रुपन्देही राप्रपाका क्षेत्रीय अध्यक्ष खानसहित ६० जना एमालेमा प्रवेश – Nepal Press

रुपन्देही राप्रपाका क्षेत्रीय अध्यक्ष खानसहित ६० जना एमालेमा प्रवेश

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकाका मुस्लिम अगुवा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही क्षेत्र नम्बर ४ ‘ख’ का अध्यक्ष रियाजुद्धिन खान एमालेमा प्रवेश गरेका छन् । पञ्चायतकालमा बर्सौली प्रधानपञ्च स्व.काशिम खानका छोरा उनी यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिइ ५ सय ८० मात्र मतले पराजित भएका थिए ।

उनको नेतृत्वमा मोहम्मद मुस्ताफा, जितेन्द्र धरिकार, जोखु यादव, तुलसी चाई, समिम खान लगायत करिब ६० जनाको संख्यामा पार्टी प्रवेश गरेको पार्टीको गाउँपालिकाका सचिव लाला लोधले बताए ।

मायादेवी गाउँपालिका वडानम्बर ५ निवासी खानसहितको टीमलाई पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित जिल्ला अध्यक्ष तेजेन्द्र केसी तथा केन्द्रीय नेताहरुले स्वागत गरेका हुन् ।

मुस्लिम समुदायको हक अधिकारको लागि अन्य पार्टीको तुलनामा एमालेको भूमिका महत्वपूर्ण रहेकाले आफुले नेकपा एमाले रोजेको रियाजुद्धिन खानले बताए ।

एमाले सचिव छविलाल विश्वकर्माले मायादेवी गाउँपालिकामा खानको पार्टी प्रवेशले एमाले थप बलियो भएको बताए । तराईमा एमालेको जनलहरले सबैतिर उत्साह आएको उनको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार लाला लोधले यसअघि यहाँको स्थानीय सरकारले सम्झनलायक एउटा पनि काम नगरेको बताउँदै आफुले निर्वाचन जिते जनताले अनुभव पाउनेगरी काम गर्ने दावी गरे ।

यसअघि एमाले अध्यक्ष केपी ओली आफै रुपन्देहीको लुम्बिनीमा आएर ठूलो संख्यामा एमाले प्रवेश गराएका थिए भने एमाले उपाध्यक्ष विष्णु पौडेलले भैरहवामा प्रवेश गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर