अर्घाखाँचीका सबै पालिकामा गठबन्धन भर्सेस एमाले, कसले मार्ला बाजी ? – Nepal Press

अर्घाखाँचीका सबै पालिकामा गठबन्धन भर्सेस एमाले, कसले मार्ला बाजी ?

रुपन्देही । तीन नगरपालिका र तीन गाउँपालिका रहेको अर्घाखाँचीमा अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनले मालारानी गाउँपालिकाबाहेक सबैमा जितेको थियो । अरु सबैमा कांग्रेस उम्मेदवारले जितेको भने मालारानीमा मात्रै जितेको थियो ।

अहिले पनि जिल्लाका अधिकांश स्थानीय तहमा सत्तागठबन्धनको जसपाबाहेकका चार दलबीच तालमेल छ । पालिका र वडाहरुमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीले भने कुनै पनि स्थानीय तहमा प्रमुख र उपप्रमुख पाएको छैन । उसले वडा तहमै चित्त बुझाएको छ ।

पाणिनि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसबाट क्रमशः अच्युत गौतम र लक्ष्मी गौतमको उम्मेदवारी छ । यहाँ एमालेबाट अध्यक्षमा टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा गौतम पौडेलले उम्मेदारी दिएका छन् । १ वडामा जनमोर्चाले अध्यक्ष पाएको छ भने नेकपा एस, माओवादी र जसपाले एकजना पनि उम्मेदार उठाएको छैन ।

छत्रदेव गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट चन्द्रमान श्रेष्ठ र उपाध्यक्षमा इन्दिरा भुसालको उम्मेदवारी छ । १ वडामा माओवादीले वडाध्यक्ष उठाएपनि नेकपा एसले उम्मेदवारी कुनै पदमा दिएको छैन ।

मालारानी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका पदम क्षेत्री र उपाध्यक्षमा कांग्रेसका शोभाखर खनालको उम्मेदवारी दर्ता भएको छ । ९ वटा वडा रहेको यो पालिकामा माओवादीले ४, कांग्रेसले २, नेकपा एसले २ र जनमोर्चाले १ वडाध्यक्ष पाएका छन् ।

सन्धिखर्क गठबन्धनबाट नेपाली कांग्रेसकी शान्ता भण्डारीलाई मेयरमा अघि सारेको छ भने उपप्रमुखमा माओवादी केन्द्रका राजेन्द्र भुसालले उम्मेदवारी दर्ता गरेका छन् । एमालेबाट कृष्णप्रसाद श्रेष्ठ मेयरमा र मिश्रा आचार्य उपमेयरमा उम्मेदार बनेका छन् ।

१२ वडा रहेको यो नगरपालिकामा कांग्रेसले ९ वटा वडामा अध्यक्षको उम्मेदवार खडा गरेको छ । माओवादीले २, नेकपा एसले २ र जनमोर्चाले १ वडामा उम्मेदवारी दिएका छन् । केही वडामा गठबन्धनभित्र कुरा मिल्न नसकेकाले अलग अलग उम्मेदवारी परेको हो ।

शीतगंगा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा छविलाल पौडेल तथा उपमेयरमा टिका रेश्मीले उम्मेदवारी दिएका छन् । एमालेबाट मेयरमा वसन्त श्रेष्ठ र उपमेयरमा गिता भाटले उम्मेदवारी दिएका छन् । १२ वडा रहेको यो पालिकामा कांग्रेसले ११ वटा वडामा अध्यक्ष उम्मेदवारी दिएको छ भने नेकपा एसले १ वडामा र माओवादीले २ वटामा उम्मेदवारी दिएको छ । केही वडा सहमतिबेगर उम्मेदारी परेको हो ।

भूमिकास्थान नगरपालिकामा गठबन्धनले राजमोका झविलाल थापालाई नगर प्रमुखको लागि उम्मेदवार बनाएको छ । यहाँ उपप्रमुखको लागि गठबन्धनबाट माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै विपक्षी दल एमालेबाट रेशम थापा उम्मेदवार छन् । उनी यसअघि गठबन्धनमा रहँदा माओवादीबाट मेयर बनेका थिए । पछि एमालेमा प्रवेश गरेका थिए । एमालेबाट उपमेयरमा वसन्ता पौडेलले उम्मेदारी दिएकी छन् । १० वटा वडामध्ये ६ वटामा कांग्रेस, २ वटामा माओवादी, नेकपा एसले १ वडामा उम्मेदारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर