पोखरा महानगर: महागठबन्धनमाथि एमाले हाबी, मेयरमा कांग्रेस र नेकपा एसको तथ्यांकसहित यस्तो दाबी – Nepal Press
स्थानीय चुनाव

पोखरा महानगर: महागठबन्धनमाथि एमाले हाबी, मेयरमा कांग्रेस र नेकपा एसको तथ्यांकसहित यस्तो दाबी

काठमाडौं । भागबण्डाका क्रममा पोखरा महानगरपालिकाको नेतृत्व नछाड्न आग्रह गर्दै बुधबार कास्की कांग्रेसका नेताहरूको टोलीले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायत केन्द्रीय पदाधिकारीहरूलाई भेट्यो । कास्की सभापति किशोरदत्त बरालको नेतृत्व गएको टोलीले ठूलै मेहनतपछि सभापति देउवालाई भेट्न पाएको थियो ।

भेटमा प्रधानमन्त्री देउवाले उल्टै कास्की कांग्रेसको टोलीको ‘झाँको’ लिए । टोलीले पोखरा महानगरको नेतृत्व एकीकृत समाजवादीलाई दिन लागेको र त्यसो हुँदा एमालेलाई जित्न पनि नसकिने र कांग्रेसलाई नै क्षति हुने बताएको थियो ।

त्यत्ति सुन्दा नै प्रधानमन्त्री देउवाले महानगर भागबण्डाबारे कुरै नचलेको भन्दै रिस निकाले । उनले झोक्किँदै जवाफमा भने, ‘कुरै चल्या छैन । कसरी दिने भन्ने ? त्यसै कुरा लिएर आउने ?’

त्यसपछि पोखराको अंकगणितका विषयमा टोलीले जानकारी गराउने प्रयास गरेको थियो । त्यसमा पनि प्रधानमन्त्री देउवाले ‘सब थाहा छ, सब थाहा छ’ भनेर कुरै सुन्न चाहेनन् । अन्तिममा टोलीले कांग्रेस एक्लै पनि चुनाव जित्न सक्ने अवस्थामा रहेको बताएको थियो ।

त्यसपछि प्रधानमन्त्री देउवाले कांग्रेसबाट साझा उम्मेदवार बनाएर ल्याउन चुनौती दिए । ‘साझा उम्मेदवार बनाएर ल्याउन सक्छौं ?’ भनेर चुनौतीपूर्ण प्रश्न तेस्र्याएपछि टोली नाजवाफ भयो । जिल्ला सभापतिले ‘सक्छौं’ भन्ने जवाफ दिन सकेनन् ।

प्रधानमन्त्री देउवा झोक्किएजस्तै पोखराको अवस्था पनि उस्तै देखिन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरामा नेकपा माओवादी केन्द्रले मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई समर्थन गरेको थियो । माओवादी केन्द्रको समर्थन पाउँदा पनि कांग्रेस उम्मेदवार कुँवर नेकपा एमालेका उम्मेदवार मानबहादुर जीसीसँग झण्डै १४ हजारको मतान्तरले पराजित हुनपुगे ।

त्यतिबेला एमालेबाट उम्मेदवार जीसीले ६० हजार एकसय १८ मत पाउँदा कांग्रेसका कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरेका थिए । तेस्रो भएका संघीय समाजवादी फोरमका उम्मेदवार हुमबहादुर गुरुङले ३ हजार एक सय ७० मत ल्याउँदा राप्रपाका उम्मेदवार गिता गुरुङले २ हजार २ सय ७२ मत ल्याएकी थिइन् । अहिले हुमबहादुरसहित जसपाको सिंगो टिम नै एमालेमा प्रवेश गरिसकेको छ ।

विगतको यो नतिजा हेर्दा त्यहाँ एमाले एक्लै निकै बलियो छ । त्यहीँ कारण सत्तारूढ गठबन्धनका दलहरू एक्ला–एक्लै लड्दा अवस्था सुरक्षित छैनन् । प्रधानमन्त्री देउवाले पनि सोही गणितको आँकलन गरेर नै पोखरामा गठबन्धनको विकल्प देखेका छैनन् ।

यद्यपि सत्तारूढ दलहरूबीचको भागबण्डामा महानगरको नेतृत्व कहाँ कसले लिने ? भन्ने विषयमा रस्साकस्सी चलिरहेको छ । सोही रस्साकस्सीको उदाहरण हो– कास्की कांग्रेसको हिजोको डेलिगेसन ।

चुनावी गणितमा एमाले हाबी, दोस्रोमा कांग्रेस

सत्तारूढ दलहरूले प्रक्षेपण गरेको तथ्यांकअनुसार नै पोखरामा एक्ला–एक्लै तुलना गर्दा एमाले हावी देखिन्छ । निर्वाचन आयोगका अनुसार यसपटक महानगरमा २ लाख ७ हजार ७ सय १२ जना मतदाता छन् । कास्की कांग्रेसले गरेको प्रक्षेपणअनुसार यसमा झण्डै २५ देखि ३० प्रतिशत मत नखस्ने मतदाताको छ । जुन नेपालका पछिल्ला निर्वाचनहरूको औसत दर हो ।

बाँकी मतमा ७० देखि ७२ हजार मतदाता एमालेले होल्ड गर्नसक्ने रिपोर्ट कांग्रेसको छ, जुन देउवालाई सुनाउन ल्याइएको थियो । कांग्रेससँग ६० हजारको हाराहारीमा मत छ भने ८ हजार माओवादी केन्द्र र ५ हजार नेकपा एससँग रहेको कांग्रेसको दाबी छ ।

अघिल्लो निर्वाचनमा तीनहजार बढी मत पाएको संघीय समाजवादी फोरम (हालको जसपा) का मेयरका उम्मेदवार गुरुङ नै एमाले प्रवेश गरेपछि सो मत उतै गएको कांग्रेसको दाबी छ ।

हुमबहादुरमात्र होइनन्, कास्कीका प्रभावशाली नेता तथा प्रदेश अध्यक्ष गणेशमान गुरुङसहित यहाँको ३ हजार मत होल्ड गर्ने समूहलाई केपी ओलीले एमालेमा स्वागत गरिसके । नेकपा एसले एमालेबाट काट्ने मत एमालेले जसपाबाट कभर गर्ने दाबी छ ।

यता नेकपा एसले भने झण्डै १८ हजार मत नेकपा एमालेको तान्ने प्रक्षेपण गरेको छ । त्यसका लागि सो पार्टीले ८३ पेजको प्रतिवेदन नै तयार पारेको स्रोतले बतायो । तर कास्की कांग्रेसले भने नेकपा एसको त्यो अनुमान आधारहीन रहेको दाबी गरिरहेको छ ।

कांग्रेसका मेयर दाबेदार बाबुराम आचार्य तीनपटक गन्दा पनि नेकपा एसको मत १८ हजार नपुग्ने दाबी गर्छन् । नेकपा एसका मेयरका दाबेदार धनराज आचार्यकै वडामा सो पार्टीले २ सय मत कटाउने अवस्था नरहेको र अन्य वडामा त्यति मत पनि नरहेको कांग्रेस र माओवादी दुवै पक्षको आँकलन छ ।

गठबन्धनभित्र मेयरमा तीनै दलको दाबी

सत्तारूढ पाँच दलबीचमा स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णयपछि अहिले सिट भागबण्डाको बहस चलिरहेको छ । देशभरका ६ महानगरमध्ये कांग्रेसबाहेकका दलहरूले ३–३ को अवधारण अघि सारेका छन् । जसमा ३ महानगर कांग्रेस र ३ आफूहरूले पाउनुपर्ने उनीहरूको दाबी छ ।

कांग्रेसले पाउने तीन महानगरमा पहिल्यै जितेको ललितपुर र विराटनगरका साथै देशको राजधानी काठमाडौंको चर्चा भइरहेको छ ।

भरतपुरमा माओवादी केन्द्रबाट फेरि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेणु दाहाललाई नै लडाउने लगभग तय भइसकेको स्रोत बताउँछ । वीरगञ्जमा जसपाले दाबी गरिरहेको छ भने नेकपा एसले बाँकी रहेको पोखरा त हरहालतमा लिइछाड्ने अड्डी कसेको छ ।

केहीदिनअघि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले कम्तिमा एक महानगर र एक उपहानगर आफूहरुले पाउनुपर्ने बताएका थिए ।

त्यसैअनुसार उसले पोखरा रोजेको चाल पाएपछि कास्की कांग्रेसका नेताले सक्रियता बढाएका छन् । एमालेपछि दोस्रो शक्तिशाली दल कांग्रेस नै भएकाले एमाले हराउन कांग्रेसबाहेक अन्य दलले नसक्ने उनीहरूको तर्क छ ।

‘गठबन्धन बनाएर चुनावमा जानेमा दुईमत छैन । तर, समाजवादीलाई अगाडि बढाएर चुनाव चाहिँ जितिँदैन । मुस्किलले पाँच हजार मत हो– समाजवादीको,’ हिजो प्रधामन्त्रीलगायत कांग्रेसका शीर्ष पदाधिकारीहरूसँगको भेटमा कास्की कांग्रेसका सभापति बरालले भनेका थिए, ‘पोखराको नेतृत्व चाहिँ कांग्रेसले पाउनेगरी गठबन्धनबाट चुनावमा जानुपर्यो ।’

पोखरामा पाँच दलीय गठबन्धनभन्दा एमाले एक्लै बलियो देखिन्छ । पछिल्लो समय जसपाको समेत मत थपिएको अवस्थामा गठबन्धनबाट कांग्रेस उम्मेदवार बन्दा जुन तहको प्रतिस्पर्धा हुन्छ, नेकपा एस वा माओवादीबाट मेयर उम्मेदवार बन्दा एमालेको जित अझ सहज हुने ठम्याइ छ । त्यसैले कांग्रेस पोखरा छाड्न चाहँदैन तर केन्द्रबाट नेकपा एसलाई दिनैपर्ने अवस्थामा पोखराबाहेक अरु महानगर छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर