‘पाँच वर्षमै सुन्दर र समृद्ध धनगढी बनाउन मेरो उम्मेदवारी’ – Nepal Press

‘पाँच वर्षमै सुन्दर र समृद्ध धनगढी बनाउन मेरो उम्मेदवारी’

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा पनि चुनावी सरगर्मी तीव्र छ । यहाँ नगर प्रमुखमा नेकपा एमाले, गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

प्रमुख पदमा एमालेबाट रणबहादुर चन्द, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नृपबहादुर वड र स्वतन्त्रबाट गोपाल हमाल चुनावी मैदानमा छन् । उनीहरू तीनैजनाले आफ्नो जित सुनिश्चित भएको बताइरहेका छन् ।

२०४६ सालपछि मुलुकमा तीनपटक स्थानीय निर्वाचन भएको छ । त्यसमध्ये २०४९ सालमा धनगढीमा कांग्रेसले जितेको थियो । २०५४ मा एमालेले जितेको धनगढीमा २०७४ मा कांग्रेसले जित्यो ।

यसै परिवेशबीच धनगढी उपमहानगरपालिकामा एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार बनेका रणबहादुर चन्दसँग गरिएको कुराकानी नेपाल टकमा–

निर्वाचनको तयारी कस्तो छ ?

चुनावको प्रचार अभियान उत्साहजनक ढंगमा अगाडि बढिरहेको छ । आम मतदाताहरूले पनि हामीलाई निकै उत्साह दिइरहनु भएको छ ।

कस्ता योजना लिएर मतदातासमक्ष पुगिरहनु भएको छ ?

विशेषगरी धनगढी उपमहानगरपालिकालाई व्यवस्थित नगरपालिकाको रूपमा अगाडि बढाउने मेरो मुख्य लक्ष्य छ । यहाँ थुप्रै समस्याहरू छन् । क्रमिकरूपले सबै समस्याको हल गर्ने मेरो चाहना छ ।

धनगढी उपमहानगरपालिका भए पनि केही वडाहरू विकासका दृष्टिले धेरै पछाडि छन् । त्यसलाई कसरी मूलधारमा ल्याउने, त्यहाँ कसरी विकास पुर्याउने भन्ने मेरो चिन्ता र चासो छ ।

यसअघिको स्थानीय तह निर्वाचनमा पनि यस्तै एजण्ड थिए, सबै दलहरूको । तर, अझै पूरा भएको छैन । तपाईबाट पूरा हुन्छ भनेर कसरी विश्वास गर्ने ?

यसअघि यो स्थानीय तहमा हामीले जित्न सकेनौँ, त्यसैले धेरै काम राम्रो हुन सकेन । यहाँका नागरिकले मत दिएर जिताएका जनप्रतिनिधीहरुले किन त्यो एजेन्डा पूरा गर्न सकेनन्, त्यो उहाँहरूलाई नै प्रश्न गर्नुहोला । तपाईले भनेजस्तै हामीले यसपटक निर्वाचन जित्यौं भने अर्काे पटक यी एजेन्डाहरू उठाउनु पर्ने छैन । हामी सबै पूरा गर्नेछौं । पाँच वर्षमै सुन्दर र समृद्ध धनगढी बनाउने छौँ ।

यहाँका सडक साँघुरा छन् । धनगढीको वरिपरि रिङ रोडसँगै बीचमा लिंक रोड बनाएर हामी व्यवस्थापन गर्ने योजनामा छौं । मेघासिटी बनाएर महानगरपालिका बनाउनु पर्छ भन्ने ढंगले हामी अगाडि बढेका छौँ ।

घोषणापत्र तयार गर्ने तर कार्यान्वयन नगर्ने चलन छ । तपाईंले पनि त्यहीं त गर्ने होला !

हामी त्यस्तो गर्दैनौं । जे भनेका छौं, हामी त्यो पूरा गर्छाैं । हामीले सोच विचार गरेर, धेरै अध्ययन गरेर घोषणापत्र तयार गरेका हौं । हामीले उल्लेख गरेका सबै क्षेत्रका बुँदाहरूलाई कार्यान्वयन गर्छौं ।

धनगढीलाई व्यवस्थित गर्नको लागि हामीले शिक्षा, स्वास्थ्य् र पर्यटनमा लगानी बढाउँछौं । ती सबै क्षेत्रको हब बनाउने गरी हामी अगाडि बढ्छौं । यसलाई व्यापारिक केन्द्रको रूपमा पनि अगाडि बढाउन सकिन्छ ।

कृषि उत्पादन क्षेत्रको रूपमा पनि हामीले यसलाई अगाडि बढाउन सकिन्छ । बजारीकरण गर्ने र किसानलाई उचित मूल्य दिने गरी हामी संयन्त्र तयार गर्छौं ।

अघिल्लो स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा यहाँ एमालेको अवस्था कमजोर नै देखिन्छ । त्यसैमाथि यहाँ तीन दलीय गठबन्धन भएको छ । यस्तो अवस्थामा निर्वाचन जित्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ?

तपाईंले भनेको जस्तो अवस्था छैन । आम मतदाताहरूको कुरा पनि बुझ्न सक्नुहुन्छ । अधिकांशले अहिले धनगढी उपमहानगरपालिकामा रहेको सरकारको परिवर्तन चाहिरहेका छन् । यो सरकारले जनताको अपेक्षा पूरा गर्न सकेन । नागरिक अहिले विकल्प खोजिरहेका छन्, त्यो भनेको एमाले नै हो ।

स्थानीय तह निर्वाचनमा आम मतदाताहरूले पार्टीसँगै व्यक्तिको पनि मूल्यांकन गर्ने भएको हुँदा म निर्वाचित हुन्छु भन्ने कुरामा म ढुक्क छु । हाम्रो पार्टीले अहिले धनगढी उपमहानगरपालिकामा समावेशी उम्मेदवारी दिएको छ । यो कारणले पनि हामी जित्नेमा ढुक्क छौं ।

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमाल पनि त बलियो अवस्थामा रहेको कुरालाई त नकार्न सकिन्नँ नि ?

स्वतन्त्र उम्मेदवारको त्यस्तो धेरै माहोल छैन । पहिले पार्टीले उम्मेदवारी नदिएको अवस्थामा एक प्रकारको चर्चा चलेको थियो । अहिले त त्यस्तो चर्चा विस्तारै कम भइरहेको छ । उहाँहरू प्रतिस्पर्धामा आउनु हुन्छ जस्तो पनि मलाई लाग्दैन ।

कहिले उहाँ पार्टीमा हुनुहुन्छ, कहिले स्वतन्त्र भन्नुहुन्छ । उहाँहरूको अडान पनि छैन । कुनै दृष्टिकोण पनि छैन ।

तपाईंको चुनाव जित्ने खास आधार के हुन् त ?

पहिलो कुरा त हाम्रो भिजन नै चुनाव जित्ने मुख्य आधार हो । यहाँका मतदाताहरूले पनि यस्तै भिजन भएका र गर्न सक्ने जनप्रतिनिधि खोजिरहनु भएको छ ।

हामीले सबैभन्दा पहिले धनगढीलाई व्यवस्थित बजार बनाउनु पर्छ । त्यसपछि सुशासनको कुरा छ । यहाँका जनताका आधारभूत आवश्यकता पूरा गर्न हामी प्रतिबद्ध छौं । यी सबै कारण नै हाम्रो जितको आधार हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर