धर्मशाला गेटमा बतास र सरकारी पक्षबीच भनाभन, सत्तापक्षकै जनप्रतिनिधिले मुचुल्कामा सही गर्न गएनन् (भिडिओ) – Nepal Press

धर्मशाला गेटमा बतास र सरकारी पक्षबीच भनाभन, सत्तापक्षकै जनप्रतिनिधिले मुचुल्कामा सही गर्न गएनन् (भिडिओ)

काठमाडौं । पशुपतिनाथ परिसरमा रहेको धर्मशाला बतास समूहबाट खोस्न पत्रसहित गएको पशुपति विकास कोष तथा सरकारको टोलीलाई व्यवस्थापन पक्षले गेट लगाएर भित्र पस्न रोकेको छ ।

पर्यटनमन्त्री प्रेम आलेको निर्देशनका गएका सरकारी प्रतिनिधिलाई धर्मशाला सञ्चालक पक्षले ‘अदालतको आदेश लिएर आउनू’ भन्दै भित्र प्रवेश गर्न दिएन । हुलहुज्जत गर्दै मिडिया बोकेर आएको भन्दै कर्मचारीले भित्र अवलोकन गर्ने भए समय लिएर आउन भनेका थिए । त्यसक्रममा केहीबेर भनाभनसमेत भएको थियो ।

यसअघि पनि कोषका प्रतिनिधि धर्मशालामा जाँदा पत्र बुझ्न मानेको थिएनन् । स्थानीय जनप्रतिनिधि मुचुल्कामा सही गर्न नआएपछि उनीहरु फर्किएका थिए । आज पनि जनप्रतिनिधि खोज्दा कोही पनि सम्पर्कमा आउन नचाहेको कोषका एक पदाधिकारीले बताए ।

पशुपति क्षेत्र काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा पर्छ । सो वडामा सत्तारुढ नेपाली कांग्रेसले जितेको छ । संघीय सांसद पनि कांग्रेसकै गगनकुमार थापा छन् भने प्रदेश सांसद कांग्रेसका नरोत्तम वैद्य छन् । तर सत्तापक्षकै जनप्रतिनिधिले सहयोग नगरेको पर्यटनमन्त्री आलेको सचिवालयले जनाएको छ ।

सम्झौताअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन ।

त्यसपछि गत सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो । सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *