१८ वर्ष अमेरिका बसेर फर्किएका शेर्पाले भत्काए कांग्रेसको गढ – Nepal Press

१८ वर्ष अमेरिका बसेर फर्किएका शेर्पाले भत्काए कांग्रेसको गढ

ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाका गम्बु शेर्पा जनता समाजवादी पाटीबाट पहिलो गाउँपालिका अध्यक्ष भएका छन् ।

शेर्पाले पञ्चायती शासनकालदेखिकै कांग्रेसको गढ भत्काएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

पञ्चायती व्यवस्था देखी नै कांग्रेसको गढका रूपमा रहेको खिजिदेम्वालाई पहिलो पटक शेर्पाले कांग्रेसको विरासत तोडेका छन् ।

नेपाली कांग्रेस ओखलढुंगाका पूर्व सभापति महेश कोर्मचा तथा प्रदीप सुनुवारको गृह पालिका रहेको यो गाउँपालिकाका प्राय सबै स्थानका कांग्रेसको बर्चस्व रहेको छ ।

अघिल्लो स्थानीय निर्वाचनको समयमा केही वडामा एमालेले जितेको भए पनि यो पटक एमालेले एक वडा पनि जित्न सफल भएन । अहिले पनि गाउँपालिकाको वडा नं. १ र वडा नं. ६ मा जसपाले जितेको छ भने अन्य वडामा कांग्रेसलेले जितेको छ ।

नेपाली कांग्रेसको मजदुर संगठनबाट विद्रोह गरेर दुई वर्ष अघि जसपा भएका शेर्पाले गाउँका हरेक स्थानमा जनताको विकासका काम गरेकै कारण सफलता प्राप्त गरेका हुन् ।

को हुन शेर्पा ?

गम्बु शेर्पा लामो समय यातायात मजदुरको रूपमा कार्यरत रही संघर्ष गरेर अमेरिका पुगेका एक साधारण परिवारमा जन्मिएका व्यक्ति हुन् ।

ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका ६, साबिक खिजीफलाटे गाविस वडा नं. ६ फेदीमा जन्मिएका शेर्पाले १८ वर्षसम्म अमेरिकामा बिताए ।

कलाकारिताको माध्यमबाट विश्वव्यापी परिचय बनाउन सफल शेर्पाले नेपालको राजनैतिक घटनाक्रम र समग्र मुलुकको विकासको अवस्थालाई यसबिच नजिकबाट नियाले ।

राजनीतिबाट मात्रै मुलुकको खाका कोर्न र मुहार फेर्न सकिन्छ भन्ने उद्देश्यले आफ्नो लामो अमेरिका बसाइलाई टुंग्याउँदै नेपाल फर्किए । र, जनता समाजवादी पार्टी नेपालमार्फत राजनैतिक यात्रा शुरु गरेका शेर्पाले अमेरिकाको नागरिकता र सम्पूर्ण सुख, सुविधा त्यागी राष्ट्रका निम्ति योगदान गर्ने अठोट लिए ।

मुलुकभित्रका अनेकन बेथिति, असमानता, ढिलासुस्ती, भेदभाव, सामाजिक बेमेलको अवस्थाबाट आजित भएका शेर्पाले आफैले नेतृत्व लिएर राजनैतिक परिवर्तनको यात्रामा अघि नबढेसम्म समृद्धि हासिल गर्न नसकिने निष्कर्षसहित राजनैतिक यात्रामा अग्रसर भए ।

यस क्रममा उनले आफ्नो जन्मथलो खिजीदेम्बालाई केन्द्रमा राखेका छन् । गाउँपालिकाको जनताको सुख दुःखमा जनताकै बिचमा रहेर सक्रिय हुने उनको चाहना छ ।

यो चाहनालाई मूर्तरूप दिन केही राजनैतिक एजेण्डाहरुलाई अघि सारेका छन् । यसबाट समग्र खिजीदेम्बाको विकास र हितका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्नेछ । विशेषता पछाडि पारिएका वर्ग, समुदाय, क्षेत्रका लागि विशिष्ट कार्यक्रमहरू सञ्चालन गर्ने उनको लक्ष्य छ ।

प्राकृतिक विपत्ति लगायतका वेला जनताको घरदैलोमा पुगेर सेवा गरेका शेर्पा विभिन्न सामाजिक संस्थामा क्रियाशील छन् ।

व्यावसायिक रूपमा सफलता हात पारिसकेका शेर्पाको बाँकी जीवन मुलुक र समुदायमासमर्पण गर्ने वाचा छ । युवाहरूलाई रोजगारी, गर्भवतीहरूलाई सुरक्षित प्रसूति सेवा, आधारभूत स्वास्थ्य सुविधा, वृद्धाहरूका लागि सामाजिक सुरक्षा तथा माया दिने र जनजनको न्यूनतम आवश्यकता पूरा गर्दै गाउँपालिकालाई नमुना बनाउने अभियान सञ्चालन गर्ने वाचा छ ।

अति विकासशील मुलुक अमेरिकामा हुँदा नेपालमा नियमित आइपुग्ने शेर्पाले विपन्न र सहारा विहीन बालबालिकालाई शिक्षा,दीक्षाको अवसर दिएका छन् । जातीय पहिचान र संस्कृतिमा आधारित कार्यहरूमा उनी अभियन्ताको रूपमा चिनिन्छ ।

सबै मानव समान हुन्, सबैले सम्मान पूर्वक जीवनयापन गर्न पाउनुपर्नेमा जोड दिने शेर्पा अन्य व्यक्तिहरू भन्दा विल्कुल फरक र अग्रगामी विचार राख्ने व्यक्तित्व हुन् ।

दुई वर्ष अघि नेपाल फर्केका शेर्पा गाउँमा जनताको सेवामा जुटी नै रहे । नेपाल फर्कनासाथ जनता समाजवादी पार्टीमा आबद्ध भएका उनी गाउँपालिकाका हरेक टोल टोलमा पुगेर विकासको मूल फुटाएका छन् ।

उनकै पहलमा पुल, सडक र बिजुली समेत बलेको स्थानीय बताउँछन् । स्थानीय सरकारले आफूहरूलाई बेवास्ता गरिरहेको अवस्थामा शेर्पाको आवागमन भए पछि विकासको मूल फुटेको माथिल्लो वस्तिका स्थानीय बताउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर