धनुषामा माओवादी वडाध्यक्ष उम्मेदवारका बुवामाथि आक्रमण, जसपा कार्यकर्तामाथि आरोप – Nepal Press

धनुषामा माओवादी वडाध्यक्ष उम्मेदवारका बुवामाथि आक्रमण, जसपा कार्यकर्तामाथि आरोप

जनकपुरधाम । धनुषाको कमला नगरपालिका– १ मा माओवादीबाट वडा अध्यक्ष उठेका सर्वदेव यादवका बुवा चन्द्र नारायण यादवमाथि बुधवार मध्यरातमा आक्रमण भएको छ । अज्ञात समूहको आक्रमणबाट यादव घाइते भएका छन् । यादवको टाउकोमा धारिलो हतियार प्रहार भएको छ ।

घरमै रहेका बेला वडाध्यक्ष उम्मेदवार यादवको बुवामाथि करिब १० जनाको समूहमा आएका व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको माओवादीका स्थानीय नेता शशिकान्त मण्डलले जानकारी दिए ।

आक्रमणमा संलग्न व्यक्तिहरु जसपाका कार्यकर्ता रहेको उनको आरोप छ । उनले भने, ‘जसपाका कार्यर्ताहरुले आफ्नो पार्टीका वडाध्यक्ष उम्मेदवारलाई नै मार्ने उद्देश्यले घरमै पुगेको थियो । तर नभेटेपछि उनका बुवामाथि नै आक्रमण गरिएको छ ।’

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप क्षेत्रीले अपरिचित व्यक्तिले यादवलाई कुटपिट गरेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर