एमालेसँग प्रतिस्पर्धा गर्ने सामर्थ्य कुनै पार्टीको छैन- एमाले उपाध्यक्ष पौडेल – Nepal Press

एमालेसँग प्रतिस्पर्धा गर्ने सामर्थ्य कुनै पार्टीको छैन- एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलमा नेकपा एमालेका उम्मेदवारहरुको जित सुनिश्चित भइसकेको बताएका छन् ।

‘चुनाव जितिन्छ भन्ने कुरामा समस्या छैन, तर कुन ढंगले जित हुन्छ भन्ने मात्रै बाँकी हो’, उनले भने । ‘अब औसत ढंगले चुनाव जित्ने होइन, अत्यधिक र ऐतिहासिक रूपमा विरासतलाई नयाँ ढंगले पुष्टि गर्ने गरी चुनाव जित्नु पर्छ’–उनले भने ।

बुटवलमा शनिवार भएको गठबन्धनको सभालाई उनले एजेण्डाबिनाको सभाको कुनै अर्थ नरहेको आरोप लगाए । आमसभा कस्तो हुन्छ भन्ने हेर्न भोलि आइतबार आउन म निम्ता गर्दछु– पौडेलले भने ।

पूरा गठबन्धन एकातिर र एमाले अर्कोतिर लडाइँमा रहेता पनि गठबन्धनले एमालेलाई हराउन सक्ने कुनै आधार नरहेको उनको भनाइ थियो ।

राष्ट्रिय योजनाका काम सम्पन्न हुँदा बुटवल एक नमुना सहर बन्ने पौडेलले बताए । एमालेले अघि सारेका योजना सम्पन्न गर्न एमालेले नै जित्नुपर्ने बताउँदै पौडेलले नत्र विरोधीहरूले विकासे आयोजनामा पनि राजनीति गरेर अवरुद्ध गर्न सक्ने आशंका गरे ।

नेकपा एमाले बुद्धिजीवी तथा पेसागत निर्वाचन परिचालन कमिटीको भेलालाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य लिला गिरीले अहिलेसम्मको अनुमानमा प्रदेशका धेरै पालिकामा एमालेको जित निश्चित भएको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवार बाबुराम भट्टराई र सावित्रादेवी अर्यालले बोलेका थिए ।

बुटवलका बुद्धिजीवीहरूले एमालेलाई मत दिने

बुटवलका बुद्धिजीवीहरूले यहाँको विकास र सम्मृद्धिका लागि नेकपा एमालेका उम्मेदवारहरूलाई मत दिने प्रतिबद्धता जनाएका छन् । बुटवलमा सञ्चालित राष्ट्रिय र अन्तर्राष्ट्रिय महत् वका पूर्वाधारहरू एमालेकै नेतृत्वमा अघि बढिरहेकाले ती आयोजनाहरू सम्पन्न गर्नका लागि पनि उपमहानगरपालिकामा एमालेकै नेतृत्व जरुरी रहेको उनीहरूको निष्कर्ष छ ।

शनिवार बुटवलमा आयोजित बृहत् बुद्धिजीवी भेलाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, खुला मञ्च, सिद्धबाबा सुरुङ मार्ग, सिग्नेचर ब्रिज, बुटवल—भैरहवा—लुम्बिनी ६ लेन सडक, बुटवल—नारायणगढ तथा बुटवल—चन्द्रौटा ६ लेन सडक लगायतका ठूला पूर्वाधार निर्माणले बुटवललाई विकास र समृद्धिको नमुना सहरको रूपमा स्थापित गरिरहेको निष्कर्ष निकालेको हो ।

बुद्धिजीवी डा.आरसी आचार्यले विगत १० वर्षयता बुटवल र आसपासमा भइरहेका पूर्वाधार निर्माणले यसलाई मुलुककै नमुना सहरको रूपमा विकास गरिरहेको प्रतिक्रिया दिए । नेकपा एमालेकै नेतृत्वमा बुटवलको विकास भइरहेको कुरामा कुनै दुई मत नरहेकाले अहिले एमालेको विकल्प खोज्न नहुने निष्कर्ष रहेको उनले बताए ।

वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेलले नेकपा एमालेले निर्माण गरेका गौरवका संरचनालाई अरू पार्टीहरूले अस्पताल वा अन्य संरचनामा परिणत गर्ने घोषणा गरेर आम नागरिकलाई चिन्तित तुल्याएकाले निर्माण सम्पन्न भएका र निर्माणाधीन संरचनाहरूको सही सदुपयोगका लागि बुटवलमा एमालेको विकल्प खोज्न नहुने बताए ।

बुद्धिजीवी वसन्तराज खनालले बुटवलको शिक्षा र स्वास्थ्यको विकासका लागि नेकपा एमालेको योगदानलाई बुद्धिजीवीहरूले विर्सिन नहुने धारणा राखे ।

भेलामा बुटवल क्षेत्रमा कार्यरत १ हजारभन्दा बढी बुद्धिजीवीहरू सहभागी रहेको डाक्टर तलक भुसालले दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर