बाल सञ्जालका बालबालिकामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण प्रयास – Nepal Press

बाल सञ्जालका बालबालिकामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण प्रयास

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। ४ मा बाल सञ्जालका बालबालिकामाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण प्रयास गरेका छन् ।

वडा स्तरीय बाल सञ्जालले आयोजना गरेको जन्म दर्ता तथा विद्यालय भर्ना कार्यक्रम गर्ने क्रममा सिमानगरमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले उनीहरूमाथि आक्रमण प्रयास गरेका हुन् । त्यस क्रममा केही बालिकाहरूमाथि दुर्व्यवहार समेत गरेको पीडित बालिकाहरूले बताएका छन् ।

घटनामा पीडित एक बालिकाले आफूलाई लछारपछार गर्दै दुर्व्यवहार गरेको र कार्यक्रम बिथोलेको भन्दै प्रहरी चौकी ड्राइभर टोलमा कारबाहीको माग गर्दै निवेदन दिएकी छन् । बाल सञ्जालकी सदस्य रहेकी ती बालिकाले लक्ष्मण मल्ल र श्याम क्षेत्रीको नाममा किटानी जाहेरी दिँदै २५–३० जनाको समूहले आफूहरूमाथि आक्रमण प्रयास गरेको बताइन् ।

प्रहरी कार्यालयमा निवेदन लिएर गएकी उनले चेतनामूलक कार्यक्रम गर्दा आफूहरूलाई राजनीतिक रंग दिइएको भन्दै नेपाली कांग्रेस समर्थकहरूबाट आक्रमणको प्रयास, हातपातको प्रयास भएकाले आफूहरूले न्याय पाउनुपर्ने बताइन् ।

प्रहरी चौकी ड्राइभरका प्रहरी सहायक निरीक्षक कमल भण्डारीले पीडितले आफूमाथि हातपात र लछारपछार गरिएको भन्दै उजुरी आएको। र प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाले २५ गतेसम्म बाल सञ्जाललाई नियमित कार्यक्रम गर्न पाइने सूचना दिएपछि सञ्जालका बालबालिकाहरू सिमानगरमा कार्यक्रम गर्न पुगेका थिए ।

तर कार्यक्रम सकिँदै गर्दा निर्वाचन आचारसंहिता विपरीत राजनीति गरेको भन्दै आफूहरूमाथि लक्ष्मण मल्लसहितको टोलीले आक्रमणको प्रयास गर्नुका साथै हातपात गरेको वडा बाल सञ्जाल तिलोत्तमा ४ की अध्यक्ष आईस्मा खरेलले बताइन् ।

बाल सञ्जालले यसअघि पनि तिलोत्तमा ४ मा सिमानगरमा न्यायो कपडा वितरण, सचेतनामूलक कार्यक्रम गर्दै आएको थियो । नयाँ शैक्षिक सत्र सुरु हुन लागेको र त्यहाँका अधिकांश बालबालिका विद्यालय बाहिर रहेकाले भर्ना गराउन सचेतनामूलक कार्यक्रमका साथै जन्म दर्ता गर्न छुटेकाहरूलाई जन्म दर्ता गराउन भन्दै सिमानगरमा सञ्जालका बालबालिकाहरू सहजकर्ता लक्ष्मी ज्ञवाली, बालबालिका फोकल पर्सन मञ्जु थापासहित त्यहाँ पुगेका थिए ।

बाल सञ्जालका नगर सचिव सचेत बस्नेतले कार्यक्रममा आफूहरूलाई नबोलाएको, अरू कसैको निर्देशनमा कार्यक्रम गरेको भन्दै अपशब्द प्रयोग गरी गालीगलौजका साथै हातपातको प्रयास गरेको बताए । त्यस्तै सञ्जालका सदस्य सचिन क्षेत्रीले साइकलमा निस्कँदै गर्दा कुटपिट गर्ने धम्की उनीहरूले दिएको बताए ।

सहजकर्ता लक्ष्मी ज्ञवालीले मासिक एउटा अतिरिक्त कार्यक्रम बाल सञ्जालले गर्नुपर्ने भएकोले त्यही कार्यक्रमअनुसार विद्यालय भर्ना तथा जन्म दर्ता कार्यक्रमका लागि सिमानगरमा पुग्दा आफूहरूमाथि आक्रमणको प्रयास भएको बताइन् ।

त्यस्तै बाल फोकल पर्सन मञ्जु थापाले बालबालिकाको कार्यक्रमलाई राजनीतिक विषय बनाइएको भन्दै यो कार्यक्रम राजनीतिक नभई बालबालिकाहरूको भएको बताइन् । उनले १८ वर्ष नपुगेका बालबालिकाको कार्यक्रममा त्यसरी कांग्रेस कार्यकर्ताले धम्काउँदा मस्तिष्कमा नराम्रो असर परेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर