विप्लवको नेकपा फुट्दै, महासचिवमाथि कारवाही गर्न भोलिबाट धर्मेन्द्र-हेमन्त पक्षको भेला – Nepal Press

विप्लवको नेकपा फुट्दै, महासचिवमाथि कारवाही गर्न भोलिबाट धर्मेन्द्र-हेमन्त पक्षको भेला

काठमाडौं । नेक्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा विभाजनको निर्णायक विन्दूमा पुगेको छ । सो पार्टीको असन्तुष्ट पक्षले चितवनमा राष्ट्रिय भेला गर्दै विभाजनको तयारी गरेको हो ।

निलम्बित सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रका ओली ‘सुदर्शन’को पहलमा उक्त भेला आयोजना गरिएको केन्द्रीय सदस्य गुणराज लाेहनीले नेपाल प्रेसलाई जानकारी दिए । पार्टी महासचिव विप्लवलाई पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गर्दा उनले नमानेपछि असन्तुष्ट पक्षले भेला बोलाएको लोहनीले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘हामीले केन्द्रीय समिति बैठक बोलाएर पार्टी भित्रको विवाद सल्ट्याउ भनेर महासचिवलाई भन्यौ । तर, उहाँले केन्द्रीय समिति बैठक बोइदैँन । तपाइहरुलाई जे मन लाग्छ त्यो गरे हुन्छ भन्नुभयो । त्यसपछि हामी बेला बोलाउने निष्कर्षमा पुग्यो ।’

भोलिबाट तीन दिनसम्म चल्ने भेलाका लागि आज देशभरबाट पार्टीका अगुवा नेता कार्यकर्ता चितवन पुग्नेक्रम जारी रहेको जनाइएको छ । कञ्चन–सुदर्शन पक्षका एक केन्द्रीय सदस्यका अनुसार आज साँझसम्म सबै प्रतिनिधि चितवन पुगिसक्नेछन् । तत्कालीन ब्यूरो, विशेष कमिटी सदस्य, जिल्ला सेक्रेटरी र केही अगुवा कार्यकर्ता पनि भेलामा सहभागी हुने जनाईको छ ।

भेलाले महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड पार्टी निर्णयविरुद्ध गएकाले कारवाही गरेर पार्टी पुर्नगठन गर्ने तयारी भएको एक  अर्का नेताले नेपाल प्रेसलाई जानकारी दिए ।

अहिलेसम्म प्राप्त विवरणअनुसार पार्टीका केन्द्रीय सदस्य उदय चलाउने, गुणराज लोहनी, पुर्णबहादुर सिंह, लालबहादुर बिसी, सरद रसाइली, सावित्रा दुरा, कृष्ण वाग्ले लगायतका १३ जना केन्द्रीय सदस्य कञ्चन–हेमन्त पक्षमा खुलेर लागेका छन् । यस्तै ७७ जना जिल्ला सेक्रेटरीमध्ये बहुसंख्यक जिल्ला सेक्रेटरी यस पक्षमा उभिएका छन् ।

बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा सहभागी हुने प्रस्ताव पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले केन्द्रीय समिति बैठकमा पेश गरेपछि सुरु भएको विवाद चर्किँदै पार्टी फुटको संघारमा पुगेको हो ।

पार्टीको १२ औं केन्द्रीय समिति बैठकमा पेश भएको महासचिव विप्लवको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । निर्वाचनमा सहभागी नहुने पक्षमा बहुमत भएपछि महासचिवको विचारलाई पनि केही मात्रामा सम्बोधन हुने गरी तल्लो तहका नेताले पार्टीबाट राजिनामा दिएर स्वतन्त्ररुपमा उम्मेदवारी दिन पाउने र एमसीसी विरोधीलाई निर्वाचनमा सघाउने निर्णय भएको थियो ।

न चुनाव उपयोग न वहिष्कारको निर्णय गरेको नेकपाले पछिल्लो पटक दल दर्ताको प्रयासदेखि उम्मेदवार उठाउन थालेपछि निलम्बित नेता कञ्चन र सुदर्शनले विभिन्न सञ्चारमाध्यम र विज्ञप्तीमार्फत विरोध जनाउँदै आएका थिए । उनीहरुले केन्द्रीय समितिको निर्णय विरुद्ध गएको भन्दै महासचिव विप्लव र प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को सार्वजनिक रुपमै आलोचना गर्दै आएका थिए ।

पार्टीका नेता कार्यकर्ता निर्वाचनमा सहभागी नहुने हुने भए राजिनामा दिएर जानुपर्ने निर्णय भएको तर त्यसको महासचिव र प्रवक्ताबाटै उलंघन भएको निलम्बित सचिवालय सदस्य सुदर्शनले नेपाल प्रेससँगको कुराकानीमा बताएका थिए । निलम्बित सचिवालय सदस्य कञ्चनले त पार्टीको संस्थापन पक्षले पार्टी निर्णयलाई लत्याएको भन्दै पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन अपील गर्दै प्रेस विज्ञप्ति नै जारी गरेका थिए ।

विप्लव नेतृत्वको नेकपाका जनवर्गीय संगठन पनि विभाजित भएका छन् । किसान, मजदूर, शिक्षक संगठनका अध्यक्षदेखि अधिकांश पदाधिकारीले कञ्चन र सुदर्शनलाई साथ दिएका छन् भने विद्यार्थीका बहुसंख्यक पदाधिकारी, पत्रकार संगठनका केही पदाधिकारी, प्रवासले पनि विज्ञप्ति जारी गरेर विप्लवले गरेको कारवाही फिर्ता लिनुपर्ने माग गर्दै आएका छन् । उनीहरुले महासचिवबाटै पार्टी विभाजनका विजारोपण गरेको आरोपसमेत लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर