आधुनिकताको आवरणमा गुम्सिएका हाम्रा सुन्दर मौलिक परम्परा – Nepal Press
नेपाल चिन्तन

आधुनिकताको आवरणमा गुम्सिएका हाम्रा सुन्दर मौलिक परम्परा

परेवाको मुकुरघुर्र घुर्र र भालेको पहिलो डाकसँगै उठ्ने मेरो गाउँ आजभोलि मोबाइलको आलाराम र सवारीसाधनको पिप पिपसँगै आङ तान्दै ब्युझिन्छ । चराको चिरबिर अनि घामको किरण जल, जमिन र जङ्गलमा पोखिनुअगावै मेलापात र घरघन्दाको चटारो खेपेको मेरो गाउँ आजभोलि १० बजेसम्म ढिकी लडेजसरी लडिरहन्छ ।

सहरले गाउँ चिन्न छोडेको धेरै भयो । हामी गाउँलेको काम, कर्म, जात वा धर्म अलग छन् । संस्कृति, परम्परा, रीति वा कुरीति पनि अलग छन् । पेसा, व्यवसाय थुप्रै होलान् । कतिका मन टाढा होलान् त कतिका मन नजिक होलान् । यो मानवीय स्वभाव पनि हो ।

सबैको सोच अलग–अलग छन् । मन पर्ने र नपर्ने मीठो र नमीठो, राम्रो वा नराम्रो हेर्ने दृष्टिकोण अलग छन् । फेरि पनि हामी एक छौं । एक हुन चाहन्छौं, विखण्डन मन पर्दैन । अन्याय, अत्याचार र थिचोमिचो सहन सक्दैनौं । एकापसमा दुःखसुख साटासाट गरेर मर्दा र पर्दा (नेपालीमा उखान नै छ, मर्दाका मलामी र जिउँदाको जन्ती) निःस्वार्थ हात अगाडि बढाएर सहयोग गरेकै छौं । यी नेपालीहरुका आफ्ना विशिष्ट पहिचान हुन् । यो अन्त कुनै मुलुकमा देख्न वा भोग्न पाइँदैन ।

यस्ता कतिपय विशिष्ट पहिचानहरु नयाँ पुस्तालाई अचम्म र अनौठा लाग्ला । विशेषतः पहाडमा मानिने चाडपर्वहरु दशैं, तिहार, उधौलीउभौली, जन्म र मृत्युका संस्कारहरु, विवाह, ब्रतवन्ध, मेलापात, झ्याउरे भाका र बाँसुरीका धुनहरु, गोठालेका कथाहरु, मारुनीका नाच, तिहारका सिमलबारुलै, धामीझाँक्रीका कलाहरु, वनस्पति र तिनका औषधीय गुणहरु, पधेँरीका अन्तरङ्ग कुरा, उकालीओरालीका ठट्टेलीहरु, सायद हाम्रो पुस्ता अन्तिम हुन सक्छ । जसले यो भोग्न र देख्न पायो ।

हाम्रो गाउँमा कहिल्यै पनि विवाह अथवा मर्दापर्दा लगाउने भोजभतेर बनाउन कालिगढ वा क्याटरिङको जरुरत परेन । गाउँले दाजुभाइ, दिदीबहिनी मिलेर सबैखाले गर्जो टार्थे ।

गाउँमा कसैको विवाह वा कसैको शुभकार्य हुन्छ । चटारो सुरु हुन्छ । सुरुमा हाक्पारे झ्याउरे गीत गाउँदै गाउँदै जङ्गलमा सालको पात वा भोर्ला या आफ्नो गाउँमा केको पात पाइन्छ, पछाडि डोको बोकेर पात टिप्दै उरन्ठेउला गफ गर्दै साँझमा घर फर्कियो । टपरी, दुना, बोती गाँस्न गाउँभरिका महिला दिदीबहिनी भेला भयो, दुःखसुखका गफ गर्दै टपरी गाँस्यो । रुवाको बाती काड्यो ।

चिउरा कुटाउन धान भिजायो । टाढा पानीघट्टामा चिउरा र तोरीको तेल पिस्न लग्यो । आउँदा बाटामा झमक्क साँझ पर्छ । जङ्गल वा कटेरामा खाना पकायो, खायो । आनन्दले सुत्यो । कसार बटार्न सबै भेला भयो । रमाइलो नाचगान गर्यो । यी सब हाम्रा गाँउको यथार्थ कथा र इतिहास हो । विवाहमा गाइने स्लोकहरु, खाडो जगाउने बुढापाकाहरु मरेसँगै हराएर जान थालेका छन् ।

यी हाम्रो परम्परा र संस्कृति लोप हुने खतरामा छ । गाउँमा सबैको घरबाट आफूसँग जे छ, लिएर जाने चलन हुन्छ । कोही दही बोकेर आउँछन् । कोही घ्यू त कोही केराको घरी । एकापसमा सरसहयोग दोहोरो चल्छ । भलै गाउँमा घर टाढा होलान् । तर, मन नजिक हुन्छन् । हाम्रो गाउँमा कहिल्यै पनि विवाह अथवा मर्दापर्दा लगाउने भोजभतेर बनाउन कालिगढ वा क्याटरिङको जरुरत परेन । गाउँले दाजुभाइ, दिदीबहिनी मिलेर सबैखाले गर्जो टार्थे । बारीको पाटामा बसेर चुहिने टपरामा झ्याप्प रस हालेर मासुको फिर्कोको चर्चा र कुराकानी, ‘तेरो भागमा कति वटा चोक्टा परो यार ? भान्से लास्टै कन्जुस रैछ, मलाई त चार वटा चोक्टामात्र परेको । तैनि हड्डी यार लास्ट झुर भो !’ कोही ‘कस्तो पीरो हालेको भोलि बिहान पाइखानामै बास हुने भयो नि, कम खाऊन् भनेर यस्तो गरेका होलान् । बरु नबोलाउनू नि’ भन्छन् । कोही हामी बाख्रा भए त बोकै खोज्नेथिम होला कति चर्को नून, हैट ! कोही जस्तो बनाएनि यो भान्सेलाई जस कैले हुँदैन, कसै न कसैले अब्जस लगाइहाल्छ, केही गरेनि सुख छैन । वई, त्यो रामे त दङदङ गनाउँदै आएको थियो यार, बाहुनको त यसले बैज्जत गर्यो छि ! आदि इत्यादि । तपाईं गाउँको परिवेशमा हुर्केको हुनुन्छ, झलझल्ती सम्झना आउँछ । यो सब हाम्रो गाउँको विशिष्ट पहिचान हुन् ।

यसमा लजाउनुभन्दा नि गर्व लाग्छ । शुभकार्यका दिन अधबैसे युवायुवती रातभरि दोहोरी खेल्ने र केटाले दोहोरी जिते तानेर लाने विवाह गर्ने चलन विशेषतः मगर जातिमा यस्तो परम्परा थियो । पछि यो चलन हटेर गयो । आजभोलि गाउँले ठेट लोकभाका नै लोप हुने स्थितिमा छ । यी र यस्ताउस्ता कुरा अबका नयाँ पुस्ताले देख्न र भोग्न कहिल्यै नपाउने भए । यो नेपालीको एउटा विशिष्ट पहिचान लोप हुने अवस्थामा छ ।

नेपाली समाजमा वैद्य (बैधे) को भूमिका परापूर्वकालदेखि नै महत्वपूर्ण रहँदै आएको र धामी, झाँक्री, वैद्यले पु¥याएको योगदान नेपाली समाजले कहिल्यै भुल्ने छैन । जङ्गली वनस्पति, झार, बुट्यान, लहरा, पोथ्रा, ढुङ्गा, माटो, विभिन्न औषधीय गुण भएका वनस्पति अबको पुस्तालाई कसले चिनाउने, कसले पढाउने ? कतिपय बोटविरुवाहरुको संरक्षण खाँचो थियो होला । कतिपय जडिबुटीका बोटविरुवाहरु लोप भएर गए होलान् ।

हाम्रो समाजमा औषधिको नाम अरुले थाहा पायो भने त्यसको प्रभाव कम हुने रुढिवाढी कथनले गर्दा हाम्रा अग्रजहरुले आफूसँग भएको ज्ञान र सीप आफ्ना सन्तति वा नयाँ पुस्तालाई हस्तान्तरण नगरी आफूसँगै मरेर लैजानुभयो । यो हामी नेपाली नयाँ पुस्ताको लागि ठूलो विडम्बनाको कुरा हो । मलाई अझै पनि याद छ, पुसको महिना हुनुपर्छ, खर काट्दै गर्दा मेरो बाबालाई हरेउ हरियो सापले टोक्यो । छिमेकी सापकोटा बा हुनुहुन्थ्यो । उहाँले विभिन्न जडिबुटीको मिश्रणको लेपन लगाएर निको पार्दिनु भयो । हस्पिटल एकदम कम हुन्थे । कतिपय बिरामी अस्पताल लाँदालाँदै बाटैमा मृत्युवरण हुने खतरा रहन्थ्यो । गाउँभन्दा टाढाका सुविधासम्पन्न अस्पताल पुग्न २–४ दिन लाग्थ्यो । त्यस्तो बिकराल अवस्थामा गाउँका वैद्यहरु गाउँलेहरुलाई भगवान भएर प्रकट हुन्थे । सबै कुराका दुई पाटा हुन्छन्, राम्रा र नराम्रा ।

नेपाली समाजमा वैद्य (बैधे) को भूमिका परापूर्वकालदेखि नै महत्वपूर्ण रहँदै आएको र धामी, झाँक्री, वैद्यले पुर्याएको योगदान नेपाली समाजले कहिल्यै भुल्ने छैन । जङ्गली वनस्पति, झार, बुट्यान, लहरा, पोथ्रा, ढुङ्गा, माटो, विभिन्न औषधीय गुण भएका वनस्पति अबको पुस्तालाई कसले चिनाउने, कसले पढाउने ? कतिपय बोटविरुवाहरुको संरक्षण खाँचो थियो होला । कतिपय जडिबुटीका बोटविरुवाहरु लोप भएर गए होलान् ।

मैले सकारात्मक कुरालाई फोकस गर्न चाहे । खै, कुन अदृश्य शक्ति थियो झाँक्रीमा, बिरामी झारफुकले ठीक पार्थे । हुन त विश्वासको कुरा नि होला सिकिस्तै भएर आएका बिरामी सकुशल हाँसीहाँसी घर फर्कन्थे । दैव जानून् मानिस ठीक भएर जान्थे । कतिपय चोटहरु आमाका फुले निको हुन्थे त कतिपय घाउहरु बाका पिटाइले भरिन्थे । जे होस्, हाम्रा पुर्खाहरु कोही डाक्टर थिए, कोही इञ्जिनियर, कोही सिकर्मी त कोही डकर्मी, कोही कुचीकार त कोही हातहतियार बनाउन पोख्त । हाम्रा पुर्खाले कुनै स्कुल वा विश्वविद्यालय गएर यी सीप सिकेका थिएनन् । उनीहरुले पुस्ताबाट पुस्ता हुँदै सिकेका र सिकाएका सीप थिए । एक पुस्ताबाट अर्को पुस्तालाई यस्ता महत्वपूर्ण सीप हस्तान्तरण गरेका थिए । हलो, जुवा, जोतारो, फेसो, पाटो, अनौ, फालि, कुटो, कोदालो, हँसिया, खुकुरी, डोको, नाम्लो, दाम्लो, नाङ्लो, डालो, घूम, ढिकी, जाँतो, ओखल र धान, मकै, कोदो पिस्ने पानी घट्टा आदि इत्यादि आज कुन पुस्ताले यसबारे सोचेको होला र ! यी हाम्रा पुर्खाहरुले छोडेर गएका नासो हुन् ।

यस्ता सीपहरुको जगेर्ना गर्नु हामी युवाहरुको कर्तव्य हो । ठेकी कुँद्ने सिकर्मीहरुको सीप खै आज कुन पुस्ताले जानेका होलान् र ! दही फिटेर मही र घिउ बनाउन प्रयोग गरिने मदानी इलेक्ट्रिक मिक्चरले विस्थापित गरिदियो । हाम्रो संस्कृति र परम्परा विस्तारै लोप हुने स्थितिमा छ । योसम्बन्धी चासो र चिन्ता विशेषतः नयाँ युवा पुस्तामा नदेखिनु दुर्भाग्यपूर्ण छ । गाउँघरमा परम्परागत प्रविधिमा आधारित तोरी, ऊखु, चिउरी, अमिलो पेल्ने परम्परागत कोल लोप हुने स्थितिमा छ । सहरभन्दा बिलकुल फरक छ गाउँ ।

घाटसम्म लास पुर्याउन शवबहानको सुविधा हुँदैन । बाँसको घारो बनाउनुपर्छ । नयाँ पुस्ताले बाँसको घारो बनाउन जान्दैनन् । सिकाउनलाई पनि समस्या । नयाँ पुस्ता गाउँ बस्नै मान्दैन । युवाहरु कि वैदेशिक रोजगारीका लागि विदेश पस्ने वा सहरमा फस्ने हुनाले गाउँमा कसैको मृत्यु भएमा घाटसम्म पु¥याउन नै समस्या भएको गाउँका बुढापाका बताउँछन् । यस्ता चिजहरु नेपालमा भन्दा अन्त कहीकतै पाइँदैन र यी चिजहरु बिस्तारै लोप हुने अवस्थामा पुगेको स्थिति छ हामीले यी घरायसी लोपोन्मुख चिजहरुको संरक्षण र पुस्ता हस्तान्तनण गर्न एकदम जरुरी छ ।

पहाड गाउँका कथाहरु कथा नभएर एउटा इतिहास हो । पूर्वी पहाडका जिल्लाहरुबाट नून बोक्न हिलेदेखि धरानसम्म पाँच–सात दिन लगाएर आउनुपर्ने बाध्यता, परिवार पाल्नकै लागि भारत भाग्नुपर्ने विवशता र नून बोक्न धरान आउने क्रममा ढाकर फ्यालेर मलाया, भारत र ब्रिटिस लाहुरे भएका कथा इतिहास हो । गाउँमा शक्तिशालीहरुका कथा, निनिहहरुका व्यथा महाजन र गरिबबीच भेदभाव, जबरजस्ती लादिएका नियमहरु, गाउँ–ठाउँ परम्परा, कु–संस्कार र कु–संस्कृति, छूवाछूत र कथित समाजको आफ्ना नियमहरु कसरी परिमार्जित र परिस्कृत हुँदै आए, यो हाम्रो समाजको विकासक्रमसँगै नयाँ पुस्तालाई थाहा हुन जरुरी छ ।

हाम्रा पुर्खाले कुनै स्कुल वा विश्वविद्यालय गएर यी सीप सिकेका थिएनन् । उनीहरुले पुस्ताबाट पुस्ता हुँदै सिकेका र सिकाएका सीप थिए । एक पुस्ताबाट अर्को पुस्तालाई यस्ता महत्वपूर्ण सीप हस्तान्तरण गरेका थिए । हलो, जुवा, जोतारो, फेसो, पाटो, अनौ, फालि, कुटो, कोदालो, हँसिया, खुकुरी, डोको, नाम्लो, दाम्लो, नाङ्लो, डालो, घूम, ढिकी, जाँतो, ओखल र धान, मकै, कोदो पिस्ने पानी घट्टा आदि इत्यादि आज कुन पुस्ताले यसबारे सोचेको होला र ! यी हाम्रा पुर्खाहरुले छोडेर गएका नासो हुन् ।

गाउँसमाज छरछिमेकी अव्यवस्ता र व्यवस्था फेर्न र फेरिन कसको कति भूमिका रह्यो, नेपाली समाजको विशिष्ट परिस्थिति बुझ्न हामीले हाम्रो समाजको रीति, कुरीति, संस्कृति, परम्परा बुझ्न एकदम जरुरी छ । यो हामीले पुर्खाबाट सिकेर हामी र हाम्रो समाजका नराम्रा कुराहरुलाई विस्तारै निरुत्साहित गर्दै राम्रा रीति र कुराहरुलाई आत्मसात गर्दै अगाडि बढ्नु आजको युवाको आवश्यकता र जिम्मेवारी हो ।

हाम्रो गाउँ समाजमा खेलिने रैथाने खेलहरु लोप हुने स्थितिमा छन् । ठूल्ठूला चिल्ला ढुंगामा खरी ढुंगाले कोरेर बनाएका बुद्धिचाल, बाघचालहरु, घाँसदाउरा गोठालो जाँदा बजाइने पातका मीठा धुनहरु, डन्डिबियो, पिट्टु, लुकीडुम, रुमाल लुकाइ, भाले जुधाइ, तीतेपातीको मुनाको चुँगी, गोरु जुधाइ जस्ता रैथाने खेलहरु मोबाइलको पब्जी, फायरफाइटिङ र अन्य एप्सहरुले विस्तारै विस्थापित गर्दै लगेको महसुस हुन्छ । यस्तो हुन नदिन सबै युवा र बुढापाका सचेत भएर संरक्षणमा लाग्न जरुरी छ ।

खान मिल्ने वा नमिल्ने जंगली फलफूलहरुको पहिचान गर्न, काठपातका विशेषताहरु थाहा पाउन पुर्खाहरुको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्न अति आवश्यक छ । अँध्यारोलाई पन्छ्याउँदै उज्यालोलाई डाक्ने रेडियो नेपालबाट बिहानी पख प्रशारण हुने शंखध्वनि र ‘यो रेडियो नेपाल हो अब सुन्नुहोस् पूरा समाचार’ भन्ने आवाज खै आजभोलि कसले सुनेको होला ? बिहानै उठेर खेतबारी र जंगल गएर एकभारी घाँस काटेर डोको फुत्त फ्यालेर हस्याङफस्याङ गर्दै मकैको खोले र कोदाको ढिँडो वा जे घरमा पाकेको छ, खाएर टाढाको स्कुल जाँदा जत्तिको खुसी खै आज धानैको चामलको भात खाएर करेसाबारीको क्याम्पस जाँदा मिलेको छ कि छैन होला ?

नेपाली समाज आफ्नै विशिष्ट किसिमका परिकारहरु बनाउने र एकापसमा आदानप्रदान गर्ने चलन छ । विशेषगरी नेपालमा मनाइने विभिन्न चाडपर्वहरुमा पकाइने रोटी, अर्सा, अनर्षा, कुराउनेहरु आजभोलिका युवायुवतीलाई एकादेशको कथा जस्तो भएको छ ।

सहरभन्दा बिलकुल फरक छ गाउँ । घाटसम्म लास पुर्याउन शवबहानको सुविधा हुँदैन । बाँसको घारो बनाउनुपर्छ । नयाँ पुस्ताले बाँसको घारो बनाउन जान्दैनन् । सिकाउनलाई पनि समस्या । नयाँ पुस्ता गाउँ बस्नै मान्दैन । युवाहरु कि वैदेशिक रोजगारीका लागि विदेश पस्ने वा सहरमा फस्ने हुनाले गाउँमा कसैको मृत्यु भएमा घाटसम्म पुर्याउन नै समस्या भएको गाउँका बुढापाका बताउँछन् ।

गाउँघरमा मरेका गाई, बाख्रा, गोरु, भैंसीका छालाबाट बनाइने झोला, जुत्ता, चप्पल, खुकुरी राख्ने दाप सिलाउन जान्नेहरुको मृत्यु भएसँगै त्यो सीप पनि मरेर जाने चुनौतीलाई स्थानीय सरकारले गम्भीरतासाथ सोच्नपर्ने हुन्छ । यस्ता काम जसले गर्ने गर्थे, तिनीहरुका छोरानातिले यो तल्लो जातले गर्ने काम हो भनेर हीनताबोध गर्ने र अरु कसैले यो काम सिक्न हिम्मत नगर्ने र यस्ता कामलाई व्यवसायीकरण गर्न नसक्ने हो भने हामी नेपालीसँग मात्र भएका यस्ता विशिष्ट किसिमका सीपहरु लोप भएर जाने निश्चित छ ।

तराई भेगमा मनाइने र बनाइने विभिन्न संस्कृति र परिकारहरु, लगाइने पोशाक र बोलिने भाषाहरु, बीउबिजन र उत्पादनका तौरतरिकाहरु आजभोलि सबै विस्थापित हुँदैछन् । आफ्नो ठ्याक्कै ठेट आफ्नो लाग्न छाडिसकेको छ । पश्चिमा देशको प्रभाव र अनुशरणले गर्दा हामी आफ्नो धर्म, भाषा, संस्कृति, समाज, परम्परा, रीतिरिवाज सबै भुल्दै जाँदैछौ । यो हामी र हाम्रा पछिल्ला पुस्तालाई निकै महङ्गो पर्ने निश्चित छ । भाषा आयोगको प्रतिवेदन २०७७ का अनुसार हाम्रो देश नेपालमा बोलिने भाषाहरुको सङ्ख्या १३१ पुगेको छ । नेपालमा बोलिने लोपोन्मुख भाषाहरु ४७ छन् । तिनीहरुको लिपि पनि नभएको र भाषाको प्रयोगकर्ता पनि एकदमै कम भएको हुँदा बेलैमा सबैको ध्यान त्यता नगए, भाषा पुस्तान्तरण नभए कतिपय भाषाहरु लोप भएर जाने खतरा छ ।

अतः सामाजिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक सबै अनुभव पुरानो पुस्ताबाट नयाँ पुस्तालाई हस्तान्तरण गर्दै लाने हो भने हाम्रोसामु खडा भएको पुस्ता हस्तान्तरणको चुनौती केही हदसम्म समाधान हुने थियो । हाम्रा अग्रजहरुले पनि आफूसँग भएका सीप, ज्ञान र दक्षता नयाँ पिढीलाई सिकाउँदै जानुपर्ने दायित्व र कर्तव्य भुल्नु हुने छैन भन्ने विश्वास लिएको छु ।

(इटहरी– ५ सुनसरी निवासी लेखक नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय सुनसरीमा कार्यरत छन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.