चुनावी तालमेलका लागि ओलीको जवाफ कुर्दै राप्रपा महामन्त्री राणा – Nepal Press

चुनावी तालमेलका लागि ओलीको जवाफ कुर्दै राप्रपा महामन्त्री राणा

कैलाली । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाबीच भेटवार्ता भएको एक सातासम्म पनि तालमेलको विषय अघि बढ्न सकेको छैन । गत बिहीबार राति नेपालगन्जमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने प्रस्ताव लिएर राणाले ओलीलाई भेटेका थिए । दुवै जनाबीच करिब १ घण्टा एक्लाएक्लै छलफल भएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुखसमेत रहेका राणाले आगामी निर्वाचनमा एमाले र आफूहरू मिलेर जाँदा उपयुक्त हुने भन्दै ओलीलाई प्रस्ताव पेस गरेका थिए ।

‘ठिकै छ छलफल गरौँ, कुरा राखौँ भन्नुभयो’ ओलीको कुरालाई उदृत गर्दै राणाले भनेका थिए, ‘उहाँले मैले पनि मेरो पार्टीमा कुरा राख्छु भन्नु भयो । मैले पनि यस विषयमा पार्टीमा छलफल गर्छु भनेँ ।’

स्थानीय तहमा तालमेल गर्ने विषयमा पनि दुवै दलका नेताहरूले आन्तरिक छलफल गर्ने भन्दै टुंगिएको बैठक फेरि बस्न सकेको छैन । अहिले राप्रपा एमालेसँग तालमेल गर्ने मनसायमा रहे पनि एमालेको आधिकारिक प्रतिक्रिया नआएको राप्रपा महामन्त्री राणाले बताए ।

‘पाँच दलीय गठबन्धन हुँदा हामीलाई पनि केही समस्या हुन्छ । अहिले एमालेलाई पनि तालमेल गर्न आवश्यक देखिन्छ । राम्रो मान्छे जिताउन तालमेल गरौँ भनेको थिएँ’, उनले नेपाल प्रेसलाई भने, ‘अहिले उताबाट (एमालेबाट) कुनै जवाफ आएको छैन । जवाफ आएपछि हामी फेरि छलफलमा जुट्छौँ ।

समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि आवश्यक वार्ता एवं संवाद समितिका संयोजक पनि हुन् राणा । उक्त समितिमा राणासहित ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेका छन् ।

राप्रपामा अहिलेसम्म एमालेसँग चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने नीतिगत निर्णय भने भइसकेको छैन । पहिले एमालेको धारणा बुझेपछि पार्टीभित्र आन्तरिक छलफल गरेर यस विषयमा निर्णयमा पुग्न सकिने राणाले बताए ।

बिहीबार राति करिब १ घण्टाको छलफलपछि ओली र राणाले नम्बरसमेत आदान प्रदान गरेका थिए । उनले भने, ‘उहाँले (ओलीले) मेरो नम्बर लिनुभएको छ । तर, फोन गर्नुभएको छैन । उहाँले फोन गरेपछि थप विषयमा छलफल प्रारम्भ हुन्छ ।’

छलफलै भएन एमालेमा

आसन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनविरुद्ध अर्को गठबन्धन बनाएर जाने राप्रपा महामन्त्रीको प्रस्तावबारे एमालेमा छुट्टै छलफल सुरु भएको छैन । एमालेले राष्ट्रियस्तरमा कुनै पनि दलहरूसँग चुनावी तालमेल नगर्ने भन्दै यसअघि नै निर्णय नै गरिसकेको छ । उक्त निर्णयमा स्थानीयस्तरमा तालमेल गर्न सकिने बताइएको छ ।

राप्रपासँग पनि राष्ट्रियस्तरमा नभइ स्थान विशेषमा तालमेल हुनसक्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराई बताउँछन् ।

‘राष्ट्रियस्तरमा नभए पनि स्थानीय आवश्यकताको आधारमा सहमति र छलफलका माध्यमबाट हुनसक्छ’, उनी भन्छन्, ‘तर, अहिलेसम्म यस विषयमा ठोस छलफल भएको छैन ’

एमाले एक्लै निर्वाचनमा होमिने योजनामा रहेको समेत उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर