काठमाडौंको मेयरमा उठ्ने तयारी गरेका रमेश खरेल पछि हटे, अब संसदीय चुनाव लड्ने घोषणा – Nepal Press

काठमाडौंको मेयरमा उठ्ने तयारी गरेका रमेश खरेल पछि हटे, अब संसदीय चुनाव लड्ने घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेका नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेल ब्याक भएका छन् । आफ्नो पार्टीले मेयरमा उठ्न म्यान्डेट नदिएको उनले बताए ।

खरेलले आफ्नै नेतृत्वमा सुशासन पार्टी गठन गरेका छन् । सोही पार्टीको तर्फबाट काठमाडौंमा मेयरमा लड्न लागेको समाचारहरु मिडियामा आएका थिए । खरेलले भने घोषणा गरिसकेका थिएनन् ।

‘मैले पार्टीका साथीहरुसँग सल्लाह गर्दा मेयरमा उठ्नुभन्दा सांसदमा उठ्नु ठिक हो भन्ने धेरैले राय दिनुभयो,’ खरेलले नेपाल प्रेससँग भने, ‘त्यसैले स्थानीय चुनावमा नउठ्ने निधो गरेको हुँ ।’

महानगरपालिकाको मेयर एउटा सिमित दायरामा बाँधिनुपर्ने र २४सै घन्टा खटिनुपर्ने भएकाले पनि यो पद आफ्नो लागि उपयुक्त नहुने निस्कर्षमा पुगेको उनले बताए ।

‘सांसद भएँ भने देशव्यापी संगठन विस्तार गर्न पनि सकिन्छ, तर मेयर हुँदा सानो दायरामा बाँधिन्छ भन्ने कुरा साथीहरुले गर्नुभयो तर मलाई पनि ठिकै लाग्यो,’ खरेलले भने ।

संसदको चुनाव लड्ने निश्चित भए पनि कहाँबाट लड्ने भन्ने निर्णय लिन बाँकी रहेको उनको भनाइ छ । ‘म भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध अभियानमा छु,’ उनले भने, ‘जुन निर्वाचन क्षेत्रमा नामुद भ्रष्टाचारी र ठगले उम्मेदवार दिन्छन्, त्यसैबाट लड्छु ।’

उनले काठमाडौंको कुनै पनि निर्वाचन क्षेत्रबाट संसदीय चुनावमा उम्मेदवार दिन सक्ने बताए । महानगरको चुनावमा आफनाे पार्टीले उम्मेदवारी दिनुभन्दा अरु कुनै उम्मेदवारलाई समर्थन जनाउन सक्ने उनले संकेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर