तालमेलमा कांग्रेस अनुदार, रुखबाहेक अन्त भोट नहाल्दा सहयात्री दललाई समस्या – Nepal Press
स्थानीय चुनाव

तालमेलमा कांग्रेस अनुदार, रुखबाहेक अन्त भोट नहाल्दा सहयात्री दललाई समस्या

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय निर्वाचनको मतगणना देशभर जारी छ । प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अधिकांश स्थानीय तहको नेतृत्वमा अग्रता लिइरहेको छ । दोस्रो स्थानमा नेकपा एमाले रहेको छ ।

मतगणना जारी रहँदा केही मानक स्थानहरूमा भने ‘गठबन्धनको निर्णय’ कांग्रेसलाई ‘ब्याकफायर’ हुने देखिएको छ । अघिल्लो स्थानीय निर्वाचनको तुलनामा कांग्रेसले सीट थप्ने सम्भावना यथावत् भएपनि ५ दलीय गठबन्धनको चुनावी तालमेल ‘अविश्वासको घेरामा’ पर्ने देखिएको छ ।

राजनीतिकरूपमा अर्थपूर्ण मानिने काठमाडौं महानगरपालिका, भरतपुर महानगरपालिका, विराटनगर महानगरपालिका, धनगढी उपमहानगरपालिका, जनकपुर उपमहानगरपालिका, बर्दिवास नगरपालिका, धुलिखेल नगरपालिका लगायत स्थानको प्रारम्भिक मत रुझानले गठबन्धनलाई संकटमा पार्ने देखिएको छ ।

कांग्रेसभित्र तीब्र असन्तुष्टीका बाबजुद सभापति शेरबहादुर देउवाको जोडबलमा ५ दलीय चुनावी तालमेल गर्ने निर्णय भएको थियो । त्यसविरुद्ध अधिकांश स्थानमा कांग्रेसकै नेता कार्यकर्ताहरूले विद्रोह पनि गरेका थिए ।

विद्रोहीलाई कारबाही गरेर चुनावमा होमिएको भए पनि सम्बन्धित स्थानीय तहमा गठबन्धनमा मत दिन कांग्रेस कार्यकर्ताहरू अनिच्छुक देखिएका छन् । प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस क्लीन स्वीप भएको छ । देउवा स्वयं ४ दिन गृहजिल्ला बसेपनि उनले मतदान गरेको वडामै कांग्रेसबाट विद्रोह गरेका नेताहरूले नेपाली कांग्रेस (वीपी) बाट जित हासिल गरेका छन् ।

काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन् । गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंह तेस्रो स्थानमा रहेकी छिन् । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार नागेश कोइरालाले प्रारम्भिक अग्रता लिएपनि गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका जसपाका अमरेन्द्र यादव दोस्रो स्थानमा छन् । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले अग्रता लिएकी छिन् ।

भरतपुर महानगरपालिकाको प्रमुखमा पनि एमाले उम्मेदवार विजय सुवेदीले प्रारम्भिक अग्रता लिएका छन् । मतगणना जारी रहँदा भरतपुरमा गठबन्धनकी उम्मेदवार माओवादी नेतृ रेनु दाहाल दोस्रो स्थानमा छिन् । भरतपुरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल र उम्मेदवार नभएपनि रुखमा परेर बदर भएको मतले गठबन्धनलाई धक्का पुगेको छ ।

धनगढी उपमहानगरपालिकामा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले उछिनेका छन् । कांग्रेस नेतृ आरजु देउवाको गृह क्षेत्र भएपनि धनगढीमा गठबन्धनका उम्मेदवार नृप वड दोस्रो स्थानमा छन् । प्रारम्भिक मतगणनामै स्वतन्त्र उम्मेदवारले अग्रता लिदा धनगढीमा पनि गठबन्धनप्रति असन्तुष्ट कँंग्रेस मतदाताहरूले विद्रोह गरेको देखिन्छ ।

जनकपुर उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता लिइरहेका छन् । त्यहाँ गठबन्धनका उम्मेदवार प्रारम्भिक मतगणनामा चौथो नम्बरमा छन् । तालमेल गर्दा जनकपुरको प्रमुख जसपालाई दिइएपछि कांग्रेसको उपमहानगर समितिको सभापति रहेका साहले विद्रोह गरेका थिए । उनलाई कांग्रेसले ५ वर्षका लागि निष्कासन गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर