घरदैलोका क्रममा माओवादीका उम्मेदवारहरू बेहाेस, स्थानीयले खुवाएको मिठाइमा विष ! – Nepal Press

घरदैलोका क्रममा माओवादीका उम्मेदवारहरू बेहाेस, स्थानीयले खुवाएको मिठाइमा विष !

सर्लाही । घरदैलोका क्रममा स्थानीयवासीले दिएको मिठाइ खाएपछि जिल्लाको हरिवन नगरपालिकामा माओवादीका ७ उम्मेदवार बिरामी परेका छन् । षडयन्त्रपूर्वक मिठाइमा विष राखिएको माओवादीको दाबी छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार माओवादीका उम्मेदवारहरू आज दिउँसो हरिवन बजार नजिकको मुस्लिम टोलमा घरदैलोमा हिँडेका थिए । हरिवनमा माओवादीका मेयर उम्मेदवार कमल बुढाथोकी र वडा नं. ११ का उम्मेदवार शेख इस्तेखारसहितको टोलीलाई केही स्थानीयले मिठाइ तथा कोल्ड ड्रिङ्सले स्वागत गरे । मेयर उम्मेदवार बुढाथोकीले भने स्वास्थ्यको कारण देखाउँदै मिठाइ खाएनन् र अलि चाँडै त्यहाँबाट हिँडे ।

उक्त घरदैलोमा सहभागी माओवादीका नगर कमिटी सचिव गौरी महतोका अनुसार एक स्थानीयले दिएको मिठाइ खाएको पाँच मिनेटपछि वडाध्यक्षका उम्मेदवार शेख इस्तेखार बेहोस भएर ढलेका थिए । मिठाइ खुवाउने ती स्थानीय एमाले समर्थक भएको उनको दाबी छ ।

इस्तेखारसँगै अन्य उम्मेदवारहरू पनि छटपटाउन थालेपछि सबैलाई हरिवनकै स्वाभिमान अस्पतालमा लगिएको थियो । बिरामी भएका ७ जनामध्ये ५ जनाको प्राथमिक उपचारपछि अवस्थामा सुधार भयो । तर, वडाध्यक्ष इस्तेखारसहित दुई जनाको अवस्था गम्भीर देखियो । स्वाभिमान अस्पतालले उनीहरूलाई त्यहाँ उपचार हुन नसक्ने बताएपछि वीरगन्ज लगिएको छ । स्वाभिमानका सञ्चालक माओवादी सचिव महतो नै हुन् ।

उक्त घटनापछि माओवादी कार्यकर्ता आन्दोलित बनेका थिए । उनीहरूले हरिवनको सडकमा चक्काजाम गर्दै केही बेर नाराबाजी गरे । माओवादी कार्यकर्ताले एमालेले आफ्ना उम्मेदवारलाई मार्ने षडयन्त्र गरेको आरोप लगाएको छ । एमालेका मेयर उम्मेदवार (हालका पनि मेयर) गणेश प्रसाईँ र ११ नम्बर वडाका साबिक वडाध्यक्ष शेख मेहबुब रेजाको योजनामा यो काम भएको माओवादीको दाबी छ ।

‘माओवादीको पक्षमा माहोल बन्दै गएपछि एमालेले हाम्रा उम्मेदवारलाई भौतिक रूपमै सिद्ध्याउने रणनीति बनाएको हो,’ महतोले भने, ‘मेयर उम्मेदवार बुढाथोकीलाई नै टार्गेट गरिएको भए पनि उहाँ संयोगले बच्नुभयो ।’

माओवादीको प्रदर्शनका क्रममा मेयर उम्मेदवार कमल बुढाथोकीले पनि भाषण गरेका थिए । भाषण लगत्तै उनी पनि बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ । बुढाथोकी भने गर्मीका कारण बेहोस भएका हुन् ।

इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर मुकेश ताम्राकारले घरदैलोका क्रममा माओवादीका केही उम्मेदवार बिरामी भएको रिपोर्ट आएको बताए । तर, के कारण हो भने अस्पतालले औपचारिक जानकारी नगराइसकेको उनको भनाइ छ ।

‘हामीलाई आएको जानकारी अनुसार अस्पताल आउँदा दुई जना बेहोस हुनुहुन्थ्यो भने पाँच जना सामान्य बिरामी हुनुहुन्थ्यो,’ ताम्राकारले भने, ‘यस विषयमा हामी थप बुझिरहेका छौँ ।’

एमालेले यस घटनाका विषयमा प्रतिक्रिया दिएको छैन । एमालेका मेयर उम्मेदवार गणेश प्रसाईँ घरदैलोका क्रममा रहेकाले सम्पर्कमा आउन सकेनन् । उनी निकट स्रोतले चाहिँ एमालेको षडयन्त्रणमा घटना भएको आरोप खण्डन गरेको छ ।

‘हामीमाथि लगाइएको आरोप मिथ्या हो,’ एमाले स्रोतले भन्यो, ‘उनीहरूलाई कसले के खुवायो भन्ने हामी जिम्मा लिन सक्दैनौँ । गर्मीले बेहोस भएका पनि हुन सक्छन् ।’

सो घटनाको केहीअघि माओवादीका मेयर उम्मेदवार बुढाथोकी र तत्कालीन विप्लव माओवादीका दिवङ्गत नेता कुमार पौडेलका भाइ हरिराम पौडेलबीच लफडा भएको थियो । कुमारकी श्रीमती अहिले बाग्मती नगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवार छिन् । कुमारको परिवारले उनको हत्यामा माओवादीका बुढाथोकीको हात रहेको आरोप लगाउँदै आएको छ ।

आज माओवादीको घरदैलोअघि हरिवनमा भेटिएका हरिरामलाई माओवादी कार्यकर्ताले हातपात गरेका थिए । स्वयम् बुढाथोकीले पनि आफूमाथि हात छोडेको भन्दै हरिरामले फेसबुकमा पोस्ट गरेका छन् ।

सोही घटनालाई ढाकछोप गर्न माओवादीले विषको प्रपोगण्डा निकालेको एमालेका एक स्थानीय कार्यकर्ताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर