भरतपुरमा सत्ता गठबन्धनका मेयरले नजिते के हुन्छ ? – Nepal Press

भरतपुरमा सत्ता गठबन्धनका मेयरले नजिते के हुन्छ ?

अन्तको कुरो त मलाई थाहा भएन । तर भरतपुर महानगरपालिकाको हकमा नेपाली कांग्रेसको यो धम्की नाजायज अनि हाँस्यास्पद छ । आफ्ना कार्यकर्ता अनि शुभेच्छुकलाई लगातार कांग्रेसको विपरीत सिद्धान्त बोक्ने पार्टी अनि उसको चुनाव चिह्नमा मत हाल्न जबरजस्ती गर्नु कुनै पनि कोणबाट सही ठहर्दैन ।

चाहे गठबन्धनका नाममा लादिएको निर्णय होस् वा कारबाहीको धम्की । कांग्रेस क्याडर बेस पार्टी होइन । यो मास बेस पार्टी हो । पार्टीका संगठित सदस्यभन्दा मतदाता धेरै भएको पार्टी हो कांग्रेस ।

यस्तोमा उसको गलत निर्णय र आदेश पार्टीका संगठित सदस्यबाहेकका शुभेच्छुकका लागि बाध्यकारी हुँदैन । र, हुने पनि छैन । हेक्का रहोस् गठबन्धनका शीर्ष नेताहरुलाई । मतदाता सबै दास हुन्, उनीहरुले हामीले भनेको हर कुरो शीरोधार्य गर्छन् भन्ने भ्रमबाट मुक्त हुनु जरुरी छ ।

भरतपुरका कांग्रेस र उसका शुभेच्छुक मतदाता गठबन्धनको खिलापमा किन ?

स्वाभाविक छ । अघिल्लो पटक हामीले सघायौँ । यस पटक उनीहरुले हामीलाई प्रमुख पद छाड्नुपर्छ । आलोपालोको सिद्धान्तअनुसार पनि यो मनोभावना जायज छ । अझ भरतपुरमा त एक्लै लड्दा पनि बाजी मार्ने पार्टी कांग्रेस र उसका समर्थकका लागि रुख चिह्नधारी मेयर प्राप्त गर्नु प्रतिष्ठाको सवाल पनि बनेको छ ।

जसका कारण यो प्रतिस्पर्धा अति पेचिलो पनि बनेको छ । कांग्रेस जिल्ला कार्यसमितिको निर्णय, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको चर्को असन्तुष्टि, भरतपुर कांग्रेसको २९ वटै वडाका सभापतिहरुको सार्वजनिक असन्तुष्टि, केही वडामा भएका सामूहिक राजीनामा, सामूहिक राजीनामाको चेतावनी र मेयर–उपमेयरका ४ दर्जन बढी आकांक्षी ।

यी सबै तथ्य नै काफी छ कि भरतपुरमा सत्ताधारी गठबन्धनको अवस्था धरापमा पर्ने खतरा ज्यादा छ । २०७४ को जस्तै ।

पार्टीको जिल्ला कार्यसमिति प्राविधिक रुपमा केन्द्रको निर्णय मान्न बाध्य होला । तर, गोप्य मतदान गर्ने मतदाता बाध्य हुने छैनन् । केन्द्रले जिल्लालाई गठबन्धनको पक्षमा लाग्न बाध्य पार्न सक्ला ।

तर, मतदातालाई सक्दैन । मेयरमा कांग्रेसको उम्मेदवार भए मत हाल्ने अन्यथा विकल्प खोज्ने मतदाताको अन्तरआत्माको निर्णयलाई केन्द्र त के महाकेन्द्रको आदेशले पनि बदल्न सक्ने हैसियत नराख्ने प्रस्ट देखिन्छ ।

यस्तोमा गठबन्धनविरोधी अन्य पार्टीका उम्मेदवारले फाइदा उठाउने घाम जत्तिकै छर्लङ्ग छ । विपरीत परिणाम आउँदै गर्दा कतिलाई कारबाही गर्ने भन्नेमै पार्टी अलमलिने र नेतृत्व संकटमा पर्ने पूर्वानुमान लगाउन सकिन्छ ।

फेरि माओवादी जिताउँदा भरतपुरमा कांग्रेस सकिन्छ ?

यो प्रश्नको उत्तर धेरै कांग्रेसीहरुले जिल्लामा भएका विभिन्न कार्यक्रममा दिइसकेका छन् । उनीहरु भन्छन्, ‘हो, सकिन्छ ।’ अर्को पटक उसले एक्लै लड्ने हैसियत बनाउनेछ । र, कांग्रेसकै उम्मेदवार हराउनेछ । जति जे गरे पनि रुख चिह्नधारी उम्मेदवार नहुने भएपछि कार्यकर्ता नै तितरबितर हुनेछन् ।

जसको प्रत्यक्ष फाइदा मुख्य रुपमा माओवादी केन्द्रले नै उठाउनेछ । किनकि सत्ता र शक्ति उसैको हातमा छ । विशेषतः माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको राजनीतिक भविष्य सुनिश्चित गर्न भरतपुर महानगरका कांग्रेसीहरुको दोस्रो पटक बलि दिने सभापति देउवाको रणनीति मतदातालाई पटक्कै मन परेको छैन ।

पार्टीभित्रैका प्रभावशाली नेताहरुले पनि यसमा गम्भीर आपत्ति जनाइसकेका छन् । कांग्रेसीहरुले हरेक दिन चिया पिउने भरतपुरको एक चिया दोकानमा पनि यसबारे चिन्ता गरेको सुनिन्छ । सचेत कार्यकर्ता र चलाख मतदाता रहेको भरतपुरमा लगातार केन्द्रीय निर्णय लाद्नु पार्टी पतनको प्रस्थान विन्दु हुन्छ भन्नेमा न कोही कांग्रेसीको दुईमत छ न त शुभेच्छुको नै ।

भरतपुरको मेयर सत्ता गठबन्धनले नजिते के हुन्छ ?

सायद यो प्रश्नको उत्तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मात्रै छ किनकि भरतपुरको मेयर र प्रधानमन्त्रीको कुर्ची एकापसमा जोडिएको छ । अघिल्लो पटक कांग्रेससँग गठबन्धन हुँदाहुँदै पनि मत पत्र च्यातेर आफ्नी छोरी रेणु दाहाललाई कनिकुथी जिताउन परेपछि उनले कांग्रेससँगको गठबन्धन त्यागेर एमालेसँग मिलेका थिए ।

त्यो दृष्टान्त केलाउँदा यसपालि पनि सोही घटनाक्रम दोहोरिने पक्का छ । भरतपुरको मेयर हराउँदा बाँकी चुनावमा आफ्नै चिह्नमा मत हाल्न पाउने सुनिश्चितता देखेका मतदाताले के गर्लान् ?

अनुमान सहजै लगाउन सकिन्छ कि भरतपुरको मेयर माओवादीले हारे गठबन्धन टुट्नेछ । यस्तो यथार्थबीच भरतपुरमा रहेका कांग्रेसका संगठित मतदाता र शुभेच्छुक केन्द्रबाट लादिएको निर्णयविरुद्ध लाग्न सक्नेछन् । यस्तोमा सकस अत्यधिक बढ्नेछ ।

कांग्रेसमा बढ्दो असन्तुष्टिको फाइदा एमालेलाई

कांग्रेसमा भरतपुरको मेयरको उम्मेदवारलाई लिएर बढ्दो असन्तुष्टिको प्रत्यक्ष फाइदा एमालेलाई हुन सक्छ । मेयरमा आफ्नो चिह्न नभएपछि क्रुद्ध हुने मतदाताले प्रतिशोधका लागि पनि एमालेका उम्मेदवारलाई मत हाल्न सक्ने देखिन्छ ।

कतिपय कांग्रेसका स्थानीय नेताहरुले त सामाजिक सञ्जालबाटै एमालेका उम्मेदवार विजय सुवेदीलाई बधाई दिइसकेका छन् । अघिल्लो पटक कांग्रेस–माओवादी मिलेर चुनाव लड्दा र मतपत्र च्यात्दा पनि माओवादी उम्मेदवार रेणु दाहालले २०३ मत अन्तरले मात्रै चुनाव जितेकी थिइन् । अब आफै अनुमान लगाउनुस्, भरतपुरमा एमालेको शक्ति ।

तर, विडम्बना नेपाली कांग्रेसको गलत निर्णयका कारण एमालेले फाइदा उठाउने प्रशस्त सम्भावना देखिन्छ । उसो त एमालेका उम्मेदवार विजय सुवेदी पनि आफैमा लोकप्रिय अनि विवादरहित नेता हुन् ।

(१५ वर्षदेखि पत्रकारितामा सक्रिय लेखक सापकोटा चितवन क्षेत्र नम्बर ३ र भरतपुर महानगरपालिका मतदाता हुन् ।)


प्रतिक्रिया

2 thoughts on “भरतपुरमा सत्ता गठबन्धनका मेयरले नजिते के हुन्छ ?

  1. बागी उठाएर सबै काँग्रेसले भाेट खन्याईदिएर बागीलाई जिताउनुहाेस । काँग्रेसले पार्टी प्रवेश गराउँछ जितेकाे भाेलिपल्ट । आँट गर्नुहाेस काँग्रेसजनहरू । अहिले रेणुलाई भाेट, त्यसपछि रेणुका बालाई भाेट अनि रूखमा चाहिँ कहिले हाल्ने ? काँग्रेस सिध्याउने ?

    1. स्वतन्त्र काङ्ग्रेस उम्मेदवार उठ्नेवाला छन्।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर