गठबन्धन बाँडफाँट- महानगरबाहेक काठमाडौंका ४ नगरपालिकामा नेकपा एसको दाबी – Nepal Press

गठबन्धन बाँडफाँट- महानगरबाहेक काठमाडौंका ४ नगरपालिकामा नेकपा एसको दाबी

काठमाडौं । सत्ता गठबन्धनको जिल्ला स्तरीय संयन्त्रको बैठक बसिरहेका बेला नेकपा एकीकृत समाजवादीले काठमाडौंका चार वटा नगरपालिकामा मेयर दाबी गरेको छ ।

महानगरपालिका केन्द्रबाटै तय हुने भएकाले बाँकी १० वटामध्ये ४ वटा नगरपालिकामा नेकपा एसले दाबी गरेको हो ।

केन्द्रले बनाएको मापदण्ड अनुसार कागेश्वरी मनहरा नगरपालिका नेकपा एसले स्वतः पाउनेछ ।

कागेश्वरी मनहराका मेयर कृष्णहरी थापा नेकपा एसमा कायम रहेकाले केन्द्रीय मापदण्ड अनुसार नै सो नगरपालिका नेकपा एसको भागमा पर्छ । नेपाली कांग्रेसले जितेका गोकर्णेश्वर, चन्द्रागिरि, नागार्जुन र दक्षिणकाली कांग्रेसकै भागमा पर्नेछन् ।

बाँकी एमालेले जितेका ५ नगरपालिकाको भागबन्डा पेचिलो बनेको छ । काठमाडौंमा सत्ता गठबन्धनका पाँचमध्ये कांग्रेस, माओवादी, नेकपा एस र जसपाको संगठन छ । तर जसपाले अहिलेसम्म मेयरको दाबी भने गरेको छैन ।

नेकपा एसले एमालेले जितेकामध्ये थप तीन नगरपालिका आफूले पाउनुपर्ने दाबी गरेको छ ।

नेकपा एसका काठमाडौं जिल्ला कमिटी उपसचिव ध्रुव राज न्यौपानेका अनुसार मापदण्डमै परेको कागेश्वरी मनहराबाहेक बुढानिलकण्ठ, तारकेश्वर र किर्तिपुर नगरपालिकामा आफूहरूको दाबी गरेको बताए ।

संगठन र जनाधारका हिसाबले काठमाडौं महानगरपालिकासहित शंखरापुरमा पनि नेकपा एस बलियो रहेको उनको भनाइ छ । शंखरापुरमा नेकपा एसका जिल्ला सचिव एलपी श्रेष्ठ मेयरका दाबेदार छन् ।

त्यस्तै बुढानिलकण्ठको मेयरमा उपसचिव न्यौपाने दाबेदार हुन् । जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुँदा राम्रो काम गरेको न्यौपाने कपन क्षेत्रका लोकप्रिय युवा नेता हुन् ।

बुनपामा कांग्रेसले प्रतिपक्षीको भूमिका समेत निर्वाह गर्न नसक्दा न्यौपाने नेतृत्वको समूहले एमालेकालदेखि नै सो भूमिका देखाएको दाबी छ ।

उता तारकेश्वरमा लब बस्नेत र किर्तिपुरमा जिल्ला उपाध्यक्ष बटुकृष्ण थापा नेकपा एसबाट मेयरका दाबेदार हुन् । माओवादीले पनि शंखरापुर, टोखा, किर्तिपुर र दक्षिणकालीमा दाबी गरेको छ ।

नेपाली कांग्रेस भने एक्लै सबै नगरपालिका जित्ने भन्दै जनमत नभएका पार्टीलाई नगरपालिका दिएर एमाले जिताउन नसकिने अडानमा छ । कांग्रेसका जिल्ला सभापति सबुज बानियाँले गठबन्धन दलहरुले जनमत र आफ्नो हैसियत हेर्नुपर्ने सुझाव दिए ।

काठमाडौंमा गठबन्ध दलमध्ये कांग्रेसभन्दा पनि आफ्नो जनमत रहेको दाबी नेकपा एसले गरेको छ । नेकपा एमालेबाट स्थापित नेता कार्यकर्ताहरुले नै विद्रोह गरेको र पार्टी अध्यक्ष माधव नेपाल, जीवनराम श्रेष्ठ, कुसुम कार्की, बसन्त मानन्धर लगायतका नेताहरु रहेकाले माओवादीभन्दा आफ्नो बढी मत रहेको नेकपा एसका नेताहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर