स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा – Nepal Press

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

स्थानीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सबै तयारी पुरा भइसकेको आयोगले जनाएको हो ।

आवधिक निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरी सकेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार यस निर्वाचनमा विभिन्न राजनीतिक दलका तीन सय ५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भई सकेका छन् भने ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस निर्वाचनमा १० हजार सात सय ५६ मतदान स्थलका २१ हजार नौ सय ५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाताले जम्मा ३५ हजार दुई सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान गर्ने प्रवक्ता शर्माले बताए ।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार आठ सय ६५ जना स्वयंसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगी सकेका छन् ।

आयोगका अनुसार स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

५५ हजार ६ सय ९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाध रुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकार लगायत सम्बन्धित स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिई सकिएको र त्यसै बमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएका आयोगले जनाएको छ ।

वैशाख २८ र २९ गते सबै मतदान स्थलमा मतदान केन्द्रका लागि खटिएका मतदान टोलीबाट मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिका सम्बन्धी जानकारी दिने कार्यक्रम रहेको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव सूर्यप्रसाद अर्यालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ गते सम्बन्धित मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गरिने छ ।

बढी भन्दा बढी मतदातालाई मतदान सम्बन्धी जानकारी उपलब्ध गराउन सरकारी सञ्चार माध्यम लगायत आम सञ्चार माध्यम तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रब्यदृश्यको माध्यमबाट विभिन्न जानकारीमूलक सन्देश प्रसारणसमेत भई रहेका सहायक प्रवक्ता अर्यालले बताए ।

उनका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवकलगायत मतदानको कार्यमा खटिने सम्पूर्ण जनशक्तिलाई विभिन्न चरणमा आवश्यक तालिम तथा प्रशिक्षणको कार्यसमेत सम्पन्न भई मतदान स्थलमा पुगी सकेका छन् ।

निर्वाचन आचारसंहिता उलङ्घन गर्ने विभिन्न दल, उम्मेदवार र व्यक्तिलाई आयोगमा प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिता विपरीत भएका कार्य हटाउने आदेश दिने, स्पष्टीकरण सोध्ने, सचेत गराउने जस्ता कार्य भइरहेका छन् भने प्राप्त जवाफको अध्ययन र छानबिनको कार्य भइरहेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेससँग बताए ।

उनका अनुसार निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि आयोगले उल्लंघनका घट्नामा तत्काल कारबाही गर्न सक्ने अधिकार समेत दिई १९ वटा उच्चस्तरीय टोली तुलनात्मक रूपमा संवेदनशील ठानिएका विभिन्न स्थानमा परिचालन गरेको छ ।

यस्ता अनुगमन टोलीलाई निर्वाचनको गोपनीयतामा प्रतिकूल असर नपर्ने गरी निर्वाचनका कार्यसँग सम्बन्धित दृश्यको छायाङ्कन गर्न आवश्यकता अनुसार भिडियो क्यामेरा वा अन्य विद्युतीय उपकरण प्रयोग गरी दृश्य छायाकंन गर्न सक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

उनका अनुसार मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभतेर, पैसा बाँड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए नभएको अनुगमन गरी त्यस्तो कार्य भए गरेको पाइएमा तत्काल आवश्यक कारबाही गरी आयोगलाई जानकारी गराउने अधिकार उनीहरूलाई दिइएको छ ।

मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने भएकाले त्यस अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने आयोगले जनाएको छ ।

त्यस्तै मतदानको दिन मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्नुपर्ने भएकोले मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशनसमेत दिएको जनाइएको छ

निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक भएको आयोगले जनाएको छ ।

माैन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।

यस्तै राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार प्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोस्ट वा शेयर गर्न, गराउन नहुने भएकाले यस बमोजिम आचरण पालन गरिदिन आयोगले आग्रह पनि गरेको छ ।

मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत र मतदान हुने दिन आन्तरिक रुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । उम्मेदवार र अत्यावश्यक सेवाका लागि सवारी आवागमन अनुमतिको मापदण्ड जारी गरी पास उपलब्ध गराउने व्यवस्था पनि गरिएको जनाइएको छ ।

निर्वाचनमा शान्ति सुरक्षाको स्थिति कायम राख्न मौन अवधि सुरु भएपछि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनको समन्वयमा तोकेका क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन गर्न पुर्णरुपमा निषेध पनि गरिएको छ ।

विशेष संवेदनशील मानिएका जिल्ला र पालिकामा विशेष अनुगमन टोली परिचालन
निर्वाचन आचारसंहिता उल्लंघनको अनुगमनका लागि विभिन्न तहमा संरचना बनाइएका छन् ।

आयोगका अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तहको आचारसंहिता अनुगमन समितिको व्यवस्था गरिएको आयोगको भनाई छ ।

यी संरचनाका अतिरिक्त विशेष संवेदनशील मानिएका जिल्ला र पालिकामा विशेष अनुगमनका लागि अधिकार प्रत्यायोजनसहित विशेष अनुगमन टोली खटाइएको छ ।

टोलीले आचारसंहिता विपरीत दल र उम्मेदवारले झण्डा, चिन्ह र गाडी प्रयोग गरेमा, अनाधिकृतरुपमा सामानको ओसारपसार वा नगद वा जिन्सी वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको छ ।

निर्वाचनमा सुरक्षाको प्रत्याभूति हुने गरी आवश्यक व्यवस्था मिलाइएको र जस अन्तरगत नेपाली सेनासहित तीन घेराको सुरक्षा प्रबन्ध गरिएको आयोगले जनाएको छ ।

बालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएकाले यो अधिकारको प्रयोग गर्न यही वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचनमा कसैको डर, धाक धम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न निर्वाचन आयोगले सबै मतदातालाई पनि अपिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर