म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट नहुने सम्भावना बढ्यो, तनावमा रोनाल्डो – Nepal Press

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट नहुने सम्भावना बढ्यो, तनावमा रोनाल्डो

लण्डन । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगको आगामी सिजन छनोट हुने सम्भावना थप कमजोर बनेको छ।

आर्सनलको मैदानमा भएको खेलमा म्यान युनाइटेड ३-१ गोलले पराजित भयो। म्यान युनाइटेडले पछिल्ला चार लिग खेलमा तेस्रो हार ब्यहोरेको हो। पछिल्ला लगातार दुई खेलमा उसले हार ब्यहोरेको छ। अघिल्लो खेलमा लिभरपुलले म्यान युनाइटेडलाई ४-० गोलले हराएको थियो।

घरेलु लिगको अंक तालिकामा ३४ खेलबाट ५४ अंक भएको म्यान युनाइटेड छैटौँ स्थानमा रहेको छ। ३३ खेलबाट ५८ अंक भएको टोट्टनहाम पाचौँमा छ। चौथो स्थानमा रहेको आर्सनलको ३३ खेलबाट ६० अंक छ। इङ्लिस प्रिमियर लिगका शीर्ष चार टोली युरोपियन च्याम्पियन्स लिगका लागि छनोट हुन्छन्। प्रिमियर लिगका पछिल्ला चार खेलमा जित हात पार्न नसकेको म्यान युनाइटेडको यो प्रदर्शनबाट सबैभन्दा बढी तनावमा टोलीका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेका छन्।

१२ वर्षपछि आफ्नो पुरानो क्लबमा फर्किएका रोनाल्डोले सन् २००३/०४ यता युरोपियन च्याम्पियन्स लिगका कुनैपनि सिजन गुमाएका छैनन्। उनी च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् भने सबैभन्दा बढी उपाधि जित्ने खेलाडी पनि हुन्।

म्यान युनाइटेडले यो सिजन घरेलु लिगका बाँकी सबै चार खेल जितेपनि च्याम्पियन्स लिगमा छनोट हुन निकै गाह्रो देखिन्छ। सन् २००२/०४ देखि ६ सिजन म्यान युनाइटेडबाट खेलेका रोनाल्डो ९ सिजन रियल म्याड्रिड र तीन सिजन युभेन्ट्सबाट खेल्दै यसै सिजन म्यान युनाइटेडमा पुन फर्किएका हुन्। उनले जारी सिजन क्लबका लागि ३५ खेलमा २२ गोल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर