कांग्रेसले भन्यो: घोडाघोडीमा गठबन्धन हुँदैन, भए मेयर छाड्दैनौं – Nepal Press

कांग्रेसले भन्यो: घोडाघोडीमा गठबन्धन हुँदैन, भए मेयर छाड्दैनौं

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने भएको छ । आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घोडाघोडी कांग्रेसले बरु गठबन्धन नगर्ने तर मेयर नछाड्ने निष्कर्ष निकालेको हो ।

२२ गते कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा पनि वडामा खटिएका प्रतिनिधिहरुले गठबन्धन गर्न नहुने बताएका थिए । वडामा खटिएका जिल्ला समिति सदस्य अमर खत्रीले बैठकमा घोडाघोडीमा गठबन्धन गर्न नहुने सुझाव दिएका थिए । ‘हामी घोडाघोडीमा अहिले एक्लै बलियो छौं । त्यहाँ गठबन्धन गर्न आवश्यक छैन’ उनले बैठकमा भनेका थिए ।

खत्री अहिले पनि घोडाघोडीमा गठबन्धन गर्न नहुने बताउँदै आइरहेका छन् । ‘हामी गठबन्धनको पक्षमा छैनौं’ उनले नेपाल प्रेसलाई भने ‘घोडाघोडीमा गठबन्धन गर्न हुँदैन ।’

आफूहरूको व्यक्तिगत धारणा भन्दा पनि पार्टीको निर्देशन महत्त्वपूर्ण हुने भन्दै केन्द्रले गठबन्धनको निर्णय गरेपछि आफूहरुले त्यो मान्न तयार हुने उनको भनाइ छ । यदि गठबन्धन हुने अवस्था आए प्रमुख र अधिकांश वडाहरूमा अध्यक्षको दाबी रहने उनले बताए ।

‘हामीलाई घोडाघोडीमा प्रमुख चाहिन्छ’ उनले भने ‘गठबन्धन भए प्रमुख र अधिकांश वडाध्यक्षमा हामी दाबी राख्छौँ ।’

जिल्ला समिति सदस्य खत्री मात्रै होइन, घोडाघोडीका नगर उपसभापति तिलक भट्टराई पनि अहिलेको अवस्थामा गठबन्धन गर्न नहुने बताउँछन् । ‘गठबन्धन गरेर सरकार चलाउने कुरा हुन्छ ।तर, गठबन्धन गरेर निर्वाचनमा जाने कुरा उपयुक्त होइन ’उनले भने, घोडाघोडीमा गठबन्धन उपयुक्त होइन । यदि भए हामीलाई प्रमुख चाहिन्छ ।’

नगर सभापति वमबहादुर सिंहले पनि घोडाघोडी नगरपालिकामा गठबन्धन भए प्रमुखमा आफ्नो पार्टीको दाबी गर्ने बताए ।

अहिले कैलालीमा गठबन्धन गर्ने पक्षमा गठबन्धनमा रहेका उच्च तहका नेताहरू छन् । कांग्रेसमा भने अहिले गठबन्धन गर्ने वा नगर्ने भन्नेमा जिल्लामा अन्यौलता छ । तर, जिल्ला समितिले भने केन्द्रले गठबन्धन गर्ने निर्णय गरेको हुँदा गठबन्धन हुने दाबी गरेको छ ।

बुधबार तालमेलका विषयमा समेत छलफल भएको थियो । तर, त्यसले मूर्तरूप लिन पाएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर