परिवर्तनकामी शक्ति एकगठ हुँदा के बिग्रेला र ? – Nepal Press
ब्लग

परिवर्तनकामी शक्ति एकगठ हुँदा के बिग्रेला र ?

म सानैदेखि केही गरौं भन्ने स्वभावको मान्छे थिएँ । त्यसैले होला, १४ वर्षको उमेरमै मैले गाउँमा क्लवको नेतृत्व गर्ने अवसर पाएँ । सामाजिक संस्थाको मेरो नेतृत्व त्यहीबाट प्रारम्भ हुन्छ । समय क्रमसँगै आजसम्म आइपुग्दा आधा दर्जन जति राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका संस्था, महासंघ र महाअभियानको नेतृत्व गर्ने अवसर पाएँ । हाल म वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र प्रयोगका क्षेत्रमा काम गर्ने एक फाउण्डेसनको पनि नेतृत्व गरिरहेको छु ।

म यहाँसम्म आइपुग्दा सरकारका नीति निर्माणदेखि विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेको छु । पछिल्लो समय म राजनीतिका अलावा लेखन कार्यमा पनि क्रियाशील छु । ‘देश किन बनेन’ र ‘समृद्धिको रोडम्याप’ नामक मेरा दुईवटा पुस्तक आएका छन् । छिट्टै अर्को पुस्तक पाठकमाझ ल्याउने तयारीमा छु ।

मेरो नेतृत्वमा भएका रिसर्च र परियोजनाका झण्डै दर्जन रिपोर्टसमेत प्रकाशित छन् । बाल्यकालमा जसलाई देख्यो त्यस्तै बन्ने चाहना हुन्थ्यो । भलै, समय क्रमसँगै आजसम्म आइपुग्दा मैले आफ्नो जीवनको स्पष्ट गन्तव्य निर्धारण गरिसकेको छु । वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र प्रयोगबाट आएको निष्कर्षलाई पुस्तक, लेख–रचनामार्फत् पाठकमा पुर्याउने र राजनीतिक पार्टीमार्फत् आम नागरिक र देशको पक्षमा तीव्र गतिमा काम गर्ने मेरो जीवनको अन्तिम गन्तव्य वैज्ञानिक संस्कार र समाज निर्माणमार्फत् मानव जातिको समान अग्रगतिमा योगदान गर्नु हो ।

उल्लेखित मुद्दा र गन्तव्य हासिल गर्न म अध्ययन–अनुसन्धान, लेखन र राजनीतिलाई साधनका रुपमा उपयोग गर्ने निष्कर्षमा पुगेको हो । यो निष्कर्षले मलाई गन्तव्यमा पु¥याउने दृढ आत्मविश्वास छ ।

मलाई थाहा भयो, हाम्रो समाजमा कट्टर धार्मिक र संस्कारी हुनु भनेको महिला, गरिब, दलितमाथि विभेद गर्नु रहेछ । अन्याय र असमानताको अमानवीय र अवैज्ञानिक इतिहासप्रति गौरव गर्नु रहेछ !

मेरो आफ्नै नीति–नियम छ । मैले आफ्नो गन्तव्यसहितको मास्टरप्लान तयार गरेको छु । के गर्ने, के नगर्ने, कहिले गर्ने, कसरी गर्ने आदि कुरा स्पष्ट निर्धारित छन् । त्यसकारण जीवन, जगत र समाज इत्यादिलाई बुझ्न मैले कुनै सामाजिक मूल्य–मान्यता, परम्परा, श्रुति वा शास्त्रको सहारा लिइरहनु पर्दैन र लिदिनँ पनि किनकि मेरो आफ्नै दृष्टिकोण छ । विगत १० वर्षदेखि प्रकृति र विज्ञानको कसीमा सही सावित हुनेबाहेकका काम गर्न म फिटिक्कै चाहन्न ।

‘जीवन अप्रकाशित पुस्तक हो, निरन्तर सम्पादन गर्नुपर्छ’, यो मेरो पुस्तक लेखनका दौरानमा सिर्जित भनाइ हो । मैलेमात्र हैन, सबै लेखकले पुस्तक वा लेख–रचनाको मस्यौदा तयार भएपछि आफै पटक–पटक काटछाँट गर्छन् । प्रकाशकले फेरि सम्पादन गर्छ । यो सबै गर्नुको उद्देश्य त्रुटिरहित, राम्रो, पठनीय र उत्कृष्ट पुस्तक पाठकमाझ पस्कने हो ।

त्यही भएर मैले आत्मानुभूतिबाट यो भनाइ निर्माण गरेको हुँ । एकपटक हामी आफूले आफ्नै जीवन हेरौं त ! हामीले कहिले आफ्नो बुझाइ, चेतना र जीवन–व्यवहारको सम्पादन गर्ने कोसिस ग¥यौं ? कि हामीले समाजबाट पाएको र सुनेको ज्ञानलाई नै चेतनाको अन्तिम स्रोत बनायौं ? के हजारौं वर्ष पहिले निर्माण भएको ज्ञानलाई आजको पुस्ताले पनि बोकिरहेर सम्पादित पुस्तक जस्तो उत्कृष्ट जीवन पाइएला वा पाइएको छ ? मलाई लाग्दैन, पाएका छौं !

त्यसकारण, उत्कृष्ट जीवनका लागि पुरानो चेतनामा कैची चलाउनु पर्छ । गलत चेतनाले भरिएका पानाहरुलाई जलाइदिनुपर्छ । जीवनलाई जहाँको त्यही राखिराख्ने मूल्य–मान्यता र परम्परामाथि निर्मम जाइलाग्नु पर्छ । बल्ल नयाँ, सफल र उत्कृष्ट जीवन पाइन्छ, अनिमात्र मानव भएर जन्मनुको सार्थकता हुन्छ । त्यही भएर मैले समाज निर्मित मेरो पुरानो चेतनालाई भत्काउने आँट गरेको हुँ । मलाई सिकाइएको गलत मूल्य–मान्यतामाथि निर्मम सम्पादन गरेको हुँ । त्यही भएर आज म ऊर्जा, उत्साह र उमंगले भरिएको नयाँ जीवन बाँचिरहेको छु ।

म पनि कट्टर धार्मिक परिवारमा जन्मिएको मान्छे हुनुका नाताले कुनै बेला म पनि धार्मिक थिएँ । आफ्नो धर्म–संस्कारलाई अति सम्मान गर्थेँ । सोहीअनुसारको जीवन–व्यवहार थियो । आफ्नो धर्म–संस्कृतिका विरुद्ध बोल्नेमाथि जाइलाग्थे । मान्छेका दुःख, सामाजिक विभेद र अन्याय, लैगिंक हिंसा आदि कुरा मेरो नजरमा पर्दैनथ्यो । पथ्र्यो त केवल धर्म–संस्कृति, परम्परा, रीतिरिवाज र मूल्यहरु ।

त्यसकारण मलाई परिवर्तनको प्राकृतिक नियम, सामाजिक न्यायको अनिवार्यता, नेपाली समाज निर्माणको ज्ञानको स्रोतलगायत इत्यादि कुरा बुझ्न झण्डै १५ वर्ष लाग्यो । ‘देश किन बनेन’ पुस्तक लेखनमा अग्रसर भएसँगै सामाजिक, आर्थिक र राजनीतिलगायत विविध क्षेत्रको अध्ययनमा लाग्दैगर्दा मलाई थाहा भयो, हाम्रो समाजमा कट्टर धार्मिक र संस्कारी हुनु भनेको महिला, गरिब, दलितमाथि विभेद गर्नु रहेछ । अन्याय र असमानताको अमानवीय र अवैज्ञानिक इतिहासप्रति गौरव गर्नु रहेछ !

बोक्सीका नाममा महिलालाई मलमुत्र खुवाउँदा गद्गद हुँदै ताली पिट्नु रहेछ । कथित माता र धामी–झाँक्रीको पाउमा पर्नु रहेछ किनकि हाम्रो बाल मस्तिष्कको ज्ञानको मुख्य स्रोत समाज र परिवारले यही सिकायो । मलाई आज पनि याद छ, हाम्रो गाउँघरमा अलिक झुत्रोमुत्रो लगाएर जुङ्रुङ्ग भएर हिँड्न बाध्य गरिब महिलालाई कथित बोक्सीको आरोप लगाएको । म पनि त्यस्ता महिलालाई त्यसबेला बोक्सी नै देख्थेँ ।

शास्त्रीय चेतबाट निर्देशित भएपछि माओवादी त के बुद्धलाई समेत महामानव हैन परिवारलाई धोखा दिने धोखेबाज देख्न पुगिन्छ ! ग्यालिलियो ग्यालिली र चाल्स डार्बिन जस्ता वैज्ञानिकलाई मानव जातिलाई अतुलनीय योगदान गर्ने असामान्य मान्छे हैन समाजको विश्वासविरुद्ध बोल्ने समाज भँडुवा देख्छ !

यसकारण कि मलाई मेरो समाजले बोक्सीको हुलिया त्यस्तै बताएको थियो । फेरि यसमा समाजको के दोष, समाजले पनि शास्त्रमा बोक्सीको हुलिया ठ्याक्कै त्यस्तै पढेको र सुनेको थियो !

खैर, पुस्तक लेखन कार्यले मेरो चेतनामा आमूल परिवर्तन ल्याइदियो । म कट्टर धार्मिक र परम्परावादी मान्छे, क्रान्तिकारी हुन पुगे । क्रान्तिकारी हुनु भनेको मूलतः परिवर्तनकारी अर्थात् अग्रगमनकारी हुनु हो । परिवर्तनकारी हुनु भनेको अर्को अर्थमा परम्परा, रुढिवादी र अन्धविश्वासी नहुनु हो । तर, हामीकहाँ परिवर्तनकारी हुनु भनेको हत्यारो हुनु हो जस्तो जबरजस्त भाष्य निर्माण गर्न खोजिन्छ ।

परिवर्तनकारी हुनुको अर्थ आजभन्दा भोलि, भोलिभन्दा पर्सि एकपछि अर्को राम्रो अवस्था निर्माणमा समर्पित हुनु हो । परिवर्तनकारी हुनुको अर्थ समानता र बराबरीको पक्षमा दृढतापूर्वक उभिनु हो । समानता र बराबरीको मुद्दा माओवादी आन्दोलनले स्थापित गरेको हो ।

त्यसकारण म माओवादी हुन पुगेँ । माओवादी भएकोमा मलाई गर्व छ किनकि वैज्ञानिक दृष्टिकोण, परिवर्तन, मानव जातिको अग्रगतिको अर्को नाम नै माओवादी हो । मेरो जीवनमा यहाँ विश्वविख्यात प्रगतिशील तथा महिलावादी लेखिका सिमोनको भनाइ ठ्याक्कै मेल खाएको पाउँछु ।

उनी भन्छिन्, ‘जीवनलाई सहज बनाएर हैन, बरु जोखिम मोलेर मानिस जनावरको स्तरबाट माथि उठ्न सक्छ ।’ तर, पुरानो चेतनाले नयाँ कुरालाई हेर्दा यहाँ कतिपय मानिस माओवादी आन्दोलनलाई दुत्कार्छन्, जुन ठूलो दृष्टिदोष हो ।

एकैछिन माओवादीलगायत केही परिवर्तनकारी आन्दोलनलाई अर्को ढंगले हेरौं त ! मानौं, प्रचण्डको नेतृत्वमा माओवादी आन्दोलन नभएको भए अहिले के हुन्थ्यो होला ? स्पष्ट छ, देशमा हिन्दू राजतन्त्र भैरहन्थ्यो । महिला, मधेसी, दलित, थारु, अल्पसंख्यक, गरिब आदिले हीनताको जीवन बाँचिरहेका हुन्थे । स्वतन्त्रपूर्वक बोल्न, लेख्न, अधिकार माग्न पाइँदैनथ्यो ।

यस्तै बीपी र पुष्पलालको नेतृत्वमा प्रजातान्त्रिक आन्दोलन नभएको भए के हुन्थ्यो होला ? स्पष्ट छ, राणाहरुले मोजमस्तीका साथ शासन गरिरहेका हुन्थे । सतीप्रथाका नाममा महिला ज्युँदै जल्न बाध्य भइरहेका हुन्थे । तर, चन्द्रशमशेर राणा जस्ता केही मानवताका पक्षधर मानिसको जन्मले महिला ज्युँदै जल्नुपर्ने कारुणिकताको अन्त्य भयो ।

बीपी र पुष्पलाल जस्ता परिवर्तनकारी मानिसको जन्मले अत्याचारी राणा शासनको अन्त्य भयो भने प्रचण्ड जस्ता नेताको जन्मले सामन्ती राजतन्त्रको मात्र अन्त्य गरेन, हजारौं वर्षदेखि जनावरस्तरको जीवन बाँचिरहेका नागरिकलाई बोल्न र अधिकार माग्न सक्ने बनायो । अतः आफूले आफैलाई एकपटक प्रश्न गरौं, परिवर्तनकारीहरु हत्यारा हुन् वा मानव जातिको अग्रगतिका लागि अपरिहार्य मान्छे ?

शास्त्रीय चेतबाट निर्देशित भएपछि माओवादी त के बुद्धलाई समेत महामानव हैन परिवारलाई धोखा दिने धोखेबाज देख्न पुगिन्छ ! ग्यालिलियो ग्यालिली र चाल्स डार्बिन जस्ता वैज्ञानिकलाई मानव जातिलाई अतुलनीय योगदान गर्ने असामान्य मान्छे हैन समाजको विश्वासविरुद्ध बोल्ने समाज भँडुवा देख्छ !

परिवर्तनकारीलाई दुत्कार्ने मानिस गन्तव्य (लक्ष्य) विहीन हुन्छ । उसको जीवनको गन्तव्य नै हुँदैन । गन्तव्य नभएपछि गति हुने कुरै भएन । त्यसकारण उसको दुर्गति हुन्छ अर्थात् आम मानिसको भन्दा फरक प्रगति हुँदैन । भलै, त्यस्ता मानिसको पनि एउटा लक्ष्य चाहिँ हुन्छ । त्यो हो, मरेपछि कथित स्वर्ग पुग्ने ! त्यही भएर ऊ पशुपतिका जोगीको लिङ्ग पखालेको पानीलाई शिव लिङ्गको पानी ठानेर पिउने र बाँदरबाट आशीर्वाद लिन टाउको थाप्ने ठाउँमा पुग्छ वा त्यस्ता कुरामा विश्वास गर्छ ।

पुष्टीकरण पूर्वाग्रहलाई नभत्काएसम्म मानिसले नयाँ कुरा स्वीकार्न, सोच्न, प्रयोग गर्न र जीवनको सार्थकता अर्थात् गन्तव्य पैल्याउनै सक्दैन । यो मनोविज्ञानलाई नभत्काएसम्म कुनै पनि मानिस सफलताको हकदार बन्नै सक्दैन । पुष्टीकरण पूर्वाग्रबाट मुक्त नभएसम्म मानिसले क्रान्तिकारीलाई परिवर्तनकारी हैन हत्यारो नै देख्छ ।

यो प्रजातिका मानिसले तथ्य (सत्य) लाई अस्वीकार गर्छ र मानी आएको कुरा छोड्न सक्दैन । त्यस्ता मानिस अपडेट हुन चाहँदैन । यस्तो मनोविज्ञानलाई मनोवैज्ञानिकले ‘पुष्टीकरण पूर्वाग्रह’ भएको मानिस भन्दछन् । यो मनोविज्ञान नै प्रायः मानिसको दुर्गतिको कारण हो ।

पुष्टीकरण पूर्वाग्रहलाई नभत्काएसम्म मानिसले नयाँ कुरा स्वीकार्न, सोच्न, प्रयोग गर्न र जीवनको सार्थकता अर्थात् गन्तव्य पैल्याउनै सक्दैन । यो मनोविज्ञानलाई नभत्काएसम्म कुनै पनि मानिस सफलताको हकदार बन्नै सक्दैन । पुष्टीकरण पूर्वाग्रबाट मुक्त नभएसम्म मानिसले क्रान्तिकारीलाई परिवर्तनकारी हैन हत्यारो नै देख्छ ।

जो हामी परिवर्तनकारी मानिसको विरोध गर्छौं, यसको अर्थ तपाईं महिलाले पुरुष बराबर अधिकार पाउनै हुँदैन भन्ने मान्छे हो ? के तपाईं मधेसीलाई भारतीय देख्ने मान्छे हो ? के तपाईं दलित कुनै फरक प्रजातिको मानिस नभएर हिन्दू धर्मको उपज हो भन्ने थाहा नपाएको मानिस हो ? के तपाईं मानवताको पक्षधर हैन ? तपाईं स्थायी शान्ति र देश विकास हुनुपर्छ भन्ने मान्छे हैन ? यदि हैन भने तपाईं यो धर्तीका लागि आवश्यक मान्छे नै हैन । यदि त्यसो हैन भने तपाईं पनि क्रान्तिकारी अर्थात् परिवर्तनकारी मान्छे नै हो । तसर्थ तपाईंले परिवर्तनकारी मान्छेलाई दुत्कार्न सुहाउँदैन ।

अन्तमा, मानव जातिको अग्रगतिका लागि हरेक नागरिक आफै परिवर्तनकारी हुनुपर्छ । परिवर्तनकारी हुन नसके पनि परिवर्तनकारीलाई मलजल गर्नु पर्छ, उत्साहित र प्रोत्साहित गर्नुपर्छ । परिवर्तनकारीलाई दुत्कारेर परिवर्तन रोकिन्छ वा रोकियो ? रोकिएको भए आजको भव्य र सानदार जीवन हामीले देख्न पाउँन्थ्यौं ? हाम्रो हातमा स्मार्ट फोन हुन्थ्यो ? हुँदैनथ्योे नि ! यति हो, परिवर्तन ढिलो हुन्थ्यो । तर, हुन चाहिँ हुन्थ्यो ।

तपाईं हामी सबै परिवर्तनकारी हुने हो भने पर्सि हुने परिवर्तन भोलि नै हुन्छ, भोलि हुने आजै हुन्छ, आज हुने अहिल्यै हुन्छ । यो सबै हुँदा तपाईं हाम्रो के जान्छ ? बरु हाम्रा नातिनातिनाको समयसम्म मात्र देख्न र भोग्न पाउने परिवर्तन र उपलब्धि हामीले नै देख्न र भोग्न पाउँछौं । यसमा थप प्रस्ट हुन, हामी नेपालबाट लोडसेडिङ सदाका लागि हटेको उदाहरणलाई हेर्न सक्छौं । कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनबाट रोक्न एउटा तप्काले कति धेरै तागत लगाएको थियो ? तर, प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा तमाम विरोधलाई छिचोल्दै अन्ततः कुलमानलाई कार्यकारी निर्देशक बनाइयो । फलतः नेपालबाट लोडसेडिङ सदाका लागि अन्त्य भयो ।

कुलमानलाई निर्देशक बन्नबाट जसरी पनि रोकेको भए के हुन्थ्यो ? के नेपालबाट कहिल्यै लोडसेडिङको अन्त्य हुँदैनथ्यो ? हैन, हुन्थ्यो तर यति चाँडो हुँदैनथ्यो । ठीक त्यस्तै हो, परिवर्तनको कुरा पनि । त्यसकारण हामी सबै परिवर्तनकारी भएर हाम्रा सन्ततिको उज्ज्वल भविष्यका लागि योगदान गर्ने कि ?

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.