डडेल्धुराका मतदातालाई आश्वासन र धम्की : आरजु भन्छिन्- बजेट रोकिन्छ, देउवा भन्छन्- राजधानी हुन्छ – Nepal Press

डडेल्धुराका मतदातालाई आश्वासन र धम्की : आरजु भन्छिन्- बजेट रोकिन्छ, देउवा भन्छन्- राजधानी हुन्छ

कैलाली । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यान अहिले आफ्नै गृह जिल्लामा छ । हिजो गृह जिल्ला डडेल्धुरा पुगेका देउवा अझै केही दिन त्यही बस्ने भएका हुन् ।

देश भरी पाँच दलीय गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले सभापतिकै गृह जिल्लामा त्यो साख राख्न सकेन । बरु कांग्रेसको एउटा ठुलो समूह (कांग्रेस बिपी) अहिले एमालेसित तालमेल गरेर निर्वाचनमा होमिएको छ।

यस्तो अवस्थामा अहिले प्रधानमन्त्री तथा पार्टी सभापति आफ्नो जिल्लामा केन्द्रित हुनु स्वभाबिच हो । तर, उनले पनि मतदाताहरूलाई अस्वाभाविक आश्वासन दिएको पाइएको छ ।

उनले मतदाता रिझाउन प्रदेशको राजधानी डडेल्धुरा ल्याउन सकिने बताएका छन् ।

डडेल्धुरा सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभालाई मङ्गलवार सम्बोधन गर्दै देउवाले कांग्रेसका सबै उम्मेदवारलाई जिताए संरचना बनाएर राजधानी डडेल्धुरा ल्याएर छोड्ने बताएका हुन् ।

‘कांग्रेसका सबै उम्मेदवारलाई जिताउनुस्, बिजुली पनि ल्याइन्छ, पश्चिम सेती सबै ल्याइन्छ, भोलि पूर्वाधार बनाएर राजधानी पनि ल्याएर छोड्ने छु,’ उनले भने ।

२०७४ साला असोज १२ गते प्रदेश सभामा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा राजधानी तोकिएको थियो । त्यो भन्दा अघि सम्म शेरबहादुर देउवा सरकारकै नेतृत्वमा अस्थायी राजधानी धनगढी तोकिएको थियो ।

सङ्घीय संरचना अघि सम्म सुदूरपश्चिम प्रदेशको क्षेत्रीय सदरमुकाम डोटी रहेको थियो ।

राजधानी तोक्ने बेलामा अस्थायी राजधानी धनगढी तोकेर स्थायी राजधानी गोदावरी तोक्न समन्वय गरेका देउवाले आज डडेल्धुरा राजधानी तोक्न सकिने बताउनुलाई धेरैले मतदाता रिझाउने गफ भएको बुझेका छन् ।

डडेल्धुरामा संरचना नहुँदा राजधानी बनाउने भनेर दिएको वाचा पूरा गर्न नसकेको उनले स्वीकार गरेका थिए ।

उनले राजधानीको मात्र नभई दशकौँ सम्म काम अघि नबढेका योजनाहरू पनि अघि बढ्ने बताए ।

देशको विकास गर्ने पार्टी कांग्रेस मात्रै भएको बताउँदै उनले अरूले विकासको गफ मात्रै गर्ने गरेको उनले उल्लेख गरे।

‘देशको विकास गर्ने पार्टी भनेको कांग्रेस मात्रै हो, अरूले विकास गफ गर्छन् तर कहीँ गर्दैनन्, महाकाली, पञ्चेश्वर ल्याएर छोड्छु’, उनले भने, ‘खै पश्चिम सेती भनेर झुट बोलेर हुन्छ। ख्याल ठट्टा हो यो ?’

पश्चिम सेतीका लागि भारतसँग कुरा भइरहेको बताउँदै उनले छिटै सम्झौता हुने पनि बताए। ‘अब मोदीजी लुम्बिनी आउँदै हुनुहुन्छ, त्यही बेला यसै वर्ष सम्झौता गर्ने भनेका छौँ,’ उनले भने ।

यस अघि पनि डडेल्धुरामा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले कांग्रेसले पराजित भएका स्थानीय तहमा बजेट पठाउन नसकिने आशय व्यक्त गरेकी थिइन् ।

‘जहाँ कांग्रेसको मेयरै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौँ’ उनले भनेकी थिइन्, ‘यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरुवा पार्टीहरूलाई भोट नहाल्नुस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर