सत्ता दुरुपयोग गरेर उम्मेदवारलाई झूटा मुद्दामा फसाउन खोजिएको लिखु एमालेको आरोप – Nepal Press

सत्ता दुरुपयोग गरेर उम्मेदवारलाई झूटा मुद्दामा फसाउन खोजिएको लिखु एमालेको आरोप

ओखलढुंगा । नेकपा एमालेले ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार मिलन विष्टमाथि राजनीतिक प्रतिशोध र सत्ताको दुरुपयोग गर्दै झूटा मुद्दा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ ।

एमाले लिखु गाउँपालिका कमिटी अध्यक्ष रामकुमार आछामी थापा मगर र सचिव रेमश विष्टले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै झूटा मुद्दा लगाएर मतदातामाथि त्रास फैलाउन खोजेको आरोप लगाएका छन् ।

एमालेले झूटा आपराधिक गतिविधि तत्काल बन्द गर्न भन्दै यस्ता गतिविधि नरोकिए सशक्त प्रतिवाद गरिने र जुनसुकै मूल्य चुकाउनसमेत तयार रहेको बताएको छ ।

विष्टमाथि दोहोरो नागरिकता लिएको भन्दै कांग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार अशोक कार्कीले उजुरी दिएका थिए । विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार आइरहेका बेला एमालेले प्रतिवादको चेतावनी दिएको हो ।

लिखु गाउँपालिका अध्यक्षमा एमालेबाट मिलन विष्ट र उपाध्यक्षमा अस्मिता थापा प्रतिस्पर्धामा छन् । आफूहरु घरदैलोको क्रममा रहेको र एमालेको गढमा जित निश्चित देखेर कांग्रेसले सत्ताको दुरुपयोग गरी अध्यक्ष उम्मेदवार विष्टलाई फसाउने र मनोबल गिराउने प्रयास गरेको उपाध्यक्ष उम्मेदवार थापाले बताइन् ।

उनले चुनावी अभियानमा रहेका उम्मेदवारमाथि सत्ताको दुरुपयोग गर्न खोज्नु गम्भीर भुल हुने बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर