आज मातातीर्थ औंसी, आमाको मुख हेरेर मनाइँदै – Nepal Press

आज मातातीर्थ औंसी, आमाको मुख हेरेर मनाइँदै

काठमाडौं। वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस वर्षको आमाको मुख हेर्ने औँसी शनिबार परेको छ ।

शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिता भन्दा पनि ठूली मानिएकी आमा प्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ ।

वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात मातृऔँसीका रुपमा समेत मनाउँछन् । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड सहित श्राद्ध तथा पुरोहितलाई सिदा दान सहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

आजको दिन दिवंगत आमाको सम्झनामा राजधानीको थानकोट मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्दछन् ।

आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नु पर्ने मान्यता समेत छ । सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ । यसले गर्दा मातातीर्थको आकर्षण बढाएको छ ।
रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर