‘फेरि बस्ती डुब्न थालिसक्यो, यसपालि त उधारोमा भोट हालिँदैन’ – Nepal Press
विराटनगरका सुकुम्वासी भन्छन्

‘फेरि बस्ती डुब्न थालिसक्यो, यसपालि त उधारोमा भोट हालिँदैन’

विराटनगर । स्थानीय तह निर्वाचन आउँन चार दिन मात्रै बाँकी छ । दलहरुले चुनावी प्रचारलाई तीव्र बनाएका छन् । गाउँबस्ती चुनावी पोस्टर र झण्डाले रंगिएका छन् । प्रदेश १ को राजधानी विराटनगर महानगरभित्रका विपन्न दलित परिवारका घर आँगन पनि यतिखेर दलका चुनावी पोस्टर र झण्डाले सजिएका छन् । तर, यहाँका नागरिकमा कुनै उत्साह छैन ।

सबै दलका नेता कार्यकर्ता र उम्मेदवार दलित बस्तीमा पुगेर आश्वासन र प्रलोभन बाँड्दैछन् । तर ऋषिदेव, मुसहर, डोम, सदालगायत विराटनगर महानगरमा रहेका करिब ७० हजार भन्दा बढी भूमिहीन दलित समुदायको चिन्ता भने साँझ–बिहानको गर्जो कसरी टार्ने भन्नेमै छ ।

२८ वर्षीय रंंजित ऋषिदेव भन्छन्, ‘हामी गरिबलाई हातमुख जोर्ने काम र टेक्ने आफ्नै जमिनको आशले छाडेका छैन’, प्रत्येक वर्ष आउने बाढीका कारण थातथलो छाड्न पर्ने चिन्ताले सताइरहन्छ । हाम्रो समस्या कसले बुझिदिने ?’

रञ्जितका अनुसार दलित बस्ती रहेको बखरीमा डुबान र सुकुम्बासीसँगै अधिकांश युवाहरू नागरिकताविहीन अवस्थामा छन् । नागरिकता नभएपछि युवायुवती मजदुरी नै गर्न बाध्य छन् ।

शविराटनगर महानगरको चुनावले यतिखेर केन्द्रको ध्यान तानिरहेको छ’, ऋषिदेव थप्छन्’, ‘दलित बस्ती चुनावी पोस्टर, पम्प्लेट, तुल ब्यानर र झन्डाहरूले रङ्गीचङ्गी बनेको छ । तर हामी गरिबको जीवन भने सदै अँध्यारो छ ।’

विराटनगर महानगर– १२ स्थित बखरीमा १ सय ५० घर ऋषिदेव र करिब ३५ घर चमार जातिको रहेको छ । पछिल्लो साढे चार वर्षदेखि मुख देखाउनसमेत नआएका जनप्रतिनिधि र विभिन्न दलका नेताहरू अहिले राति सुतेको बेला पनि भोटका लागि दलितको घर बस्ती चहार्ने गरेको सुष्मा ऋषिदेव बताउँछिन् ।

सुष्माका अनुसार बखरीमा रहेको दलित बस्तीमा सार्वजनिक र ऐलानी जग्गामा स–साना छाप्रो बनाएर बस्दै आएका विपन्न दलितहरूलाई दैनिक ज्याला मजदुरी नगरे मुखमा माड लाग्दैन ।

कामका लागि निक्लनुअघि नै उनीहरूको बस्तीमा उम्मेदवारहरु आश्वासन बाँड्दै पुग्ने गरेका छन् । तर उनीहरूले वर्षौंदेखि भोग्दै आएको डुबान र सुकुम्वासीको समस्या अहिले पनि ज्यूँको त्यूँ रहेको उनले बताइन् ।

विराटनगर महानगरभित्र दलितहरुको बाक्लो बस्ती छ । पानीको स्रोतका रूपमा बस्तीमा केही चापाकल छन् । खुला चउर नै अधिकांशको शौचालय हो । उचित शिक्षा, स्वास्थ्य उपचार र रोजगारीबाट बञ्चित उनीहरू बिहानको छाकपछि बेलुका के खाने भन्ने पिरलोमा बिताउनु परेको रामसुन्दरी कामतले बताइन् ।

कामतका अनुसार मुसहर बस्तीमा आउने नेताहरूले पैसा र मदिराको प्रलोभन पनि दिने गर्छन् । तर, वर्षौंदेखि ठगिएका विपन्न समुदायका दलितहरू यसपालि आश्वासनमा मात्र भोट नदिने अठोटमा भएको उनले बताइन् ।

विराटनगर महानगरपालिकाभित्र रहेका दलित बस्ती वर्षौंदेखि डुबानमा पर्दै आएको छ । र सुकुम्वासी भएर बस्नु पर्ने पीडा उनीहरूको सदियौँदेखिको हो । योसँगै दलित बस्तीमा अधिकांश युवा नागरिकता नहुँदा मुलुकभित्रै अनागरिक भएर बाँच्नु परेको छ ।

विराटनगर महानगरपालिकाको कुल एक लाख ३३ हजार १४२ जना मतदातामध्ये आर्थिक रूपमा शोषित, सामाजिक रूपमा बहिष्कृत र शैक्षिकरुपमा पछि पारिएका १८ प्रतिशतभन्दा बढी दलित मतदाताको संख्या छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर