पोखरेल र बडालको जिकिर- आईजीपी नियुक्ति बदरभागी, विश्वराजको पक्षमा अन्तरिम आदेश माग – Nepal Press

पोखरेल र बडालको जिकिर- आईजीपी नियुक्ति बदरभागी, विश्वराजको पक्षमा अन्तरिम आदेश माग

काठमाडौं । ज्येष्ठता मिचेर भएको नेपाल प्रहरीको आईजीपी नियुक्ति बदर गर्न माग गर्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज दोस्रो दिन पनि सुनुवाइ जारी छ ।

न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा बहस गर्दै अधिवक्ता सुनिल पोखरेल र रमेश बडालले सर्वोच्चकै यसअघिको नजिरसमेत सम्झाउँदै नियुक्ति बदर गर्न अन्तरिम आदेश माग गरेका छन् ।

पोखरेलले सरकारले ज्येष्ठता मिचेर नियुक्त गरेको आईजीपीले फुली लगाइसकेपछि बदर गर्न नमिल्ने भन्ने हो भने पीडितले न्याय नपाउँने जिकिर गरे । उनले कि त आईजीपी नियुक्तिसम्बन्धी विवादको निरुपण गर्ने क्षेत्राधिकार अदालतमा नरहेको भन्नुपर्ने उनको जिकिर छ ।

पोखरेलले भने, ‘यस्तो भयो भने त सरकारले राति १२ बजे क्याबिनेट राखेर जुनियरलाई आईजीपी नियुक्त गर्ने र बिहान १० बजेअघि नै फुली लगाइदिने हुन्छ । पीडित ११ बजे अदालत जान्छ । कि त यो मुद्दा अदालतको क्षेत्राधिकारमा पर्दैन भन्नुपर्‍यो । होइन भने अन्तरिम आदेश हुनुपर्छ । ‘

अर्का अधिवक्ता रमेश बडालले अन्तरिम आदेशपछि पनि प्रहरी नेतृत्वविहीन नहुने र वरिष्ठताका आधारमा विश्वराज स्वतः निमित्त आईजीपी बन्ने जिकिर गरे । उनले सर्वोच्च अदालतले नवराज सिलवालको मुद्दामै आइजिपी नियुक्तिबारे प्रष्ट भनिसकेकाले विश्वराज पोखरेलको पक्षमा अन्तरिम आदेश हुनुपर्ने जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *