घोपा क्याम्पमा सुदिन ल्याउन लागिपरेका सुदन – Nepal Press

घोपा क्याम्पमा सुदिन ल्याउन लागिपरेका सुदन

काठमाडौं । २०७२ सालको भुकम्प अगाडिसम्म उनको दैनिकी र पहिचान दुबै फरक थियो । काठमाडौंको ठमेलमा क्लब चलाउँथे । मोजमस्ती र रमझम गर्न औधी रुचाउने सुदन देशका विभिन्न ठाउँहरुमा गएर पार्टी आयोजना गर्थे ।
उनी आफैं डिजे पनि हुन् । आफ्नै मस्त जीवनमा व्यस्त सुदनको जीवनमा व्यापक परिवर्तन तब आयो जब देशले २०७२ मा विनाशकारी भुकम्पको सामना गर्नुपर्‍यो ।

अघिल्लो रात पार्टी गरेर केही उपद्रो मचाएका आफ्ना साथीहरुलाई छुटाउनका निमित्त प्रहरी कार्यालय पुगेका सुदन प्रहरी कार्यालयमै रहँदा देशमा भुकम्प आयो । भुकम्पले कोलाहाल मच्यायो । ज्यान बचाउनका निमित्त मानिसहरु बाटोमा तँछाडमछाड गर्न थाले । भिडसँगै उनी पनि बाटोमा निस्किए । सोही समयमा उनको आँखा पर्‍यो, भाग्ने क्रममा लडेर रगताम्मे भएका एक व्यक्तिमाथि ।

उनले ती व्यक्तीलाई आफैंले अस्पातल पुर्‍याउने निधो गरे । घाइतेलाई अस्पतालको आकस्मिक कक्षमा छोडेर फर्किन लाग्दा उनको आँखा पुग्यो आफ्नो सन्तानलाई काखमा चेपेर रोइकराई गर्दै अस्पतालतर्फ कुदिरहेकी एक महिलामा । उनी ती महिलाको नजिक पुगे ।

उनको काखबाट बालकलाई आफ्नो काँधमा लिएर हतार–हतार आकस्मिक कक्षतर्फ कुदे । तर बिडम्बना आकस्मिक कक्ष पुगिनसक्दै उनले केही चिसो महसुस गरे । बालकको हातखुट्टासँगै उनको आत्मबल पनि फत्रक्क गल्यो । डाक्टरले बालकलाई मृत घोषणा गरिदिए । यो घटना सम्झिदा अझै पनि उनको बोलीमा गाँठो परेर आउँछ ।

सोही घटना उनको जीवनमा एउटा टर्निङ प्वाइन्ट बन्यो । उनले समाजसेवामा होमिने निर्णय गरे । आफ्नो इन्स्टाग्राममार्फत सहयोग अभियानमा जोडिन युवाहरुलाई अपिल गरे । उनकै नेतृत्वमा युवाहरुले भुकम्पको समयमा वीर अस्पतालमा आकस्मिक कक्षको निर्माणदेखि राहत वितरणसम्मका कार्य गरे । निस्वार्थ सेवा गर्नका लागि तम्तयार युवाहरुको साथ पाएपछि हौसला पाएका सुदनले भविष्यमा पनि यस्ता कामहरुलाई निरन्तरता दिने मनसाय बनाए । अनि जन्म भयो गैरनाफामूलक संस्था ‘हामी नेपाल’ को ।

कोभिड महामारीदेखि मेलम्चीको बाढीसम्म सुदनको नेतृत्वमा यस संस्थाले निकै कामहरु अघि बढाइसकेको छ । हालसम्म यो संस्थामा ८ हजारभन्दा बढी युवा स्वयम्सेवक जोडिइसकेका छन् । सुरुमा समाजसेवालाई नै मुख्य एजेण्डा बनाएर सुरु भएको यो संस्थाले काम गर्दै जाने क्रममा देशका विभिन्न क्षेत्रहरुमा मौलाइरहेको भ्रष्टाचार, कुरिति र विसंगतिसँग सामना गर्नुपर्‍यो ।

सुदनले महसुस गरे, विसंगतिहरुको जालोलाई नच्यातेसम्म देशमा परिवर्तन सम्भव छैन । त्यसैले उनी अहिले समाजसेवासँगै विभिन्न क्षेत्रमा देखिएका विसंगतिहरुकाविरुद्ध आन्दोलनको मोर्चा हाँकिरहेका छन् । त्यसैको एउटा कडी हो ‘घोपा क्याम्प बचाउ आन्दोलन’ । सुदनकै नेतृत्वमा झण्डै एक महिना अगाडिदेखि सुरु भएको हो यो आन्दोलन ।

यो आन्दोलन सुरु गर्नु पछाडि पनि सुदनको आफ्नै अनुभव छ । केही महिनाअगाडि आफ्नो व्यक्तिगत कामको लागि उनी झापा पुगेका थिए । रातीको १२ बजे उनलाई एक अपरिचित व्यक्तीको फोन आयो । ती व्यक्तीले आफ्नो एकजना साथि बाइक दुर्घटनामा परी धरानको घोपा क्याम्पमा उपचार गराइरहेको भन्दै आफूहरुसँग पैसा नभएको कारण सहयोग गरिदिन आग्रह गरे । धरानदेखि नजिकै रहेका कारण उनी राति नै घोपा क्याम्प पुगे । तर, जब उनी त्यहाँको आकस्मिक कक्षमा पुगे उनी रणभुल्लमा परे ।

अस्पतालको आकस्मिक कक्ष जस्तो संवेदनशील ठाउँमा बिरामीको लागि बेडसमेत नभएको देखे । भुइमै लडाएर विरामीको उपचार भईरहेको देखे । सामान्यभन्दा सामान्य औषधीको पनि अभाव देखे । उनले अस्पातलका लागि आफ्नो संस्थामार्फत केही अत्यावश्यक वस्तुहरुको सहयोग गर्ने मनसाय बनाए । तत्पश्चात उनीमाथि बर्सिन थाले अस्पातलमा मौलाइरहेको भ्रष्टाचार र कुरितिहरुका एकपछि अर्का ‘ट्रुथ बम’ हरु ।

अस्पतालकै एक कर्मचारीमार्फत उनले सुने– घोपा क्याम्पमा त सहयोग गर्नका निम्ति पनि कमिसन दिनुपर्छ । सामान्य भिडियो एक्सरेको रिपोर्टको लागि पनि महिनौ दिन कुर्नपर्ने, डाइलाइसिस भवनको निर्माण भई मेसिनसम्म खरिद भइसकेको भए पनि सेवा सञ्चालन हुन नसकेको, प्रयोगशाला प्रयोग हुने परीक्षणमा कमसल किटको प्रयोग हुने गरेको, अस्पतालको उपकरण खरिदमा ठूलो अनियमितता हुने गरेको, उपचारसँग सम्बन्धित सामग्री बजार मुल्यभन्दा दशौ गुणा बढीमा खरिद गरिएकोजस्ता कुराहरु सुनिए ।

यस्तै, वार्षिक २ सय २० करोड रुपैयाँको बजेटमा चालु खर्च मात्र ७० प्रतिशत रहेको र त्यसमा पनि ४८ करोड रुपैयाँसम्म बेरुजु देखिने गरेको, बिजुलीको महशुल प्रतियुनिट १९ रुपैयाँसम्म असुल गर्ने गरेको, प्रतिष्ठान भित्रको करोडौँ रुपैयाँ बराबरको जग्गा बिनाप्रतिस्पर्धा मासिक १४ हजार मात्र भाडा लिने गरी उपलब्ध गराइएको आदि । थप बुझ्दै जाँदा उनले थाहा पाए अस्पताल भित्रका बेथिती कति हो कति ।

सोही समयमा नै उनले अठोट गरे, अब घोपा क्याम्पलाई बचाउनका निम्ति आन्दोलन सुरु गर्नु पर्छ । तर उनी हतारमा आन्दोलन गर्न हुँदैन भन्ने पक्षमा रहेको बताउँछन् । आन्दोलनलाई सकेसम्म व्यवस्थित र सुरक्षित बनाउनपर्छ र आन्दोलनका लागि पनि ठोस योजना बनाउनुपर्छ भन्ने उनको धारणा छ । उनले हाँकेको आन्दोलनमा चर्का नारावाजी सुनिदैन । ढुङ्गा मुढा हुँदैनन् । प्रदर्शनकारीहरु भद्र तरिकाले सडकमा बस्छन् आफ्नो कुरा राख्छन् र परिवर्तनको सुनौलो सपना देख्छन् ।

हालका दिनहरुमा उनले देखेको ताजा सपना हो घोपा क्याम्पमा सुदिन ल्याउने सपना । उनी चाहन्छन् भविष्यमा औषधी र उपकरणको अभावले कुनै गरीबले ज्यान गुमाउन नपरोस् । घोपा क्याम्पलाई खोक्रो बनाइरहेका भ्रष्टाचारीहरुले सजाय पाउन्, सम्बन्धित निकायले जवाफदायिताको महशुस गरोस् ।

उनी भन्छन्, ‘हाम्रो सरकार सुतिरहेको छ । अराजकता र ढुङ्गामुढा नगरी सरकार चनाखो नहुने परीपाटी छ । तर हामी अराजकतामा उत्रिदैनौ मायाले सम्झाउछौ । संयमता अपनाउँछौ तर निरन्तर परिवर्तनको लागि लडिरहन्छौँ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.