कांग्रेस कास्की सभापति बराल भन्छन्– गठबन्धन टुटेको छैन, म बैठकमै छु – Nepal Press

कांग्रेस कास्की सभापति बराल भन्छन्– गठबन्धन टुटेको छैन, म बैठकमै छु

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अस्वाभाविक माग राखेको भन्दै कांग्रेस कास्कीका दुई सचिवले विज्ञप्ति निकालेर गठबन्धन तोडेको घोषणा गरेका छन् । तर, सभापति किशोरदत्त बराल भने गठबन्धन कायम रहेको बताउँछन् ।

उनी अहिले पनि गठबन्धनकै बैठकमा छन् । ‘म बैठकमै छु । गठबन्धन टुटेको कुरा साँचो होइन’, उनले भने, ‘सचिवहरूले किन त्यसो गर्नुभयो, मैले बुझ्न पाएको छैन । विज्ञप्ति निकाल्न मसँग सल्लाह लिनुभएको होइन ।’

अहिले जिल्लाका पालिकामा बाँडफाँट टुंग्याउन गठबन्धनको बैठक होटल दीपसागरमा बसिरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्यले विज्ञप्ति गलत भएको बताए । कांग्रेसकै सभापतिको नेतृत्वमा बैठक बसिरहेको बेला बाहिरिएको विज्ञप्तिले खासै असर नगर्ने उनको भनाइ छ ।

‘गठबन्धनको बैठक चलिरहेको छ । सभापतिज्यू यहीँ हामीसँगै हुनुहुन्छ’, उनले भने, ‘गठबन्धन टुटेको भए बैठक किन चलिरहन्थ्यो, टुटेको छैन । यो कायम रहन्छ ।’

एकीकृत समाजवादीले पोखराको मेयरमा दाबी गरेको छ । तर, कांग्रेसले भने जनमत नै नभएको पार्टीले मेयर माग्दा हारिने भन्दै कांग्रेसले नै मेयर पाउनुपर्ने अडान राखेको छ । दुई सचिवले एकीकृत समाजवादीको माग अस्वाभाविक भएकोले उसँग गठबन्धन नहुने विज्ञप्तिसहित जिल्लाका नेता-कार्यकर्तालाई सोहीअनुसार काम अघि बढाउन निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर