम्मेदवार पराजित भएका ठाउँमा समेत फराकिलो मतान्तरसहित उपमेयरमा एमालेकै महिला नेतृ आएका छन् । अहिलेसम्म कुनै पनि वडा जित्न नसकेको दक्षिणी क्षेत्रमा पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकामा समेत योपटक एमाले नेतृले उपमेयर जितेका छन् ।

हालसम्म मतगणना भएर नतिजा घोषणा भएका देवदह, सैनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर नगरपालिकामा एमालेका महिला उम्मेदादरले उपमेयर जितिसकेका छन् भने मतगणना जारी रहेका बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकामा पनि एमालेका उपमेयरले जित्ने निश्चितजस्तै छ । बुटवलमा निकै फराकिलो मतान्तरले एमालेबाट उम्मेदवर बनेकी सावित्रा अर्याल र तिलोत्तमामा जागेश्वरीदेवी चौधरीले पनि उस्तै मतान्तर बनाएर आफ्नो जित निश्चित बनाएका छन् ।

बुटवलमा एमालेका उपप्रमुखका उम्मेदवार सावित्रा अर्याल अगाडि छन् । गठबन्धन दलका तर्फबाट उपप्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ दोस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका भगवती पाण्डे तेस्रो स्थानमा छन् ।

बुटवलमा नेकपा एमालेबाट मेयरका उम्मेदवर बाबुराम भट्टराई फराकिलो मतान्तरमा पराजित हुँदा र यसअघि जितेका अधिकांश वडाहरुको नेतृत्व गुमाउँदासमेत अर्यालले फराकिलो मतान्तरले उपमेयरमा आफ्नो जित दर्ता गराउने निश्चित देखिएको छ ।

यस्तै तिलोत्तमा नगरपालिकामा पनि जागेश्वरीदेवी चौधरी फराकिलो मतान्तरले अगाडि बढेकी छन् । यसअघि पनि उपमेयर बनेर राम्रो काम गरेको छवि बनाएकी उनले ०७४ सालमा एमालेले जितेका वडाहरुमा नेतृत्व गुमाउँदा गठबन्धनका उम्मेदवार हेमलाल पाण्डेलाई धेरै मतले पछाडि पारेकी छन् ।

देवदह नगरपालिकाको उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ फराकिलो मतान्तरसहित विजयी बनिन् । अघिल्लो निर्वाचनमा पनि उपमेयर बनेर अनुभव संगालेकी उनी अहिले दोहोरिएर फराकिलो मतान्तरले विजय बनेकी हुन् । यहाँबाट एमालेबाट निर्वाचित मेयर धु्रव खरेलको भन्दा धेरै मतान्तरले उनले जित निकालेकी हुन् ।

सैनामैना नगरपालिकामा एमालेले मेयर गुमाउँदा पनि उपमेयर जितेको छ । यसअघि पनि उपमेयर बनेर अनुभव संगालेकी बिना रानाले उपमेयरमा जितेर आफ्नो बर्चश्व देखाएकी छन् ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिकामा पनि एमालेले मेयर गुमाएको छ तर उपमेयर जितेको छ । उपमेयरमा एमालेकी उमा अधिकारीले जित निकालेर पार्टीको उपस्थिति नगरपालिकामा बनाएकी छन् । यसअघि मेयर उपमेयरसहित बहुमतमा रहेको एमालेले अहिले उपमेयरसहित केही वडामा खुम्चेको छ ।

अहिलेसम्म कुनै वडामा जित निकाल्न नसकेको लुम्बिनी साँस्कृतिक नगरपालिकामा एमालेका उम्मेदार कल्पना हरिजनले उपमेयरमा जितेकी छन् ।

मेयर र उपमेयर दुवै महिला उठाएको एमालेले यहाँबाट मेयर जित्न नसके पनि उपमेयर र ४ वडाध्यक्षमा जितेको हो । रुपन्देहीको दक्षिणी क्षेत्रमा पर्ने यो नगरपालिकामा अहिलेसम्म एमालेले कुनै वडामा जित्न सकेको थिएन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर