सुदूरपश्चिममा एमाले र विप्लव समूहबीच चुनावी तालमेलको प्रयास, छलफल सकारात्मक – Nepal Press

सुदूरपश्चिममा एमाले र विप्लव समूहबीच चुनावी तालमेलको प्रयास, छलफल सकारात्मक

कैलाली । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै सुदूरपश्चिममा एमाले र नेत्रविक्रम चन्द विप्लव समूहबीच सहकार्यको प्रस्तावमा छलफल भएको छ । धनगढीमा भएको छलफलमा दुवै दल आपसमा सघाएर अघि बढ्न सकारात्मक भएका छन् ।

छलफलमा एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारी, सचिव धर्मराज पाठक, केन्द्रीय निर्वाचन आयोगका सदस्य रणबहादुर चन्द र नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन तथा विभिन्न जिल्लाका सेक्रेटरी सहभागी थिए । पहिलो चरणमा भएको छलफल सकारात्मक भएको एमाले प्रदेश अध्यक्ष भण्डारीले बताए ।

‘पहिलो चरणमा बसेर छलफल भएको हो । जो जहाँ बलियो छ, उसलाई सघाउने गरी छलफल भएको छ’ एमाले अध्यक्ष भण्डारीले भने,‘ आ–आफ्नो पार्टीको अवस्था र जित्ने आधार लिएर फेरि बस्ने सहमति भएको छ ।’

नेकपाका केन्द्रीय सदस्य पुनले पनि एमालेसँगको सहकार्य सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । ‘राष्ट्रवादी शक्तिहरूलाई सघाउने पार्टीको रणनीति छ,’ पुनले भने ,‘अगामी निर्वाचनमा तालमेल गरेर जाने कुरा भएको छ । हाम्रो जनधार भएको ठाउँमा स्वतन्त्र उम्मेदवार उठाउँछौँ । उहाँहरूले हामीलाई र हामीले उहाँहरूलाई सहयोग गर्ने कुरा भएको हो ।’

उनले बझाङ, दार्चुलाको केही क्षेत्र बाजुरा, कैलाली कञ्चनपुर र डडेल्धुरामा जनधार बलियो भएको दाबी गरेका छन् ।

वार्ता टोलीमा अध्यक्ष भण्डारीसहित उपाध्यक्ष कमल तिमिल्सेना, सचिव धर्मराज पाठक उपसचिवहरू भागरथी विष्ट र बलदेव रेग्मी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर