कलाकर्मीको आह्वान : भोट खेर नफालौँ, भेडा र बाख्रा छुट्याउँ – Nepal Press

कलाकर्मीको आह्वान : भोट खेर नफालौँ, भेडा र बाख्रा छुट्याउँ

काठमाडौं । यतिबेला सम्पूर्ण देशवासीको ध्यान भोलि हुने स्थानीय चुनावको मतदानतर्फ केन्द्रित छ । पाँच वर्षपछि स्थानीय जनप्रतिनिधिहरू छनोटका लागि मतदाताहरू तम्तयार भएर बसेका छन् ।

अरुबेला राजनीतिमा चासो नराख्नेहरू पनि चुनावका बेलामा भने निकै चनाखो हुने गर्छन् । कुन पार्टीका एजेन्डा कता छन्, आफ्नो क्षेत्रमा कस्ता उम्मेदवार उठेका छन् भन्नेमा सबैको चासो हुन्छ । यद्यपि, कतिपयलाई भने भोट दिएर के हुन्छ र भन्ने निराशाजनक मनोभावना पनि पैदा भइरहेको छ ।

पछिल्लो समय कलाकारिता क्षेत्रमा क्रियाशील व्यक्तिहरूले पनि राजनीतिप्रति बढ्दो झुकाव देखाउन थालेका छन् । चुनावको छेकोमा केही कलाकारहरू घोषित रूपमै विभिन्न पार्टीमा प्रवेश गरे । केही कलाकारले आफूलाई मन परेका पार्टी र उम्मेदवारलाई सामाजिक सञ्जालमार्फत भोट पनि मागिरहेका छन् । कलाकार सबैको साझा हुन्छन् भन्ने मान्यतालाई यसले खण्डित गरेको छ ।

यद्यपि कलाकार पनि देशका नागरिक हुन् । उनीहरूले पनि आफूलाई मन लागेको पार्टी रोज्न र उनीहरूको पक्षमा खुलेर आउन पाउँछन् । अरू देशमा पनि धेरै कलाकारहरूले आफ्नो राजनीतिक यात्रा अगाडि बढाएका छन् ।

हामीले ५ कलाकर्मीसँग चुनाव र राजनीतिका बारेमा कुराकानी गरेका छौँ । कलाकारहरूको भनाइ उनीहरूकै शब्दमा:

चुनवामा बाख्रा र भेडा छुट्याउनुपर्छ

दिपकराज गिरी

म चन्द्रागिरी नगरपालिका, दहचौकको मतदाता हो । म चुनावमा भोट हाल्छु, राजनीति मन पनि पर्छ । म आफैँ राजनीतिक विज्ञानको विद्यार्थी हो । तर म राजनीतिमा छैन ।

विद्यार्थीकालमा म पार्टीको लागि कराउने, उफ्रिने खालको थिएँ । त्यसैले मलाई राजनीतिमा त्यतिखेर देखि नै रुचि थियो । म कसले जित्ला भन्ने सोचेर आफ्नो समय खेर फाल्दिनँ ।

अहिले स्थानीय निर्वाचन भइरहेको छ । त्यसमा पार्टीले उठाएका ७ जना भेँडाहरुलाई नैं भोट हाल्नुपर्छ भन्ने छैन । पार्टीले उठाएको भन्दैमा सबैजना राम्रा हुँदनैन् । भेँडा कुन हो, बाख्रा कुन हो र ब्वाँसो कुन हो, राम्रोसँग चिन्नुपर्छ र छान्नुपर्छ । आफ्नो क्षेत्रको र आफ्नो ठाउँको विकास गर्ने, सबैको घरदैलोमा आइदिने, जनताको मर्म बुझ्ने, आफ्नो व्यक्तिगत भन्दा पनि ठाउँको पहिचान दिलाउने मान्छृलाई छान्नुपर्छ ।

स्थानीय चुनावलाई पार्टीबाट छुट्याउनुपर्छ । पार्टीको नामले हैन, व्यक्ति–व्यक्ति लड्नुपर्छ । स्थानीय चुनावमा एमाले, काँग्रेस, राप्रपा भन्ने हैन र पार्टीबाट उठाउने पनि हैन ।

अहिले प्रायः कलाकारहरु पार्टीतिर लागिरहनुभएको छ । किन होला भन्ने प्रश्न गर्नै मिल्दैन, किनकी सबैको आ–आफ्नो सोच हुन्छ । व्यक्तिगत विचार हुन्छ । कलाकार भन्ने बित्तिकै कलाकारिता परिवेशबाट नै हुर्केको भन्ने हुँदैन । कोहीकोही कलाकारिता क्षेत्रबाट बिदा हुने सोचले जानुहुन्छ भने कोही साँच्च्चै नै देशको सेवा गर्छु भन्ने सोचले जानुहुन्छ । उहाँहरुलाई सिर्फ यहीँ भन्न चाहन्छु कि अर्काको झोला बोकेर नजानुहोस्, बरु आफ्नो झोला अरुलाई बोकाएर जानुहोस् । नेतृत्व गर्ने साहस बोकेर जानुहोस् ।

मेरो कुरा गर्ने हो भने अहिले मेरो पार्टीमा प्रवेश गर्ने कुनै सोच छैन । किनकी मलाई कलाकारिता क्षेत्रमा नै केही गर्नुछ । तर यदि पछि गएँ भने पनि म यो क्षेत्रलाई गुडबाई गरेर नै जान्छु ।

अहिले ‘नो भोट’ को कुरा पनि आइरहन्छ कहिलेकाहीँ । मलाई चैं यो खासै आवश्यक छ जस्तो लाग्दैन । तपाई घरमै बस्नुस, भोट नहाल्नुहोस् त्यहीँ हो नो भोट । ‘नो भोट’ भन्दा पनि बरु नराम्रालाई फ्यालेर राम्रालाई ल्याउने काम गरुम् ।

युवा युवा भन्ने कुरा जुन छ, उमेर युवा भएर हँुदैन । दिमाग युवा हुनुपरयो । कोही बुढा हुन्छन् तर दिमाग युवा हुन्छ । म युवा हुँ तर मेरो सोच केपी ओली, प्रचण्ड, शेरबहादुर जस्तो छ र म त्यहीँ प्रक्रिया फलो गर्छु भने त्यो काम छैन । त्यसैले मुख्य कुरा भनेको केही गर्ने जोस भएकोलाई चुनौ र राम्रो मान्छेले जितुन् ।

भिजन भएका युवा आउनुपर्छ

प्रियंका कार्की

म हरेक चुनावमा भोट हाल्छु । कलाकार भएको हिसाबले सबैलाई यही सुझाव दिन चाहन्छु कि एकदम सोचेर, स्मार्ट भएर, जिम्मेवारीका साथ मतदान गर्नुहोस् । त्यस्तोलाई भोट हाल्नुस जसले सिर्फ आफूलाई हैन, पूरा देशलाई प्रतिनिधित्व गरोस् ।

हामी प्राय के गर्छौं भने उसले कांग्रेसलाई दियो, म पनि त्यसैलाई दिन्छु । उ एमाले त्यसैले म पनि एमाले । हो, हामी यहीँ चुक्छौँ । यस्तो खालको कुराको पछि नलाग्नुस । परिवर्तन देख्न चाहनुहुन्छ भने बुद्धिमानीपूर्वक सोचेर भोट गर्नुहोस् ।

मलाई अचम्म लाग्छ कि निर्वाचनको लागि उठ्नु भएको प्रायः नेता झन्डै ७० वर्षको उमेरको हुनुहुन्छ । ७० वर्षको मान्छेले देशको लागि के गर्ने ? उहाँहरुले गर्न सक्नुहुन्न । विकास गर्ने वाचा त सबैले गर्छन् तर उम्मेदवार त्यस्तो छान्नुहोस् जो उर्जावान छ, जसले परिवर्तन ल्याउन सक्छ । भिजन भएको मान्छेको बोलीबाट, उनीहरुको प्रस्तुतिबाट नै थाहा हुन्छ । त्यसैले आँखा खोलेर हेरौँ । अलिकति युवाहरुलाई अगाडी बढाऔं, जसमा भिजन छ ।

यो अप्रत्याशित देश हो, त्यसैले यहाँ जसले पनि जित्न सक्छ । जे पनि हुन सक्छ । अहिले हामी मौन अवधिमा छौं । त्यसैले यो मान्छेलाई जिताऔं भन्न मिल्दैन । तर पनि मेरो मनदेखि एकजनाले जितोस् भन्ने छ । सायद उहाँले जित्नुभयो भने देशमा परिवर्तन आउन सक्छ ।

अहिले धेरै कलाकारहरु पार्टीभित्र प्रवेश गर्दै हुनुहुन्छ । त्यो किन हो भन्ने त पछि नै थाहा होला । कसैलाई साँच्चै नै देशको सेवा गर्न मन होला वा कसैलाई राजनीतिक पृष्ठभूमि भए भोलिको दिन मलाई सजिलो हुन्छ भन्ने होला । कसैलाई कलाकार छिराउँदा हाम्रो राम्रो प्रचार हुन्छ भन्ने पनि होला । मेरो चैं पार्टी प्रवेश गर्ने अहिले त्यस्तो कुनै योजना छैन, किनकी आफूलाई त्यति थाहा नभएको कुरामा हात नहाल्दा नै राम्रो जस्तो लाग्छ मलाई ।

जुन यो ‘नो भोट’को प्रावधान छ त्यो चैं नआओस् भन्छु म किनकी भोट दिनु हरेक नागरिकको अधिकार हो । भोटिङ प्रक्रियालाई चैंं अलिकति व्यव्स्थित बनाइदिएको भए सबैलाई सजिलो हुन्थ्यो ।

म काठमाडौंको मतदाता हो, बस्छु ललितपुरमा । कहाँको मान्छे भोट गर्न कहाँ पुग्नुपर्छ । त्यही झन्झटले पनि कति जना भोट हाल्न जानुहुन्न । त्यसैले अनलाईन भोट गर्ने प्रक्रियाहरु बनेको भए सबैलाई सहज हुन्थ्यो ।

सक्षम मान्छेलाई भोट गरौं

आकाश श्रेष्ठ

मलाई राजनीतिको हल्काफुल्का ज्ञान छ र रुचि पनि छ । तर मैले यसपालि भोट हाल्न चैँ मिल्दैन किनकी मेरो भोटर्स कार्ड छैन ।

काठमाडौंको बासिन्दा भएता पनि म दाङको मतदाता हो । निर्वाचनको कुरा गर्नुपर्दा म के भन्न चाहन्छु भने सोचेर, बुझेर र जानेर भोट गरौँ । पहिला पनि जनताले धेरै दुख पाइसकेका छन्, पाउनुपर्ने कति सुविधाहरु पाएका छैनन् । लकडाउन हुँदासमेत सरकारबाट कसैले राहत पाएनन् । त्यसैले यसपालि सबैले सोचेर भोट हालौँ ।

नयाँ जेनेरेसनलाई एकचोटि मौका दिएर हेरौँ । पढेलेखेको र जोस भएको मान्छेमा केही गर्ने क्षमता हुन्छ । त्यसै पनि पहिलाका नेताहरुले के नै गरे र ? देश बनाउने युवाहरुले नै हो, त्यही भएर युवाहरुलाई एकचोटी मौका दिउँ । युवा नेताहरुले पनि केही न केही भिजन त पक्कै बोकेर आउनुभएको होला । युवाहरुमा एउटा जोस सँगसँगै यदि पछि जिते भने एउटा दबाब पनि हुन्छ । म पर्सनलि पनि युवा उम्मेद्वारलाई नै सपोर्ट गर्छु ।

मेरो पार्टी प्रवेश गर्ने कुनै सोच छैन । अहिले कलाकारहरु भटाभट किन पार्टी प्रवेश गर्दै हुुनुहुन्छ त्यसको बारेमा मलाई चैं त्यति ज्ञान भएन । सायद केही भविष्य देख्नुभएको होला राजनीतिमा ।

यो ‘नो भोट’ को बारेमा मलाई त्यति धेरै जानकारी त छैन । तर जहाँसम्म मैले बुझेको छु यो नो भोट नआएको नै राम्रो हो किनभने देशमा एउटा सक्षम लिडर त चाहिन्छ जसमा परिवर्तन गर्ने र देश विकास गर्ने साहस होस् । त्यसैले भोट गरेर सक्षम मान्छेलाई स्वागत गरौँ ।

क्षणिक खुशीलाई बिर्सेर भावि खुशीलाई मध्येनजर गरौं

सुमन कार्की, कमेडियन

म हास्यव्यग्यमा आवद्घ भएकोले मैले राजनीतिको बारेमा ज्ञान राख्न जरुरी छ । मेरो पेशादेखि बाहिर निस्किएुर कुरा गर्नुपर्दा पनि मलाई राजनीतिप्रति रुचि र चासो दुवै छ ।

म ओखलढुंगाको मतदाता हो र अहिले म भोट हाल्नको लागी यहाँ आइसकेको छु । यो पहिलोचोटि हो म भोट हाल्न आएको । म कुनै पार्टीसँग आबद्घ छैन । म कसैलाई भोट दिनुअघि उसले विगतमा गरेका विकासमा कार्यहरुलाई मध्यनजर गर्छु । सायद अरुले पनि त्यही गर्नुहुन्छ होला ।

‘हाम्रोलाई होइन, राम्रोलाई गरौँ,’ भन्ने भनाइ त उहिलेदेखि सुन्दै आएको हो । तर खै अन्तमा के को प्रलोभनमा पर्नुहुन्छ, ‘हाम्रो’ लाई नै अघि बढाइन्छ । तर यसपालि सबैलाई भोट गर्नुअघि चाहिँ क्षणिक खुसीलाई एकछिन पर राखेर भावी खुसीलाई मध्यनजर गरी मतदान गरौँ भन्न चाहन्छु ।

राजनीतिक विशेषज्ञ नभएकोले गर्दा ठ्याक्कै कसले जित्छ भन्ने त म अनुमान लगाउन सक्दिन । म चाहिँ युवा नै अघि बढ्नुहोस् भन्ने चाहन्छु । तर यसको मतलब यो होइन कि युवा आउनेबित्तिकै कायापलट नै हुन्छ । युवा पनि कस्तो आउँछन् भन्ने हो । दक्ष र सक्षम युवा आए सायद परिवर्तन सम्भव पनि छ । पुरानो अनुहार देख्दादेख्दा र देश विकास नभएको देख्दा चाहिँ एउटा नयाँ अनुहार खोज्नुभएको हो सबैले ।

युवा नेताको चर्चा त छ तर लोकप्रियताको हिसाबले मात्र पनि उहाँहरु नै अगाडि आउनुहुन्छ भन्न पनि सकिन्न किनकी यहाँ जे पनि हुनसक्छ । गठवन्धन सबैमा भारी पर्न पनि सक्छ ।

म त यो कलाकारिता क्षेत्रको धेरै सानो कलाकार हो । अहिले वरिष्ठ कलाकारहरु भटाभट पार्टी छिरेको देख्छु तर मेरो विचारमा कलाकारहरु पार्टीमा प्रवेश नगरेको नै राम्रो हो । अहिलेसम्म कसैले पनि कलाकार राष्ट्रको गहना हो, र उनीहरुले राजनीतिक क्षेत्रमा देशको प्रतिनिधित्व गर्छन् भनेर अवसर दिएको मलाई थाहा छैन । हरेकपटक चुनावको बेलामा प्रवेश गराउने अनि पछि कता के भन्ने अत्तोपत्तो नहुने ।

सायद कलाकारहरुमा पनि केही न केही प्रलोभन होला वा यहाँबाट म केही काम अथवा फाइदा निकाल्छु भन्ने होला कि ? आफ्नै पर्सनल कुरा गर्नु पर्दा चाहिँ म पार्टीमा पस्छु भन्ने सोच छैन र यो ‘नो भोट’ को बारेमा म अलि अनभिज्ञ भएकोले खासै बोल्नु उचित ठानिनँ ।

उमेर होइन, भिजन चाहिन्छ

एलिना चौहान, गायिका

खासमा मैले भोट हाल्नुपर्ने झापाबाट हो तर काम विशेषले बाहिर गएकीे थिएँ । आउँदा अलिक ढिला पनि भयो । अहिले काठमाडौँमै भएकाले यसपाली भोट हाल्न जान पाइनँ ।

मलाई राजनीतिमा त्यति रुचि पनि छैन खासमा । ज्ञान त राख्नुपर्ने हो, तर पहिलादेखि नै यस विषयमा चासो नै भएन । पहिला सुरुमा भोट कार्ड बनाउँदा एकपटक भोट हालेको थिए । त्यतिखेर केही ज्ञान नै थिएन । को राम्रो को नराम्रो पुरै अनभिज्ञ थिए । घरमा जता हाल्नु भन्नुभयो, त्यतै भोट हालेँ ।

त्यतिखेर सानो पनि थिएँ, तर अब अहिले अलिअलि बुझिन्छ । आफूले रिसर्च गरेर भोट हालेको मान्छेले केही नगरेको देख्दा र चुनावको बेलामा ठूला–ठूला कुरा गर्ने, अनि पछि को कता छन् केही पत्तो नहुने खालको स्वभाव देख्दा खासै भोट हालौँ जस्तो पनि लाग्दैन ।

भोट हाल्दा सोचेर हालौ भन्न चाहन्छु । कसले साँचो कुरा बोल्दैछ, कसले आफ्नो फाइदा हेर्दैछ र कसमा गर्छु भन्ने साहस छ, त्यो चाहिँ बुझौँ । सुरु–सुरुमा के–के नै गर्छुजस्तो गरेर प्रलोभन देखाउने अनि पछि गायब हुने प्रवृत्ति भएका मान्छे चिनौँ ।

म त त्यति बुझ्दिनँ, तर पनि अहिले जसरी कलाकारहरु पार्टीमा प्रवेश गरिरहनुभएको छ, त्यो देख्दा अलि अचम्भित छु । अब धेरैजना प्रवेश गर्दै हुनुहुन्छ, नाम नखुलाउ पनि । कलाकार भएपछि आफ्नो काममा फोकस गर्ने हो । १० ठाउँमा हात हाल्ने होइन जस्तो लाग्छ मलाई । कि त राजनीतिक क्षेत्रको बारेमा धेरै ज्ञान भएको हुनुपर्यो । जस्तो कोमल ओली दिदी । उहाँ कलाकार भएता पनि उहाँलाई राजनीतिको ज्ञान छ र राम्रो पनि गर्दै हुनुहुन्छ ।

लाग्छ कति त केही नबुझी पार्टी प्रवेश गर्दै हुनुहुन्छ । यसरी जो पनि पार्टी प्रवेश गर्ने र जो पनि उम्मेद्वारमा उठ्ने प्रवृत्तिले गर्दा देश विकास नभएको जस्तो लाग्छ । मलाई त रुचि नभएकोले गर्दा पार्टी पस्ने, राजनीति गर्ने चाह छैन । न त मेरो घरमा कोही पार्टीमा आबद्द हुनुहुन्छ ।

‘नो भोट’ पनि आवश्यक छ जस्तो लाग्छ मलाई, किनकी नराम्रा र केही नगर्नेलाई विजयी बनाएर के काम ? आफूले कत्रो आश बोकेर जितायो भरै उसले केही गरेन भने खल्लो मात्र हुन्छ । कसैलाई मलाई जस्तो भोट हाल्न नै मन नहुन पनि सक्छ ।

अहिले युवा युवा भन्ने जोड पनि छ । म हेरिरहेको हुन्छु । युवाले गर्छन्, अगाडी ल्याउनुपर्छ तर युवा आउने बित्तिकै विकास हुने अनि बूढाले चाहिँ केही गर्न नसक्ने भन्ने कुरामा म असहमत छु । बूढा मान्छेहरुसँग एउटा अनुभव हुन्छ । पहिलादेखि देख्दै आएको, भोग्दै आएका हुन्छन् । कहिलेकाहीँ पढेर भन्दा पनि परेर जानिन्छ । कुरा बूढा वा युवाको हा्ईन, कुरा विकासको हुनुपर्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर