‘गठबन्धनको साथ छ, सहजै चुनाव जितिन्छ’ – Nepal Press
नेपाल टकमा बुटवल मेयरका गठबन्धन उम्मेदवार

‘गठबन्धनको साथ छ, सहजै चुनाव जितिन्छ’

रुपन्देही । बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डे चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका बुटवल नगर सभापतिसमेत रहेका उनलाई नेपाली कांग्रेससहितका सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन प्राप्त छ ।

२०२६ साल फागुनमा स्याङ्जाको कालीगण्डकी २ मा जन्मिएका पाण्डे पछिल्लो तीन दशकदेखि बुटवलमा सक्रिय राजनीतिमा संलग्न छन् । २०३९ सालमा स्याङ्जाकै आदर्श मावि स्याङ्जामा नेपाल विद्यार्थी संघको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो । रुपन्देहीमा २०५२ सालमा नेविसंघको सचिव, २०५९ सालमा तरुण दल रुपन्देहीको अध्यक्ष हुँदै २०६० सालमा तरुण केन्द्रीय सदस्य भएका पाण्डे २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति निर्वाचित भएका थिए । गत मंसिरमा सम्पन्न कांग्रेसको महाधिवेशनबाट उनी पुनः कांग्रेस बुटवल नगर सभापतिमा निर्वाचित भएका थिए । उनी अहिले पार्टीको तेस्रोपटक नगर सभापति छन् ।

यसअघिको निर्वाचनमा माओवादीसहितको गठबन्धनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मतान्तरले पराजित भएका थिए । अहिले माओवादी, एमालेबाट विभाजित नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाको साथ पाएपछि उनी ढुक्कजस्तै छन् । उनै सत्ता गठबन्धनका मेयर उम्मेदवार  खेलराज पाण्डेसँग नेपालप्रेसकर्मी रामप्रसाद आचार्यले गरेको कुराकानी नेपाल टकमा ।

बुटवल उपमहानगरपालिकामा दोस्रो पटक प्रमुख पदमा लड्दै हुनुहुन्छ, कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

अहिले जनतासँग प्रत्यक्ष भेटघाट हुँदा उहाँहरुले ठीक मान्छेले टिकट पाउनुभयो, हामीले एक पटक तपाईलाई अवसर दिन्छौं, जिताउने छौं ढुक्क भएर लाग्नुस् भन्नुभएको छ । नगरको निर्वाचन जित्नुस् र हामीले चाहेको सफा, सुन्दर, हरियालीयुक्त र समृद्ध बुटवल बनाउनुस् भनेर आशीर्वाद र शुभकामना दिइरहनु भएको छ ।

सबैको माया पाएको छु । तपाईंलाई एकपटक मौका दियौं भने राम्रो काम गर्नुहुनेछ भन्ने विश्वास छ भनेर जीतको शुभकामना दिइरहनु भएको छ । यसअघि पटक–पटक विश्वास गरेका दलहरुले निराश बनाएको, ठूल्ठूला सपना देखाएर केही पनि काम नगरेकोमा एकखालको निराशा पनि देखिन्छ । जनताले चुनावमा भोट हालेर जिते पनि मन जित्न नसकेको नगरबासीको अनुभूति मैले सुन्न पाएको छु ।

म फरक दलको भएका कारणले यसो भनिरहेको छैन । बुटवलका अधिकांश बासिन्दालाई सोध्नुभयो भने उहाँहरु हालका जनप्रतिनिधि र उहाँहरुको पार्टीप्रति असन्तुष्ट भएको पाउनुहुन्छ । त्यसका अनेक कारण छन् । यहाँ एकदमै ठूला सपना बाँडिए । संघीय सरकारले गर्ने काम राम्रो भए जस लिने, नराम्रो भए पन्छिने गरेको पनि पाइयो । यो यहाँका जनताले बुझेका छन् । जनप्रतिनिधि भएपछि बुटवलका हरेक समस्याको समाधानको खोजी त्यहाँको प्रमुखको कुर्सीमा बसेर खोजिनुपर्छ । आफूले समाधान गर्न नसकिने अवस्था वा क्षेत्र हो भने पनि त्यसका लागि प्रयत्न गरिनुपर्छ । यस्तो भावना ममा पनि आउँथ्यो । जनतामा पनि यस्ता भावनाहरु छन् । जनताले आफूलाई पाठ पढाउने जनप्रतिनिधि हैन, आफ्ना गुनासो सुन्ने र समाधान खोजिदिने जनप्रतिनिधि खोज्नुभएको छ । जनताको यो माया र सद्भावप्रति म आभारी छु । त्यो माया र सद्भाव भोटका रुपमा व्यक्त हुन्छ भन्ने विश्वासमा छु ।

तपाईंका एजेण्डा के के हुन् ?

सबै यही कुराकानीमा भनेर त सक्दिनँ । कतिपय कार्यक्रमहरु विस्तृतमा उल्लेख गर्नुपर्ने हुन्छ । बुँदागत म केही मुख्य योजनाहरु भन्न चाहन्छु । म बुटवललाई देशकै समृद्ध आर्थिक केन्द्रका रुपमा विकास गर्न चाहन्छु । यहाँका नदी किनारका बासिन्दाले सुरक्षित रुपमा आफ्नै जग्गाजमिनमा बस्न पाउने अधिकार दिलाउनु मेरो मूल कर्तव्य हो । यो नागरिकको मौलिक हक हो ।

यहाँको सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासलाई समाधान गर्नेछु । त्यो पनि बुटवलभित्र नै व्यवस्थापन गरेर समाधान गरिनेछ । ज्योतिनगर पहिरोका कारण के कस्तो क्षति भयो भन्ने यहाँलाई जानकारी नै छ । त्यहाँ जनप्रतिनिधिका रुपमा के गरिनुपथ्र्यो र त्यसो नगर्दाको परिणाम के भयो भन्ने पनि जनताले नै देखाइदिएका छन् । मोतीपुर औद्योगिक क्षेत्रको समस्या पनि उस्तै छ । त्यहाँ पनि यो मेरो गढ हो भन्ने जनप्रतिनिधिलाई जनताले नै कसरी लखेटे, त्यो पनि बुझ्नुभएकै छ होला ।

यसर्थ यी समस्याको समाधान जनतालाई चिढाएर, रुष्ट बनाएर, त्यहाँबाट धपाएर गर्ने हैन । उनीहरुलाई सुरक्षित अनुभूति हुने गरी र अपनत्व महसुस हुने गरी समाधान गरिनुपर्छ । त्यसका लागि म चरणबद्ध योजना कार्यान्वयनमा ल्याउनेछु । स्थानीय बासिन्दाको मन दुख्ने काम मैले कहिल्यै पनि गर्नेछैन । तिनाउ दानव करिडोरका बासिन्दा अहिले पीडामा छन् ।

त्यहाँ कोही पनि बसोबास गर्दैन भनेर बुटवल उपमहानगरपालिकाले नै भनिरहेको अवस्था छ । तर त्यहाँ ठूलो बस्ती छ । त्यो बस्तीका बासिन्दाको मर्मअनुसार समाधान खोजिनुपर्छ । म त्यो समस्या समाधानमा प्रतिबद्ध छु । विगत लामो समय भयो, बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क चिडिया खोलासम्मको सडकको दुरावस्था, धूलोले बुटवलवासीको स्वास्थ्यमा गम्भीर असर परेको छ । सडक छेउको व्यापार व्यवसाय चौपट छ । कैयौं व्यवसायीहरु विस्थापित भएका छन् ।

चुनावको मुखमा आएर काम देखाउन भित्री सडकहरु भत्काएर अलपत्र पारिएका छन् । जनताका समस्या के हुन् भन्नेमा ध्यानै दिइएकोे छैन । सडकका आयोजनाहरु समयमै निर्माण सम्पन्न गर्न ठोस र प्रभावकारी कदम चाल्ने छु । ढल निकास र खानेपानी समस्याको समाधान गर्न प्रभावकारी काम गर्नेछु । बुटवलमा खानेपानीको समस्या पहाडका भीरमा भन्दा बढी देख्छु । शुद्ध पिउने पानीका लागि ठाउँठाउँमा भाँडा लिएर लाइन लाग्नुपर्छ । धारामा कहिले पानी आउँछ, कहिले आउँदैन । अलिअलि वर्षा भयो कि धमिलो पानी आउँछ ।

शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा महत्वपूर्ण योजना बनाएका छौं । अर्को महत्वपूर्ण कुरा, बुटवललाई हेरेर मानिसहरुमा संघीयताप्रति नै अविश्वास जगाउने काम भएको छ । बुटवल खराब कामको मानक बनेको छ । यहाँका जनप्रतिनिधिले गरेका बेथिति देखेर जनतामा जनप्रतिनिधिप्रति चरम असन्तुष्टि देखिन्छ । उपमहान भ्रष्टाचारमा डुबेको छ । जनताले तिरेको करको सदुपयोग भएको छैन । जनप्रतिनिधिले आफ्नो कमाइखाने भाँडो बनाएका छन् भन्ने जनगुनासो छ । सेवा प्रवाहमा उस्तै समस्या छ ।

महालेखापरीक्षकको कार्यालयका रिपोर्ट हेर्नुस्, बुटवलका बेथिति कति छन् । कसरी जनताको कर लुटेर खाएका छन् भन्ने प्रस्ट हुन्छ । म यी सबै बेथितिहरु रोक्न चाहन्छु ।

जनताले रगतपसिना बगाएर तिरेको करको सदुपयोग गर्न चाहन्छु । त्यो करबाट लाभ लिने पहिलो हकदार जनता हुन् । त्यसको प्रत्याभूति दिलाउन चाहन्छु ।

बुटवलवासीलाई सबैभन्दा पहिले के चाहिएको हो ? त्यो कुराको पहिचान गरेर काम गर्नुपर्ने हो कि होइन ? तर, यहाँ प्रचारमा आउन जे पनि, जस्ता पनि कार्यक्रम ल्याएर बजेट सक्ने काम भएको छ । हामी प्रचारमुखी कुनै पनि काम गर्दैनौं । भ्यूटावर बनाउनेजस्ता अनुत्पादक काममा हाम्रो ध्यान जानेछैन । आवश्यकताका आधारमा प्राथमिकता तय गरेर कार्यक्रमहरु ल्याइनेछन् ।

यस्ता अरु धेरै कार्यक्रम र योजनाहरु लिएका छौं । हामी पाँचदलीय गठबन्धनबाट चुनाबी मैदानमा छौं । गठबन्धनका एजेण्डाहरु पनि मैले साझा रुपमा अघि बढाउनेछु । हाम्रो पार्टीको बुटवलको घोषणापत्र, राष्ट्रिय एजेण्डाहरु र कार्यक्रमहरु छन् । तिनलाई पनि म समावेश गरेर सबै दलहरुलाई अपनत्व हुने गरी सहभागी गराएर अघि बढ्नेछु । यो मेरो प्रतिबद्धता हो ।

के साँच्चै कार्यान्वयन होला त गठबन्धन ?

यो गठबन्धन राष्ट्र जोगाउन, संविधानको रक्षा गर्न, मुलुकलाई अस्थिरता र अराजनीतितर्फ धकेलिनबाट जोगाउन निर्माण भएको हो । जतिबेला नेकपा विघटन र एमाले विभाजन भयो, त्यसले उत्पन्न गराएको परिस्थितिले मुलुक नै संकटग्रस्त अवस्थामा पुग्न थालेको थियो । यदि नेपाली कांग्रेसले त्यसको अगुवाइ नगरेको भए र पाँच दल एकैठाउँमा नआएको भए हाम्रो संविधान अहिलेको अवस्थामा रहँदैनथ्यो ।

जनताको बलिदानीले प्राप्त गरेको यो उपलब्धि गुम्ने खतरा थियो । जनतामाझ यसबारे भ्रम फिजाउन खोजिएको छ । एमालेले जनतालाई आफ्ना कमजोरी लुकाएर गठबन्धनको खेदो खनेको छ किनभने अहिले एमालेसँग अरु कुनै एजेण्डा छैन । देशलाई अस्थिर बनाउने र अराजनीतिक बाटोमा लैजाने उसको योजना असफल भएको छ । यो कुरा लुकाउन ऊ गठबन्धनविरोधी नारा लिएर जनतामाझ गएको छ ।

कांग्रेस सत्तामा आउन चाहिरहेकै थिएन । ५ वर्षको कार्यकाल पूरा होस् भन्ने नै थियो । हामी जनताको मतलाई सम्मान गर्छौं । हामी अराजनीतिक गतिविधिलाई कहिल्यै पनि प्राथमिकता दिँदैनौं । तर, मुलुकको अवस्था संकटतर्फ जान थालेपछि मुलुकलाई बचाउन कांग्रेस काँध थाप्न आएको हो । त्यसमा अरु चार दल सहभागी भए । मुलुक अस्थिरतातर्फ जानबाट बच्यो ।

एमालेले अनेक तर्क गरे पनि वास्तविकता यही हो । यो परिस्थितिमा बनेको गठबन्धन संविधानको रक्षा, लोकतन्त्रको रक्षा, जनताका अधिकारको रक्षा, प्रेस स्वतन्त्रता, स्वाभीमानसहितको राष्ट्रियताको रक्षा गर्न निरन्तर लागिरहेको छ । जुन शक्तिले मुलुक र संविधानलाई नै ध्वस्त पार्ने षड्यन्त्र गर्‍यो, त्यसलाई पराजित गर्नुपर्छ र त्यस्तो शक्तिलाई मुलुकमा उदय हुन दिनुहुँदैन भन्ने उद्देश्यका साथ हामी चुनावमा पनि सँगसँगै अघि बढेका छौं ।

यो गठबन्धनका दलहरुबाट केही साथीहरुले उम्मेदवारी दिए पनि मलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गर्नुभएको छ । यसले हामीहरुलाई, यो गठबन्धनलाई अरु धेरै बलियो बनाएको छ । हामीबीच आपसी सम्बन्ध र सद्भाव बढेको छ । कुनै पनि समस्या छैन । सबै दलका साथीहरुले हामीले निर्वाचन जित्छौं, जित्नुपर्छ र हाम्रो जीत सुनिश्चित छ भन्ने कुरा गर्नुभएको छ । हामी फराकिलो अन्तरले बुटवलमा चुनाव जित्छौं । बुटवलवासीलाई साँच्चिकै जनप्रतिनिधि आएको अनुभूति दिलाउने छौं । सुरुसुरुमा बुझाईमा केही समस्याहरु थिए । ती सबै समाधान भएका छन् ।

चुनाव सहजै जित्छौं भन्नुभयो । त्यसका आधारहरु के के हुन् ?

मैले २०७४ सालको चुनाव पनि लडेँ । मेरो २ हजार ३०० जति भोट कम भयो । त्यो चुनावदेखि यो चुनावसम्म मैले जनताका समस्या समाधान गर्न निरन्तर लडिरहेको छु । जतिले मलाई भोट दिनुभएन उहाँहरु वास्तवमै पछुताउनुभएको मैले पाएँ । हामीले गलत व्यक्तिलाई जिताएछौं भन्ने अनुभव बुटवलवासीले गरेको मैले पाएको छु । अघिल्लो चुनावमा भ्रममा परिएछ भन्नेहरु अहिले मलाई नै जिताउन खटिनुभएको छ किनभने जति काम जितेका मान्छेले गर्न सकेनन्, मैले नजितेरै पनि गरेँ । मैले जितेको भए त्यसको कैयौं गुणा धेरै काम गर्न सक्थे भन्ने कुरा जनताले बुझ्नुभएको छ ।

अर्को कुरा, बुटवल नयाँ सहर होइन । यहाँका बासिन्दाको आफ्नै खालको अपनत्व छ । पुराना बासिन्दाको लगाव फरक खालको छ । नयाँ बासिन्दाको फरक खालको लगाव छ । ती दुवै खालका बासिन्दाको मन जित्न सक्नुपर्छ । उहाँहरुको भावनाको सम्मान गरेर काम गर्न सक्नुपर्छ । यो काम म गर्न सक्छु । बुटवलमा हाम्रो पार्टी अहिले एकजुट छ । कुनै समस्या छैन । संगठन बलियो छ । प्रत्येक टोलका समितिहरु सक्रिय छन् । एकजुट छन् ।

अहिले थपिएका नयाँ मतदाता २३ हजार जति छन् । यी मतदातामा धेरै युवा हुन् । केही नामावली सारेर आएकाहरु छन् । युवा मतदाताको मत मलाई आउँछ । म युवाको भावना बुझ्छु । युवाका आवश्यकता बुझ्छु । युवा पिढीलाई प्राथमिकतामा राखेर योजना र कार्यक्रमहरु ल्याउँछौं । युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्न म रोजगारका कार्यक्रमहरु ल्याउँछु । यसकारण पनि युवाको पहिलो रोजाइमा म पर्छु । नामावली सारेर आउनेहरु गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, कपिलवस्तु, नवलपरासी, पर्वत, बाग्लुङ, प्यूठानलगायतका जिल्लाबाट आएका छन् । यी जिल्लाका साथीहरुसँग मेरो राम्रो नेटवर्क छ ।

म बुटवल उपमहानगरपालिकामा कुनै पेशा व्यवसाय गरेर रिटायर्ड हुने बेलामा थकाई मार्न जाँदैछैन । म जोश, जाँगर लिएर बुटवललाई परिवर्तन गर्छु, यहाँका बासिन्दाको निराशा हटाएर उत्साह भर्छु, नयाँ आशा जगाउँछु भन्ने दृढ अठोटका साथ उम्मेदवार बनेको हुँ । यहाँका पाको पुस्ताको फरक खालको अवस्था छ । उहाँहरुमा पहाडको झल्को आउँछ । गाउँको निरश मेटिन्छ । उहाँहरुलाई आफ्नो पुख्र्यौली थलोको साइनो मेट्ने वातावरण चाहिएको छ । त्यो वातावरण म बनाउन सक्छु । मसँग त्यस्ता योजना छन् । तपाईंले देख्नुभएकै होला, बुटवलमा बितेका ५ वर्षमा भएका कति कार्यक्रममा अरु दलहरु सहभागी भए । अरु दलका कुरा कति सुन्ने वातावरण थियो ? कस्तो व्यवहार थियो अरु दलहरुलाई ? त्यसमा पूर्ण रुपमा परिवर्तन ल्याउनेछु । सबै दल, सबै समुदाय, सबै उमेर, सबै भेग, सबैखालका मान्छेले बुटवललाई आफ्नो ठान्ने वातावरण बनाउनेछु ।

यसअघिको निर्वाचनमा भोट दिने सबै भोट मलाई आउनेछन् । यसअघि भोट नदिएका ६० प्रतिशत बुटवलवासीले मलाई भोट दिनेछन् । एमालेले जनमुक्ति पार्टीसँग तालमेल गरेको भनेको छ । तर, त्यो नाममात्रैको तालमेल हो । त्यहाँका करिब ७५ प्रतिशत मत हामीलाई आउँछन् । अर्को बलियो आधार, हाम्रो गठबन्धन हो । गठबन्धन दलहरुबीच अहिले एकदमै सौहार्दपूर्ण वातावरण छ । एकजुट भएर अघि बढेका छौं । यस आधारमा गठबन्धनको जीत सुनिश्चित छ ।

सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको मुद्दा बुटवलमा चुनावी नारामात्रै बनेको छ । तपाईं पनि नारामात्रै बोकेर हिँड्दै त होइन ?

सुकुम्बासी समस्याको समाधानबारेमा कुरा गर्दा यसका अल्पकालीन र दीर्घकालीन उपायहरु छन् । अल्पकालीन उपायमा दर्ता प्रक्रिया सुरु गरेर उपमहानगरपालिकाभित्र एउटा मापदण्डमा ल्याउन सक्छौं । यसको नामसारीको प्रक्रिया वडाहरुमार्फत लैजान सक्छौं । यतिमात्रै गर्न सक्यौं भने धेरै समस्या यसबाट समाधान हुन्छ । यसअघि देखिएका विकृतिहरु हटेर जान्छन् ।

दीर्घकालीन समाधान भनेको लालपुर्जा प्रदान गर्ने हो । त्यो नै हाम्रो मुख्य उद्देश्य हो । भूमिसम्बन्धी कार्यालय गठन भएका छन्, त्यसमार्फत कामको टुंगो लगाउँछौं । हामी लालपुर्जाका नाममा ललिपप देखाउँदैनौं । एमालेले जस्तो भोटका लागि समाधान गर्छु भन्दैनौं । लालपुर्जा भनेर निस्सा वितरण गर्दैनौं । यसको समाधान गर्न सक्ने आधार तयार गरेर भनिरहेको छु ।

एमालेले बुटवल आफ्नो गढ भनेको छ र जितिरहेको पनि छ । तपाईं पनि जित्छु भनिरहनुभएको छ, कसरी सम्भव छ ?

कसैले गढ भन्दैमा त्यो सत्य नै हुन्छ भन्ने छैन । मैले अघिल्लो चुनावमा २३०० जति भोट कम ल्याएकोे हुँ । अहिले ९० हजारभन्दा बढी मतदाता छन् । कसरी गढ भयो ? यो नागरिकमा भ्रम फिजाउन फैलाइएको हल्लामात्रै हो । बुटवलमा त्यसअघि कांग्रेसका सूर्यप्रसाद प्रधान दाइले चुनाव जित्नुभएकै थियो । हामीले हाम्रो गढ भनेर भ्रम त फिजाएनौं । संघीय सरकारको नेतृत्व गर्दैमा देश हाम्रो गढ भयो भन्दिने त ? यसपटक पाँचदलीय गठबन्धनका तर्फबाट म चुनाव जित्छु । म गढ भनेर भ्रम फिजाउन्न किनकि यो कुनै पार्टीको गढ हैन । बुटवलवासीको उपमहानगर हो । यसलाई बुटवलवासीको साझा सम्पत्ति नै रहन दिनुपर्छ, पार्टीको सम्पत्ति जस्तो गरिनुहुन्न ।

अर्को कुरा, बुटवल नगरका हरेक नागरिक सचेत हुनुहुन्छ । देशमा भएका हरेक ठूला आन्दोलनको नेतृत्व गर्ने नेपाली कांग्रेसले गरेका गतिविधिलाई एमालेसँग दाज्नै मिल्दैन । बुटवल र बुटवलवासीको लागि यसअघि नेतृत्वमा पुगेको एमाले र तिनका जनप्रतिनिधिले केही गरेनन् । त्यो कुरा जनताले स्पष्ट बुझ्नुभएको छ । विगतमा झूटा आश्वासन बाँडेर उनीहरुले जनतालाई झुक्याएका हुन् । अब यहाँका नगरवासी कोही पनि कसैले झुक्याउँदैमा झुक्किनु हुन्न भन्नेमा म विश्वस्त छु । हिजो हामीले निकै दुःख गरेर प्रदेशको अस्थायी राजधानी बुटवल ल्याएका थियौं ।

एमालेले बुटवलको राजधानी खोसेर दाङ पुर्‍यायो । त्यसमा एमालेका स्थानीयदेखि प्रदेश र केन्द्रमा नेतृत्व गर्नेहरुकै कारण राजधानी यहाँबाट दाङ पुर्‍याइएको हो । बुटवलबाट कुनै पनि हालतमा राजधानी सार्न दिन्नौं भनेर भन्ने एमालेका नगरदेखि केन्द्रीयस्तरसम्मका नेताहरु आज कहाँ गए ? बुटवलमा पाँच वर्षको अवधिमा कुनै एउटा बाटोघाटो बनेर सकिएको छैन । न खानेपानी समस्या समाधान भएको छ न त फोहर व्यवस्थापन गर्न सकेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, फोहरमैला व्यवस्थापन जस्ता आधारभूत काममा समेत सिन्को भाँच्न नसक्ने एमालेका नेताहरुले नगरको विकास गर्दैनन् भन्ने कुरा यहाँका जनताले बुझ्नुभएको छ ।

जनताले भोट दिएर पठाएका जनप्रतिनिधि साझा हुन सकेनन् । बुटवल उपमहानगरलाई एउटा दल विशेषको पार्टी कार्यालय बनाउने कुचेष्टा गरियो । विभिन्न समितिका नाममा आफ्ना कार्यकर्ताको भीड जम्मा गर्ने र भत्ताका नाममा जनताले तिरेको कर नजिकका मान्छे पोस्ने काममा खर्च भएको छ । सरकारी ढुकुटीमा चरम बेथिति र भ्रष्टाचार छ । अब त्यसलाई रोक्नुपर्छ । अब अति भयो, भ्रष्टाचारलाई शून्यमा झारेर नगरको विकास शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ जस्ता आधारभूत विकास गर्दै नगरलाई हराभरा, सुन्दर, सफा र समृद्ध नगर बनाउन यसपटक मलाई भोट दिएर जिताउनुस् र तपाईंहरुको सेवा गर्ने मौका दिनुस् । बुटवललाई सबैको साझा उपमहानगरपालिका हो भन्ने अनुभूति गराउने म प्रण गर्दछु ।

तपाईंले बुटवलमा मेरो केही छैन भन्नुभएको छ । नयाँ पिढीलाई के सन्देश दिनुहुन्छ ?

म ३५ वर्षदेखि बुटवलमा छु । अहिले पनि म भाडामै बसेको छु । जनताका घरदैलोमा पुगेको छु । म जस्तो अवस्थामा नगरमा पुग्नेछु, उही अवस्थामा बाहिरिने छु । नयाँ पिढीले यही त्यागको राजनीति सिक्नुहोला ।

अन्तमा, नगरवासी र मतदातालाई के भन्न चाहनुहुन्छ ?

म नगरका आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी सम्पूर्णमा विशेष अनुरोध र आग्रह गर्न चाहन्छु कि तपाईंले फेरि गल्ती नदोहोर्‍याउनुस् । यसपटक मलाई आफ्नो मत दिएर जिताउनुस् । म तपाईंकै सेवक हुँ र बाँकी जीवन पनि नगरवासीकै सेवक भएर बिताउने छु । बुटवल उपमहानगरलाई पश्चिम नेपालकै आर्थिक र समृद्ध नगरको रुपमा विकास गर्न निःस्वार्थ भएर लाग्नेछु ।


प्रतिक्रिया

One thought on “‘गठबन्धनको साथ छ, सहजै चुनाव जितिन्छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर