बालबालिकासहित गाउँतिर अभिभावक, चुनावले नयाँ भर्ना प्रभावित – Nepal Press

बालबालिकासहित गाउँतिर अभिभावक, चुनावले नयाँ भर्ना प्रभावित

काठमाडौं । नयाँ शैक्षिक सत्रको लागि वैशाख २ गतेदेखि नयाँ भर्ना अभियान सुरु भए पनि विद्यार्थी भर्ना भएका छैनन् । स्थानीय तह निर्वाचनका लागि कतिपय अभिभावकहरु बालबच्चासहित गाउँ गएका कारण विद्यार्थी भर्ना प्रभावित भएको हो ।

अहिले शिक्षक र कर्मचारीसँगै सर्वसाधरण स्थानीय तह निर्वाचनमा केन्द्रित भएका छन् । के सहर के गाउँ सबै ठाउँमा चुनावी चहलपहल छ । कतिपय स्थानमा विद्यार्थीसमेत राजनीतिक दलकाे घरदैलो अभियानमा लागेकाे देखिन्छ ।

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विद्यालय, खाली स्वास्थ्य चौकीलगायतमा २१ हजार ९ सय ९५ मतदान केन्द्र तोकेको छ । मतदान केन्द्र तोकिएका विद्यालयमा भर्ना अभियान प्रभावित भएको शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

सरकारले जेठ १ बाट पठनपाठन थाल्न भने पनि काठमाडौं तथा अन्य ठूला सहरहरुमा रहेका विद्यार्थीहरू अभिभावकसँगै गाउँ गएका कारण भर्नामा समेत समस्या भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनले जनाएको छ । प्याब्सनका केन्द्रीय अध्यक्ष डीके ढुंगानाका अनुसार अहिले अधिकांश विद्यार्थी गाउँमा छन् । ‘चुनावका कारण अभिभावकले छोराछोरी लिएर गाउँ गएको पाइएको छ । भर्ना भएका छैनन्’, उनले भने ।

चुनावले भर्ना अभियानमा असर पुगे पनि विद्यार्थीको भर्ना जेठको पहिलो हप्तासम्म लिइने उनको भनाइ छ । कति प्रतिशत बालबालिका भर्ना भए भन्ने यकिन तथ्यांक भने जेठ १५ सम्ममा आइपुग्ने उनले बताए ।

कोभिड १९ का कारण शैक्षिकसत्र प्रभावित हुँदै आएकाे छ । कोभिडकाे समय केही विद्यालयले अघि र केहीले पछि पठनपाठन सञ्चालन गरेका थिए । यसले पनि भर्ना अभियान र शैक्षिक सत्रको सुरुवात सबै विद्यालयमा एकै समय नभएको अध्यक्ष ढुंगानाले बताए ।

अहिले सबैतिर चुनावी माहाेल भएकाले कुन जिल्लामा कति विद्यार्थी भर्ना भए भन्ने एकिन तथ्याङ्क नभएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता डिल्ली लुइँटेलको भनाइ छ । उनका अनुसार भर्ना अभियान जारी रहेको र मतदाना केन्द्र तोकिएका विद्यालयमा मात्र भर्नामा प्रभाव परेको छ ।

स्कुलबाहिर रहेका सबै बालबालिकालाई भर्ना गर्न भनी सबै विद्यालय र सम्बन्धित निकायलाई निर्देशन दिइसकेकाे र अहिले भर्ना पनि चलिरहेको उनले जानकारी दिए । मतदान केन्द्र तोकिएको ठाउँमा भने जेठ पहिलो हप्तासम्म भर्ना हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *