थप रोजगारी र रोजगारीसँग सम्बन्धित हित अभिवृद्धि गर्न नेपाल र मलेसिया सहमत – Nepal Press

थप रोजगारी र रोजगारीसँग सम्बन्धित हित अभिवृद्धि गर्न नेपाल र मलेसिया सहमत

काठमाडौं । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसिया नेपाली युवाका लागि थप रोजगारीका अवसर सृजना गर्न र त्यहाँ कार्यरत नेपालीको रोजगारीसँग सम्बन्धित हित अभिवृद्धि सहमत भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डलसँगको उच्च स्तरीय वार्ताका क्रममा मलेसिया सहमत भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल टोली पाँच दिने मलेसिया भ्रमण गरेर स्वदेश फर्किए लगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठको नेतृत्वमा गएको भ्रमण टोलीले मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी एम। सराभनन, गृहमन्त्री हम्जाह बिन जैनुदिन र सामाजिक सुरक्षा संगठनका महासचिवसँग उच्च स्तरीय भेटवार्ता गरेको मन्त्रालयका प्रवक्तासमेत रहेको सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए ।

भ्रमणका क्रममा मलेसियाका मानव संसाधन मन्त्रीसँग उच्चस्तरीय बैठकमा नेपाल र मलेसियाबिच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, मलेसियाको श्रम बजारको आवश्यकता बमोजिम नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको छ ।

भेट वार्तामा मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सबलीकरण गर्ने, रोजगारीको लागि युवाको छनौट तथा नियुक्तिलाई शून्य लागतसहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने विषयमा पनि सहमति भएको छ ।

यस्तै मलेसिया रोजगारी गरिरहेका नेपाली नागरिकलाई चौबिसै घण्टा प्रभावकारी हुने बीमा सुविधाको व्यवस्था गर्ने, नेपाली श्रमिकलाई आफ्ना अधिकार र आफूले पालना गर्नुपर्ने सर्तको विषयमा मलेसिया प्रवेश गर्नुअघि नै सचेतनामूलक तालिम प्रदान गर्ने, नेपाल–मलेसिया श्रम समझदारी पत्र अनुसार नेपालले आयोजना गर्नुपर्ने द्विपक्षीय संयुक्त कार्यसमितिको बैठक आगामी जुन महिनाभित्र गर्ने सहमति भएको छ ।

यस्तै मलेसियाका गृह मन्त्रीसँगको उच्चस्तरीय भेटवार्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठले नेपाली सुरक्षागार्डले पाइरहेको सेवा सुविधा कम भएकोले कम्तीमा तीन हजार मलेसियन रिङ्गेट बनाइदिन आग्रह गरेका थिए ।

यस्तै मलेसियामा आवश्यक पर्ने सुरक्षा गार्डमा नेपालीलाई नेपालमा नै सीपयुक्त तालिम प्रदान गर्ने, नेपाल र मलेसियाबिच आगामी जुन महिनाभित्र गरिने संयुक्त कार्यदलको तेस्रो बैठकबाट नेपाली नागरिकलाई मलेसियाका सुरक्षा क्षेत्रमा रोजगारी दिन विशेष व्यवस्था मिलाउन सिफारिस गर्ने, स्वास्थ्य उपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षा र कल्याणका क्षेत्र लगायतका सुविधाको प्रवर्द्धन गराउने विषयमा सहमति भएको छ ।

भेटवार्ताका क्रममा मलेसियामा सुरक्षा गार्डको रूपमा कार्यरत नेपालीले देखाएको उच्च तहको अनुशासनप्रति गृहमन्त्रीले प्रशंसा गरेका थिए ।

यस्तै सामाजिक सुरक्षा संगठनका महासचिवसँगको बैठकमा मलेसियाको सामाजिक सुरक्षा प्रणालीमा बढी भन्दा बढी नेपाली कामदारलाई आबद्ध गराउन कामदारका लागि सचेतनामूलक र रोजगारदाताको लागि जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

नेपाली कामदारले कार्यस्थलमा दुर्घटना हुँदा मात्र सामाजिक सुरक्षा संगठनको कार्य दायरामा आउने प्रावधानमा परिमार्जन गरी श्रम इजाजत कायम रहेको जुनसुकै समयमा हुने भवितव्यलाई समावेश गर्ने पनि सहमति भएको छ ।

यस्तै नेपालको सामाजिक सुरक्षा कोष र मलेसियाको सामाजिक सुरक्षा संगठनबीच के कस्तो कार्यगत सम्बन्ध स्थापना गर्न सकिन्छ भन्ने सन्दर्भमा अध्ययन गरी आगामी संयुक्त कार्यसमितिको बैठकमा पेस गर्ने सहमति भएको छ । यस्तै नेपालको वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संगठनबीच तथ्याङ्क आदानप्रदान गर्न वैदेशिक रोजगार विभागले सञ्चालन गरेको सँग तादत्म्यता कायम गर्ने सहमति भएको छ ।

उच्चस्तरीय भ्रमण दलले नेपाली राजदूतावास क्वालालुम्पुरको निरीक्षण गरी राजदूतावासबाट हुने सेवा प्रवाहको सम्बन्धमा पनि जानकारी लिएको छ ।

राजदूतावासकै पहलमा नेपाली समुदाय सँगसमेत छुट्टै छलफल गरी विदेशमा रहेका नेपालीको सामाजिक सुरक्षालाई सुनिश्चित गर्नका लागि नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण गर्ने प्रक्रियालाई तत्काल थप सरलीकरण गर्ने मन्त्री श्रेष्ठले जानकारी गराएका छन् ।

मन्त्री श्रेष्ठले मलेसियामा क्रियाशील गैर आवासीय नेपाली संघको कार्यालयमा पुगी संघका पदाधिकारीसँग मलेसियामा रहेका नेपाली नागरिकको रोजगार तथा व्यवसायसँग सम्बन्धित विषयमा छलफल गरेका छन् भने भ्रमण दलका सदस्यले मलेसियाको पेनाङमा पुगेर त्यहाँ रहेका नेपाली समुदायसँग छलफल गरेका थिए ।

त्यसै क्रममा पेनाङमा रहेका रोजगारदाता कम्पनीको स्थलगत भ्रमण गरी नेपालीले पाएका सेवा सुविधा र गुनासोको बारेमा जानकारी लिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठले आमन्त्रण गर्नुभए अनुसार मलेसियाका मानव संसाधन मन्त्रीले चाडै नै नेपाल भ्रमण गर्ने पनि सहमति जनाएका छन् ।

मन्त्री श्रेष्ठको नेतृत्वमा वैशाख १४ गतेदेखि पाँच दिने भ्रमणमा निस्किएको प्रतिनिधि मण्डलको टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव एव रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल र वैदेशिक रोजगार व्यवस्थापन शाखा प्रमुख एव मन्त्रालयका सूचना अधिकारीसमेत रहेका उपसचिव डा. थानेश्वर भुसाल सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *