सुनकोशीमा वामगठबन्धनको प्रतिबद्धतापत्र: भ्रष्टाचार नियन्त्रणमा कटिबद्ध – Nepal Press

सुनकोशीमा वामगठबन्धनको प्रतिबद्धतापत्र: भ्रष्टाचार नियन्त्रणमा कटिबद्ध

सिन्धुपाल्चोक । स्थानीय चुनावमा नेकपा एमाले र माओवादी केन्द्रबिच चुनावी गठबन्धन बनाएको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा दुवै पार्टीले सयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

देशभरका थोरै स्थानीय तहमा मात्रै नेकपा एमाले र माओवादी केन्द्रबिच चुनावी तालमेल भएको छ । सिन्धुपाल्चोकमा सुनकोशी गाउँपालिकामा मात्रै दुइ कम्युनिष्ट पार्टीबीच गठबन्धन भएको हो ।

दुई पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पहिलो सर्त नै जनप्रतिनिधि शासक नभएर जनसेवक हुने उल्लेख छ । यसको अनुभुति बोली र व्यवहार र कार्यशैलीबाट नै हुने प्रतिबद्धता पत्रमा भनिएको छ । ‘सुशासन र समृद्धि समाजवादको आधार, सुनकोशी गाउँपालिकामा वामपन्थीको सरकार’ भन्ने नाराप्रतिवद्धता पत्रले आत्मसाथ गरेको छ ।

यस्ता छन् प्रतिबद्धता पत्रका केही अंशहरु–

– हाम्रा जनप्रतिनिधि सामाजिक मर्यादा र आर्थिक अनुशासनमा रहने छन् । उनीहरुले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन् । गाउँपालिका सुशासनमा नमुना बन्ने छ ।
– हाम्रा जनप्रतिनिधिले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन । र, कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन् ।
– हाम्रा जनप्रतिनिधिले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेलाई कानुनी कार्बाहीको दायरामा ल्याउन अग्रणी भूमिका खेल्ने छन् ।
– जनप्रतिनिधि महिनाको कम्तिमा एकदिन श्रमदान गर्ने अभियानमा सहभागि हुनेछन् । यो अभियानमा स्थानीय सरकारमा सहभागि दलका नेता–कार्यकर्ता पनि जोडिनेछ ।
– गाउँपालिकाको नेतृत्व र दुबै पार्टीबीच निरन्तर संवाद र समन्वय हुनेछ । पार्टीले दिएको सुझाव कार्यान्वयन गरिनेछ । अन्य राजनीतिक दललाई पनि राय, सल्लाह र सुझाव राख्न प्रोत्साहित गरिनेछ ।
– विज्ञको सहभागितामा पालिका योजना आयोग गठन गरिनेछ । आयोगलाई आर्थिक–सामाजिक रुपान्तरण र पूर्वाधार विकासका लागि थिङ्क ट्याङ्कको रुपमा परिचालन र विकास गरिनेछ ।

गठबन्धनले विदेशमा रहेका गाउँपालिकाबासीबाट आफ्नो पालिकमा विकास निर्माणमा सहयोगका लागि नयाँ अवधारणा समेत अघि सारेका छन् । विदेशमा रहेका गाउँपालिकाबासी लक्षित गरेर ‘जन्मभूमिलाई मासिक न्यूनतम् १ डलर’ अभियान सञ्चालन गरिने छ ।

अभियानमा इच्छुकले बार्षिक १२ डलर योगदान गर्न सक्नेछन् । यो भनेको नेपाली करिब पन्ध्रसय रुपैयाँ रहेको गाउँपालिकामा अध्यक्षका प्रत्यासी रहेका टपिन्द्र तिमिल्सिनाले जानकारी दिए । यो आफ्नो जन्मभुमिलाई सहयोग गर्ने अवधारणा हो तिमिल्सिनाले भने ।

गाउँपालिकाले दिने सेवामा ‘त्यही दिन’को नीति लागू गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकालाई घरमै पुगेर सेवा दिइने नीति अघि सारीएको उपाध्यक्षकी उमेदवार दुर्गा थापाले जानकारी दिइन ।

त्यसैगरी प्रतिबद्धता पत्रमा चिकित्साशास्त्र र इन्जिनियरिङ पढ्न सरकारीस्तरमा लिइने प्रवेश परीक्षामा नाम निकाल्न सफल दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई शिक्षण शुल्कको सत प्रतिशत र अन्य समुदायका लागि पचास प्रतिशत छात्रवृत्ति उपलब्ध गराइनेछ । यसरी छात्रवृत्ति लिएर उत्पादन हुने जनशक्तिले प्रचलित सरकारी सेवा–सुविधा पाउने गरी कम्तिमा सात वर्ष गाउँपालिकामै सेवा दिनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर