पाँच वर्षमा गाउँपालिकाले एक हात पनि सडक पिच गरेन, अब म गर्छु: दानबहादुर गुरुङ – Nepal Press

पाँच वर्षमा गाउँपालिकाले एक हात पनि सडक पिच गरेन, अब म गर्छु: दानबहादुर गुरुङ

दानबहादुर गुरुङ, इच्छाकामना गाउँपालिकाका लागि एक परिचित नाम हो । २७ वर्षसम्म इच्छाकामना गाउँपालिका विभिन्न विद्यालयमा शिक्षाको उज्यालो छर्ने काम गरेका गुरुङ सेवा निवृत्त हुन चार वर्ष मात्रै बाँकी छँदा राजीनामा दिएर राजनीतिमा आए ।

शिक्षण पेशाबाट विद्यार्थीहरुलाई चेतना र भविष्यको उज्यालो देखाएका गुरुङ अब गाउँपालिकाभरिका गरिब जनताको जीवनस्तर माथि उकास्न र समग्र इच्छाकामना गाउँपालिकाको विकास र समृद्धिमा टेवा पुर्याउने भन्दै राजनीतिमा हाम फाले ।

पेन्सन खाएर थकाइ मार्नेभन्दा पनि राजनीतिमा लागेर थप सक्रिय जीवन बिताउने र जनताको सेवा गर्न यो बाटो रोजेको उनी बताउँछन् । राष्ट्रिय आधारभूत विद्यालय पैरेनीका प्रधानाध्यापक रहेका गुरुङलाई लाग्यो, एउटा मात्रै विद्यालयको नभएर गाउँपालिकाकाभरी सबै विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा कायापलट गर्नुछ ।

चेपाङ बाहुल्य क्षेत्रमा रहेका कतिपय विद्यालयमा विद्यार्थीहरुले विद्यालय उमेरमा नै विद्यालय छाड्ने समस्या बिकराल छ । भौगोलिक दुःख उत्तिकै छ । समस्याको जरो थाहा पाएका गुरुङलाई अब समाधानको उपाय निकाल्ने ठाँउसम्म पुग्ने अवसर आइपुगेको छ ।

चितवनको एक मात्रै गाउँपालिकामा पर्दछ, इच्छाकामना । जहाँ उनले स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार भएका छन् ।

प्रस्तुत छ, उनको उम्मेदवारी र योजनाबारे कुराकानी–

तपाईको उम्मेदवारी केका लागि ?

म नेकपा एमालेबाट सर्वसम्मतरुपमा गाउँपालिकाको अध्यक्षका उम्मेदवार हुँ । मभन्दा सिनियर नेताहरुले अत्यन्तै हार्दिकतापूर्वक मलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउनुभएको छ । म शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा होमिएको हो । ३० औँ वर्षदेखि म यहाँ खेलेको हुर्केको एक पात्र हुँ ।

मलाई यहाँ हरेक कुना कन्दराहरुले चिन्छन् । म नपुगेको कुनै ठाउँ छैन । यहाँका जनताको समस्या मलाई गहिरोसँग थाहा छ । यहाँको जनताको दुःख मैले मेरै आँखाले देखेको छु र अनभूत गरेको छु । यहाँका जनताको जीवनमा केही सुधार ल्याउन सकिन्छ कि भनेर उम्मेदवार बनेको हुँ ।

तपाईँले इच्छाकामनालाई कस्तो बनाउने लक्ष्य राख्नु भएको छ ?

यसभन्दा अगाडिको नेतृत्वले राम्रो काम गरेको छ भने मैले त्यसलाई निरन्तरता दिन्छु । म सर्वप्रथम आगामी दिनमा इच्छाकामनाको बाटोघाटाको नयाँ ट्रयाक खोल्छु र भएकालाई सुधार गर्नेछु ।

सम्पन्न हुन बाँकी रहेकालाई सम्पन्न गर्नेछु । यहाँको मेन बाटो जस्तै, फिसलिङ्गकोे बाटो, कुरिनघाटबाट बमेरो जाने बाटो, कुरिनटारबाट नयाँ बस्तीहँुदै लामीडाँडा, सरादथोक जार्ने बाटो तथा तामिन, म्याग्दी खोलाबाट आउने बाटो, केबलकारबाट आउने बाटो, मुग्लिनबाट इच्छाकामना जान ेबाटो, जलबीरेदेखि चन्डीभन्ज्याङ ढुमरे जाने बाटोहरू सुधार गर्नेछु । मैले यो क्षेत्रको सबै सडक कालोपत्रे गर्न त नसकुला तर जनतालाई हिँड्न सहज हुने बनाउनेछु । उच्चस्तरको ग्रभेलिङ गर्न सक्छु ।

गाउँपालिकाले पाँच वर्षमा सडक कति बनायो ?

कांग्रेसबाट जित्नुभएकी गाउँपालिका अध्यक्ष गीता गुरूङ नेतृत्वले पाँच वर्षमा आफ्नो बजेटबाट एक हात पनि सडक कालोपत्रे गरेको छैन । यो त लज्जाको विषय हो । उहाँ फेरि सत्ता गठबन्धनबाट गाउँपालिका अध्यक्ष उठ्नु भएको छ । हिजो पाँच बर्षसम्म केही नगर्ने उम्मेदवारलाई अब फेरि जनताले किन पत्याउने ? किन मत दिने ? एकपटक त इच्छाकामनाका जनताले पत्याए । तर जनतालाई सधैं झुक्याउन सकिँदैन ।

इच्छाकामनाको ग्रामीण क्षेत्रमा सडक कालोपत्रे हुन सकेको छैन । मेरो योजना गाउँमा सडक विस्तार गर्ने, ग्राभेल भएका सडकलाई कालेपत्रे गर्नेछ । विकासका दृष्टिले असाध्यै पछाडि परेको इच्छाकामनामा विकासको लहर सुरू गर्ने लक्ष्य मेरो छ । केन्द्रीय सरकार, प्रदेश सरकार, विभिन्न दातृ निकायहरुबाट सहयोग लिएर हामी यी काम गर्नेछौं ।

जनताका बीचमा यहाँका अरु प्रतिबद्दताहरु के छन् ?

मैले इच्छाकामना गाउँपालिकाका बासिन्दालाई भनेको छु– म जनताको शासक हैन, सेवक बन्नेछु । यहाँका जनताको जीवनस्तरलाई कसरी माथि उकास्न सकिन्छ भन्नेमा मेरो ध्यान त्यसमा केन्द्रित हुन्छ । इच्छाकामनाको समृद्धिका लागि विज्ञहरुसँग बसेर योजना बनाउँछु ।

हामीसँग अथाह सम्भावना छ । विगतको पाँच बर्ष हाम्रो यतिकै खेर गयो । कांग्रेसले गाउँपालिका जित्यो तर विकास रोकियो । कुनै योजना अगाडि बढ्न सकेन । न त विपन्न नागरिकहरुले केही पाए, न त उनीहरुको जीवनमा कुनै परिवर्तन आयो । त्यसैले यहाँका जनताको जीवनलाई कसरी समृद्ध बनाउने भन्नेमा मेरो बढी ध्यान जानेछ ।

यहाँ होटल व्यवासायीका थुप्रै समस्याहरु छन् । पृथ्वीराजमार्ग र मुग्लिन नारायणगढ सडकखण्डको केही राजमार्गको हिस्सा यहाँ पर्ने भएकोले यहाँका होटलहरुको व्यवस्थापन, सफा र अर्गानिक खानाको व्यवस्थापनका लागि उहाँहरुलाई उत्पेरित गर्नेछु ।

गाउँमा कृषि उपज अर्गानिक उत्पादन गर्न प्रोत्साहन गर्ने तल राजमार्गमा रहेका होटलमा ल्याएर बेच्ने । यसले के भयो त गाउँका जनताको आयआर्जन भयो, तल होटलवालाहरुको पनि गुणस्तर सुध्रियो, होटलमा खाना खाने ग्राहकले पनि ताजा र अर्गानिक खानेकुरा खान पाउनुभयो । मुग्लिनको खाना भनेपछि पहिला कति चर्चा हुन्थ्यो । अहिले मुग्लिनको अचार चर्चामा छ ।

आजसम्म होटल व्यावासयीहरुलाई प्रोत्साहन गर्ने कुनै काम भएकै छैन । गाउँपालिकाको काम कर उठाउने मात्रै हैन । कर लिएपछि केही सुविधा त दिनपर्यो नि, केही छैन । अब मैले होटल व्यवसायीहरुलाई सहज हुने गरी विभिन्न ठाउँठाउँमा सूचना राखेर ग्राहकहरुलाई राम्रो सुविधा छ भनेर नारायणगढ, काठमाण्डौँ, सौराहा पोखराबाट आउने पर्यटक र यात्रुहरुलाई जानकारी गराउँछु । पर्यटकलाई इच्छाकामनामा आएर खाजा, खाना खाने बास बस्ने व्यवस्था गतिलो बनाउन म उहाँहरुलाई प्रोत्साहित गर्ने क्षमता बढाउने काम गर्छु ।

शिक्षा क्षेत्रको विकास लागि कस्ता योजना छन् ?

मैले शिक्षण पेशामा २७ वर्ष बिताए । मलाई यहाँको समस्याको जरा जरा थाहा छ । मैले सबैभन्दा पहिले विद्यालयमा आवश्यक दरबन्दीको व्यवस्था गर्नेछु । यस क्षेत्रमा विषयगत तथा तहगत दरबन्दीको प्रयोग सक्यो भने यसले यहाँको शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउँछ ।

शिक्षा नै समृद्धिको पहिलो खुड्किलो हो । विद्यालय नआउने बालबालिकाको लागि स्कुलमा आउने वातावरण मिलाउनेछु । गाउँमै आवश्यकता अनुसार कक्षाहरु बढाउने, विद्यालय भवन बन्नेछन् । बालबालिकाहरुलाई विद्यालय अड्याउने एउटा प्रमुख चुनौती छ । त्यसका लागि आवश्यक योजना ल्याइनेछ ।

बालबालिकाले भाषा बुझ्ने शिक्षक राख्ने, उनीहरुको रहनसहन बुझ्ने, विद्यार्थीसँग घुलमिल हुने शिक्षक नियुक्त गर्नेछु । विकट ठाउँका बालबालिकालाई डे बोडस, छात्रबास, निःशुल्क कापी कलम स्टेशनरीको व्यवस्था गर्छु ।

स्वास्थ्य क्षेत्रमा के छन् योजना ?

इच्छाकामनाका जनतालाई स्वास्थ्य अवस्था निकै नाजुक छ । विपन्न चेपाङ जातिहरुमा चेतनाको समेत कमी छ । स्वास्थ्यसम्बन्धी चेतना फैलाउनुपर्ने पहिलो आवश्यकता देख्छु । स्वास्थ्यचौकीहरुको स्तरोन्नति गर्छु । गरिब जनताको निशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई तीव्रता दिने काम हुन्छ । पालिका अस्पताल गतिलो छैन । त्यसलाई सुविधासम्पन्न बनाउने र जनताको उपचार गर्ने व्यवस्था मिलाउँछु । भरतपुर अस्पतालसँग समन्वय गरेर काम गर्छौं ।

गाउँको कृषि क्षेत्रमा कस्तो काम गर्नुहुन्छ ?

इच्छाकामनाको दुई तीनवटा गाउँ सुन्तलाको लागि उत्तम क्षेत्र हो । तामिनको सुन्तला चर्चित छ । यहाँको सुन्तलाको बजार प्रवद्र्धनमा काम गर्छौं । अहिले केही रोगको समस्या देखिएको छ ।

विभिन्न रोगका कारण सुन्तलाको बिरुवा मरेकोले किसान चिन्तित छन् । म यहाँको माटो परीक्षण गरेर दुई तीन वर्षमा सुन्तलालाई कसरी दीगो रुपमा विकास गर्न सकिन्छ, त्यसमा केन्द्रित रहेर काम गर्छु ।

तरकारी बजार लाने सहज वातावरण मिलाउने छौं । किसानलाई ढुवानीको समस्या छ । बजारसम्म लैजान समस्या छ । त्यसको आवश्यक पूर्वाधार हामीले तयार गर्छौं । वर्खाको समयमा तीन महिना बाटो चल्दैन, गाउँपालिकाले जेसिबी किनेको छ तर कहाँ गएर काम गर्छ थाहा हुँदैन ।

पर्यटन क्षेत्रको विकासका लागि के सोच बनाउनुभएको छ ?

इच्छाकामना गाउँपालिका चितवनकै ग्रामिण पर्यटनको एउटा हब बन्न छ । यहाँ अथाह सम्भावना छ । चितवनको उखरमउलो गर्मीका बेलामा यहाँका पहाडी क्षेत्रमा आएर बस्ने रात कटाउने, यहाँको ग्रामिण पर्यटनलाई टेवा दिन सकिन्छ ।

चितवन जिल्लाकै अग्लो डाँडा उपरदाङगढी, सूर्योदय देखिने सिचाईचुली, इच्छाकामना, सुन्तलाको पकेट जोन, त्रिशूली नदी किनारमा होटल र र्याफ्टिङ, अन्य जलपर्यटनका गतिविधि, जलबीरे झरना, चेपाङको संस्कृति, मनकामना केवलकारको क्षेत्रबाट लिन सकिने लाभ आदी अथाह सम्भावना भएका ठाँउ हुन् ।

यी ठाँउहरुको प्रचारप्रसार, लगानीको वातावरण भित्र्याउने, पूर्वाधार बनाउने हो भने यहाँका जनताको जीवन लोभलाग्दो गरी परिवर्तन हुन्छ । त्यसतर्फ वितेको पाँचबर्ष केही काम भएन । अब हामीले गाउँपालिका जितेपछि पहिलो प्राथमिकता यी क्षेत्रमा दिइनेछ ।

तपाईँका विरुद्ध सत्ताधारी गठवन्धन छ, जित कति सहज छ ?

पक्कै पनि एमालेका विरुद्ध देशव्यापी घेराबन्दी छ । एउटा देशको राष्ट्रवादी शक्ति जो विकास र समृद्धिको पक्षमा लागेको छ, उसका विरुद्ध घेराबन्दी गरेर कमजोर बनाउन सकिन्छ कि भनेर लागेको देखैकै छौं ।

इच्छाकामनामा पनि कांग्रेस र माओवादीको गठबन्धन छ । गठबन्धन कुनै निकास र विकासका लागि हैन । यसले कुनै समस्याको समाधान दिँदैन । केका लागि गठबन्धन त्यो पनि स्थानीय तहमा ? भागबण्डा मिलाएर खाने दलीय संयन्त्र बनाउने हो गाउँपालिकालाई ? पक्कै पनि त्यो यहाँका जनताका लागि मान्य छैन ।

कांग्रेसभित्र सच्चा र इमान्दार साथीहरुले, माओवादीभित्रका इमान्दार कमरेडहरुले मलाई मत दिनुहुन्छ । हाम्रो आफ्नै पार्टीको तागत पनि राम्रै छ यहाँ । गएको पाँच बर्षमा इच्छाकामनामा कुनै विकास भएन । गरिव विपन्न, दलित, चेपाङ, गुरूङ जातिको लागि कुनै कार्यक्रम आएन । भयो त केवल प्राकृतिक स्रोत र साधानको गैरकानूनी दोहन भा छ । यसलाई रोक्नुपर्छ । जनताको बीचमा हामीले यि कुराहरुलाई लगेका छौं । विगतको जस्तो अवस्था अब हुँदैन भन्ने नै जनताको धारणा पाएको छु । चुनाव जित्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर