विराटनगरको मेयरमा कांग्रेसका केन्द्रीय नेतासहित सात जनाको नाम सिफारिस, गठबन्धनलाई उपेक्षा – Nepal Press

विराटनगरको मेयरमा कांग्रेसका केन्द्रीय नेतासहित सात जनाको नाम सिफारिस, गठबन्धनलाई उपेक्षा

विराटनगर । विराटनगर महानगर समितिले मेयर र उपमेयरका उम्मेदवारहरूको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

मेयरका लागि केन्द्रीय सदस्यद्वय डा. डिला सङ्ग्रौला, अमृत अर्याल सहित ७ जनाको नाम सिफारिस गरेको छ ।

यस्तै जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की र महानगर सभापति दीपक चापागाईँको नाम सिफारिस भएको हो ।

यस्तै, केन्द्रीय सदस्यहरू बहालवाला मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम केन्द्रीय कार्यालयमा बुझाएको महानगर समितिले जनाएको छ ।

उपमेयरमा नीरज कोइराला, झुमा गौतम, प्रमीला गच्छदार, प्रमीला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।

केन्द्रले नै महानगरको भागबण्डाको टुंगो लगाउने बताइरहेका बेला महानगर समितिले भने मेयर र उपमेयर उम्मेदवारका लागि नाम सिफारिस गरेको हो ।

महानगर समितिले यसअघि नै विराटनगरमा गठबन्धन नगर्ने निर्णय गरेको थियो ।

नेपाली कांग्रेस मोरङको पार्टी कार्यालयमा आज गठबन्धनको बैठक चलिरहेका बेला कांग्रेस कार्यकर्ताले नाराबाजी गरेपछि अन्य गठबन्धन दलका नेताहरू बैठक छाडेर हिँडेका छन् ।

२०७४ को मत परिणामअनुसार महानगरका सबै वडाध्यक्षको मत जोड्दा कांग्रेसको १६ हजार ७६६ मत हुन्छ ।

यस्तै एमालेको १६ हजार २१८, संघीय समाजवादी फोरमको १० हजार ९३२, माओवादी केन्द्रको ८ हजार १, राप्रपाको ४ हजार २९१ र फोरम लोकतान्त्रिकको मत ४ हजार ४५२ छ ।

लोकतान्त्रिक फोरम काँग्रेसमा समाहित भएसँगै कांग्रेसको मत अब २१ हजार ८ सय ६० मत पुग्छ ।

विराटनगरमा काँग्रेसले १९ नम्बर वडासहित ८ वटा वडा जितेको छ भने संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवारले एउटा वडामा जितेका थिए ।

अघिल्लो पटक कांग्रेस र राप्रपा एक्लै चुनावमा होमिएका थिए भने एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादीबीच गठबन्धन बनेको थियो ।

त्यसबेला कांग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बने । एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३२१ मत प्राप्त गरेका थिए ।

यस्तै माओवादी र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९५८, राप्रपाका प्रह्लाद प्रसाद साहले ५ हजार ५२४ मत पाएका थिए । अन्य उम्मेदवारको जम्मा मत ३६४ रहेको छ ।

विराटनगर महानगरपालिकामा अघिल्लो निर्वाचनको तुलनामा १९ हजार ३८१ जना नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्क अनुसार मतदाताको सङ्ख्या विराटनगरमा मात्रै १ लाख ३३ हजार १ सय ४२ जना पुगेक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर