नेपालका कम्युनिस्टहरू विचारशून्य सत्तालोलुप राजनीतिका उद्यमी हुन् : लोसपा – Nepal Press

नेपालका कम्युनिस्टहरू विचारशून्य सत्तालोलुप राजनीतिका उद्यमी हुन् : लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेपालका कम्युनिस्ट पार्टीहरू विचार शून्य सत्ता लोलुप राजनीतिको उद्यमी भएको टिप्पणी गरेको छ ।

स्थानीय निर्वाचनको घोषणापत्र मार्फत नेपालका राजनीतिक शक्तिहरूबारे धारणा दिने क्रममा लोसपा नेपालले नेपालमा कम्युनिस्ट पार्टीहरूको औचित्य साबित हुन नसकेको बताएको छ ।

‘नेपालका कम्युनिस्ट पार्टीहरू स्वरूपमा राजनीतिक दल देखिएता पनि यी विचार, आचरण, व्यवहारले आफूलाई सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी, संस्थागत रूपमै भ्रष्टाचारमा लिप्त, सत्ता लोलुप र सरकार र सत्तामा जान जे पनि गर्न सक्ने र जोसँग पनि मिल्न सक्ने तथाकथित उपल्लो जातिहरूको राजनीतिक उद्यम गर्ने सङ्गठनहरू हुन्’, घोषणापत्रमा उल्लेख छ ।

नेपालका कम्युनिस्ट पार्टीहरूमा केही जाति विशेषका पुरुषहरूको बाहुल्यता र वर्चस्व रहेको भन्दै लोसपाले ती पार्टीमा जातीय र नश्लीय सोच हाबी भएको आरोपसमेत लगाएको छ ।

घोषणापत्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपाललाई ‘कम्युनिस्ट पार्टी’ का रूपमा चित्रण गर्दै लोसपाले यी पार्टीहरू राष्ट्रिय विकासमा तगारो हाल्ने अग्रणी संगठन रहेको उल्लेख छ ।

‘नेपालका कम्युनिस्ट पार्टीहरू मुखले विकास भने पनि विकासलाई सधैँ अलपत्र पार्दै आएका दुई जिब्रे सङ्गठनहरू हुन्’, घोषणापत्रमा भनिएको छ ।

लोसपाले मुलुकको कुनै पनि तहको निर्वाचनमा कम्युनिस्ट पार्टीले प्राप्त गर्ने हरेक मत समावेशिता, विकास, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भावको विरोधमा स्वतः जाने दाबीसमेत गरेको छ ।

‘कुनै पनि तहको कुनै पनि निर्वाचनमा कम्युनिस्ट पार्टीहरूको समर्थनमा दिएको हरेक मत समावेशिताको विरोधमा, विकासको विरोधमा, राष्ट्रियताको विरोधमा, राष्ट्रिय अखण्डताको विरोधमा र सामाजिक सद्भावको विरोधमा स्वतः जाने निश्चित छ’, लोसपाले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर