नेकपा एसबाट मेयरका दाबेदार नै मतदान अधिकृत, एमालेको आपत्ति – Nepal Press

नेकपा एसबाट मेयरका दाबेदार नै मतदान अधिकृत, एमालेको आपत्ति

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा नेकपा एसबाट मेयरको दाबी गर्दै चुनावी प्रचार गरेका टंकविक्रम थापा निर्वाचन अधिकृत तोकिएका छन् ।

नगरपालिकाको कानून अधिकृत रहेका थापा गठबन्धन गर्दा मेयर कांग्रेसको भागमा परेपछि ब्याक भएका थिए । उनले नेकपा एसबाट मेयरका लागि उम्मेदवारी दर्तासमेत गरेका थिए । गठबन्धनका उम्मेदवार जिताउन सक्रिय चुनावी प्रचारमा रहेका थापालाई नै निर्वाचन अधिकृत बनाउने भएपछि विवाद सुरु भएको छ ।

कमलामाईमा अहिले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उपेन्द्र पोखरेल चुनावी मैदानमा छन् ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले वैशाख २३ गतेदेखि तालिम हुने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको नामको सूचीमा थापा परेका छन् ।

त्यस्तै कांग्रेसनिकट निजामती कर्मचारी युनियनका केन्द्रीय प्रतिनिधि गोविन्दप्रसाद कोईराला, कर्मचारी युनियनका निवर्तमान अध्यक्ष सूर्य घिमिरे, पूर्वअध्यक्ष विनोदप्रसाद अधिकारी, शिक्षक संघका नेता मोहन शाही ठकुरीलगायतका दर्जनौं सत्तागठबन्धन निकटका पेशागत संघ संगठनमा आबद्ध शिक्षक कर्मचारीलाई निर्वाचनमा मतदान अधिकृतको रुपमा खटाउने योजना बनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटा, जिल्ला निर्वाचन कार्यालय सिन्धुलीकी निर्वाचन अधिकारी पुष्पा कुमारी झा सत्तागठबन्धनको प्रभावमा परी अनियमित ढंगमा मतदान अधिकृत छनोट गरेको एमालेको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर