वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेका आठ जना युवा सम्मानित – Nepal Press

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेका आठ जना युवा सम्मानित

डेढ लाख राशीको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार कैलालीका हरिप्रसाद जैसीलाई

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेका आठ जना युवालाई सम्मान गरेको छ। शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक कार्यक्रमकाविच उनीहरूलाई सम्मान तथा राष्ट्रिय पुरस्कार प्रदान गरेको हो ।
जसमा आठ जनामध्ये लम्कि चुहाँ नगरपालिका एक कैलाली सुदूरपश्चिम प्रदेशका हरिप्रसाद जैशी एक लाख ५० हजार राशीको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । बाँकी सात जना भने ७५ हजार राशीको उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका हुन् । जसमा प्रदेश एकबाट हेमकुमार झाकोटे मगर, गण्डकी प्रदेशबाट सुनिल कार्की र मेखनाथ गुरुङ, बागमती प्रदेशबाट शंकरकुमार ओली, लुम्बिनी प्रदेशबाट गुनबहादुर बुचा, कर्णाली प्रदेशबाट लोकराज भण्डारी र सुदूरपश्चिम प्रदेशबाट अमृतबहादुर शाही सम्मानित भएका छन् ।
विदेशमा सिकेको सीप तथा त्यहाँबाट प्राप्त गरेको पुँजी परिचालन गरेर देशमा रोजगारीका अवसर सिर्जनामा टेवा पुर्याएको भन्दै सरकारले उनीहरुलाई सम्मान गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेलले जानकारी दिए । उनका अनुसार विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिम उनीहरूलाई पुरस्कारका लागि छनौट गरिएको हो ।
पुरस्कार प्राप्त गर्नका लागि ८३ जना युवाले आवेदन दिएका थिए । तिमध्ये रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यातको अवस्था, सामाजिक दायित्व बहन, वातावरण मैत्री प्रविधिको प्रयोग तथा प्रदूषण व्यवस्थापन, उद्योग सञ्चालन गरेको भौगोलिक क्षेत्रका आधारमा पुरस्कृत हुने आठ जना छनोट भएका हुन् ।
सम्मानित भएका उद्यमीले देशमा केही गर्छु भनेर फर्किएका युवालाई सरकारको सहयोगको खाँचो भएको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । विदेशमा सीप सिकेर देशमा उद्यम गरिरहेका युवालाई पुरस्कृत गर्न पाएकोमा मन्त्रालय खुसी भएको उनको भनाई थियो ।
व्यवसाय सञ्चालनलाई सहज बनाउन सरकारले सहुलियत ऋण दिनुपर्ने, बजारको व्यवस्थापन हुनुपर्ने लगायतका माग पुरस्कृत युवाले राखेका थिए । पुरस्कृत आठै जनलाई सम्मान गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले युवालाई स्वदेशमै उद्यम गर्ने प्रोत्साहन मिलोस् भनेर सरकारले सम्मान गरेको बताए । स्वदेशमै श्रम, सीप र पुँजी परिचालन गरी रोजगारी सिर्जना तथा आयमूलक काममा सक्रिय रहन उनले युवालाई आग्रहसमेत गरेका छन् ।
‘मन्त्री श्रेष्ठले भने, ‘वैदेशिक रोजगारीमा गएर फर्किएको एक जना व्यक्तिले फर्किएर ४० भन्दा बढीलाई रोजगारी दिनु समान्य कुरा होइन। युवा भनेका देशका सम्पती हुन् । उहाहरुको यो कामले अरु धेरै युवालाई पनि प्रोत्साहन मिल्नेछ ।’ सरकारले यो वर्ष आठ जनालाई सम्मान गरे पनि यसले फर्किएका सबै श्रमिकलाई सम्मान मिल्ने र हौसला बढ्ने मन्त्री श्रेष्ठको भनाई थियो । वैदेशिक रोजगारलाई व्यवस्थित गर्दै आन्तरिक रोजगारीका अवसर सिर्जनामा पनि आफूले काम गरिरहेको मन्त्री श्रेष्ठले बताए । उनले बैंकबाट दिने सुविधा सहज बनाउन मन्त्रालयले सहयोग गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *