सुरु भयो वर्ष २०७९, नेतादेखि राष्ट्रपतिसम्मको शुभकामना – Nepal Press

सुरु भयो वर्ष २०७९, नेतादेखि राष्ट्रपतिसम्मको शुभकामना

काठमाडौं । आज विक्रम सम्वत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम सम्वत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा. डा. माधव भट्टराई बताउँछन् ।

‘विक्रम ६० सम्वतसरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य सम्वत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम सम्वत् चल्दछ, शक सम्वतका विशेषतादेखि इश्वी सम्वतका व्यवहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने ।

सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो सम्वतको पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ ।

सौरमान र चान्द्रमानको समन्वय पनि यो सम्वतमा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम सम्वत् सुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता–असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्दछन् ।

आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । चन्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ सम्वतसर भने चैत १९ गतेदेखि नै सुरु भइसकेको छ ।

चैत १९ गतेदेखि नल नामको सम्वतसर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

वैदिक सनातन हिन्दू धर्मअनुसार ६० सम्वतसर छन् । यी सम्वतसर आदि अनादिकालदेखि घुम्दै आएका छन् ।

षष्टि सम्वतसरमध्येको पहिलोको नाम प्रभव हो ।

अहिले चलिरहेको नल ५० औँ सम्वतसर हो । प्रत्येक संवतसरको बेग्लाबेग्लै फल हुने ‘षष्टि सम्वतसर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताए ।

नयाँ वर्षको उपलक्ष्यमा नेतादेखि राष्ट्रपतिसम्मको शुभकामना

नयाँ वर्षको उपलक्ष्यमा विभिन्न दलका शीर्षस्थ नेतासँगै प्रधानमन्त्री शेरबहादुरदेखि र राष्ट्रपति विद्यादेवी भण्डारीले देशबासीका नाममा शुभकामना सन्देश दिएका छन् । त्यसैगरी निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियादेखि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि शुभकामना सन्देश दिएका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिएका छन् ।

उनीहरुले यो वर्ष देशसँगै आमनागरिकमा सुख, खुसी र प्रगतिको कामना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर