वामगठबन्धन भएको सुनकोशीमा कसरी भइरहेछ चुनावी प्रचार ? – Nepal Press

वामगठबन्धन भएको सुनकोशीमा कसरी भइरहेछ चुनावी प्रचार ?

सिन्धुपाल्चोक । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा देशभर नेकपा एमाले एक्लै प्रतिस्पर्धामा छ । पाँच दलगठबन्धन गरेर निर्वाचनमा सहभागी भएका छन् । तर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा भने केन्द्रीय गठबन्धनभन्दा फरक गठबन्धन छ ।

नेकपा एमाले र माओवादी केन्द्रले सुनकोशीमा गठबन्धन गरेका छन् । दुई दल मात्रै होइन, एउटा वडामा त समाजवादीलाई समेत समावेश गरेर तीन दलीय गठबन्धन भएको छ ।

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये सुनकोशी गाउँपालिकामा मात्रै एमाले र माओवादीले गठबन्धन गरेको हो । देशभर औंलामा गन्न सकिने स्थानीय तहमा मात्रै दुई पार्टीले गठबन्धन गरेका छन् ।

गाउँपालिकामा एमालेले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष लिएर केही वडामा सयुक्त गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा छन् । चुनाव प्रचार प्रसारमा समेत संयुक्त निर्वाचन परिचालन समिति बनाएर कार्यक्रमहरु भइरहेको नेकपा एमाले सुनकोशी गाउँपालिका कमिटीका अध्यक्ष प्रेमलाल लामाले जानकारी दिए । अध्यक्ष, उपाध्यक्षका उम्मेदवार र दुवै पार्टीका पालिका कमिटीका अध्यक्ष रहेको निर्वाचन परिचालन समिति बनाइएको लामाले जानकारी दिए ।

निर्वाचन परिचालनमा दुवै दलका नेता कार्यकर्ताहरु सहभागी छन्, दुवै दलका चुनाव चिह्न भएको झण्डा र चुनावी ब्यानरसमेत संयुक्त बनाएर उमेदवारहरु अहिले घरदैलो कार्यक्रममा सहभागी भइरहेको नेकपा माओवादी केन्द्र सुनकोशी पालिका कमिटीका अध्यक्ष अमर लामाले जानकारी दिए ।

चुनावी प्रचारमा प्रयोग गरिएका सवारीसाधनमा चुनावी गीतसमेत दुवै पार्टीका मिलाएर बजाइने गरिएको छ । गाउँपालिकामा अध्यक्ष टपिन्द्र तिमिल्सिना एमालेबाट उम्मेदवार भएका छन् भने दुर्गा थापा माओवादी केन्द्रबाट उपाध्यक्षको उमेदवार भएकी छन् ।

सात वडा मध्ये वडा नम्बर १ र २ मा माओवादी केन्द्रले वडाध्यक्ष पाएको छ भने १ नम्बर वडामा समाजवादीलाई समेत एक सदस्य पाएको छ । त्यस्तै ५, ६ र ७ मा एमाले वडाध्यक्ष पाएको छ । वडा नम्बर ३ र ४ मा भने सहमती नभएपछि दुवै दल नै प्रतिष्पर्धामा सहभागी भएको नेकपा एमाले जिल्ला कमिटीका सदस्य भगवान न्यौपानेले जानकारी दिए ।

स्थानीय आवश्यकता अनुसार पालिका कमिटीलाई नै तालमेलको अधिकार दिएकाले,त्यहीको आवश्यकता अनुसार सुनकोशी गाउँपालिकामा एमाले र माओवादी केन्द्र बिच तालेमल भएको एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुवोध पनि स्थानीय आवश्यकता र तल्लो तहका कार्यकर्ताहरुको चाहाना अनुसार तालमेल भएको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर