सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई मतदान केन्द्रको निर्वाचन स्थगित हुने – Nepal Press

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई मतदान केन्द्रको निर्वाचन स्थगित हुने

राजविराज । सप्तरीको डाकेश्वरी नगरपालिका वडा नम्बर २ मा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन स्थगित भएको छ ।

आक्रोशित समूहले मतपेटिका फोडेर मतपत्र छरिएपछि वडा नम्बर दुईको जनता माध्यमिक विद्यालय हरिराहको क र ख मतदान केन्द्रको निर्वाचन स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

तर स्थगितको औपचारिक निर्णय हुन बाँकी रहेको नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘वडा नम्बर दुईको जनता माध्यमिक विद्यालयमा दुई वटा मतदान केन्द्र थिए । जसमध्ये क केन्द्रमा १ सय ३६ मत र ख केन्द्रमा १ सय ६० मत खसेको थियो । विवाद भएपछि खसेको मत पनि मतमेटिका फुटाएर छरिएको छ । अब आज मतदान हुन सम्भव छैन ।’

सूचना निकालेर उक्त मतदान केन्द्रको निर्वाचन स्थगित गरी फेरि अर्को दिन निर्वाचन गर्नुपर्ने निर्वाचन अधिकृत मगरले बताए ।

एक अशक्त मतदाताले मतदानका लागि आग्रह गर्दा मतदान अधिकृतले एउटाको साटो अर्को चिन्हमा मतदान गरेको भन्ने आरोपबाट विवाद सुरु भएको ती निर्वाचन अधिकृतले मतदान अधिकृतलाई उद्धृत गर्दै जानकारी गराएका छन् ।

विवादको समाधान नभएपछि आक्रोशित समूहले मतपेटिका फुटाएका जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर