कपिलवस्तुको वाणगंगामा कांग्रेस-माओवादी सिंगल भिड्ने, जनमोर्चा-जसपा र नेकपा एसको बेग्लै गठबन्धन – Nepal Press

कपिलवस्तुको वाणगंगामा कांग्रेस-माओवादी सिंगल भिड्ने, जनमोर्चा-जसपा र नेकपा एसको बेग्लै गठबन्धन

रुपन्देही । कपिलवस्तुको सबैभन्दा ठूलो नगरपालिका वाणगंगामा पाँच दलीय गठबन्धन भत्किएको छ । यहाँबाट कांग्रेस, माओवादीको गठबन्धनबाट तीन दल अलग भएर नयाँ तीन दलबीच चुनावी तालमेल हुने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) वाणगंगा नगर कमिटीको कार्यालयमा शनिबार बसेको बैठकले राष्ट्रिय जनमोर्चालाई मेयर र एकीकृत समाजवादीलाई उप मेयरमा उठाउने गरी चुनावी तालमेल भएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य नारायण खनालले जानकारी दिए।

केन्द्रीय सत्ता गठबन्धनका ५ दलबीच पटक–पटक वार्ता भएपनि कांग्रेसले चुनावी तालमेलका लागि अनिच्छा देखाएपछि वाणगंगामा तीन दल एक भएर चुनाव लड्ने घोषणा गरेका हुन् । वाणगंगामा कांग्रेसले एक्लै चुनाव लड्ने अनौपचारिक रुपमा बताउँदै आएपनि शनिबार औपचारिक रुपमै एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको जनाइएको छ ।

यता नेकपा (माओवादी केन्द्र)ले वाणगंगामा एक्लै चुनाव लड्ने बताउँदै आएको छ । कांग्रेससंग औपचारिक, अनौपचारिक संवाद गर्दै आएको माओवादीले शनिबार आफ्नो दल एक्लै चुनाव लड्ने गरी तयारी गरेको जनाएको छ । स्रोतका अनुसार माओवादीले आफ्नो जनमत रक्षाका लागि एक्लै चुनावमा होमिन लागेको हो ।

वाणगंगामा ०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । ११ वडा रहेको वाणगंगामा एमाले एक्लैले उपमेयरसहित ७ वडामा चुनाव जितेको थियो ।

एमालेको बलियो पकड मानिँदै आएको वाणगंगामा ०७४ को स्थानीय तहमा कांग्रेसले मेयरसहित ३ वडामा चुनाव जित्दा माओवादी उपमेयरसहित पराजित भएको थियो । यद्यपि वडा नम्बर ११ मा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भंग हुँदा माओवादीका उम्मेद्वारले चुनाव जितेर सबैलाई चकित पारेका थिए ।

शनिबार भएको एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाबीच भएको चुनावी तालमेलमा समग्र वाणगंगाको विकासका लागि साझा घोषणापत्रसहित उम्मेदवार दिने सहमति गरेका छन् । ११ वडामा ५ वडामा राष्ट्रिय जनमोर्चा, तीन, तीन वडामा एकीकृत समाजवादी र जसपाले उम्मेदवार उठाउने छन् ।

केन्द्रीय गठबन्धनको मर्मकै पक्षमा रहेको बताउँने तीन दलले बाध्य भएर आफुहरु चुनावी प्रक्रियामा सहभागी हुन थालेको जनाएका छन् । ठूला दलहरुको आफ्नै ढिपीका कारण चाहेर पनि गठबन्धन हुन नसकेको बताउँदै मनोनयन दर्ताको समयसम्म कुनै सहमति भए छलफल गर्न सकिने उनीहरुको भनाइ छ ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले वाणगंगामा ५ दलीय गठबन्धन गर्नका लागि विभिन्न छलफल भएपनि त्यो निष्कर्षमा पुग्न नसकेको बताए । गठबन्धन विशेष परिस्थितिले बने पनि यसको मर्म बुझ्न कांग्रेसले नसकेको अध्यक्ष आचार्यले बताए । यद्यपि चुनाव संघर्षकै एक रुप भएकाले आफुहरु मिल्न सक्ने दलहरु बीच चुनावी तालमेल गरेको उनले जनाए ।

एकीकृत समाजवादीका जिल्ला उपसचिव कमल भट्टराईले तीन दलीय गठबन्धनलाई वाणंगाबासीले आफ्नो मत दिएर जताउनेमा आफूहरु विश्वस्त रहेको बताए ।

यता एकीकृत समाजवादीले शनिबार मात्र वाणगंगामा उपमेयरसहित उम्मेद्वारी टुंङ्ग्याएको छ । कमल भट्टराईलाई वाणगंगामा उपमेयर उठाई चुनावी प्रक्रियामा सामेल हुने निर्णय भएको उक्त पार्टीका नगर अध्यक्ष दीपक पन्थीले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर