लुम्बिनीका सबै ठाउँमा गठबन्धन हुने पक्का ! एमाले भन्छ- ६० प्रतिशत जित्छाैँ, लाग्ने छैन धक्का – Nepal Press

लुम्बिनीका सबै ठाउँमा गठबन्धन हुने पक्का ! एमाले भन्छ- ६० प्रतिशत जित्छाैँ, लाग्ने छैन धक्का

रुपन्देही । स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशका सबै पालिकामा सत्तारुढ दलहरूले गठबन्धन गर्ने घोषणा गरेपछि एमाले नेताहरूले आफूहरूलाई कुनै फरक नपर्ने बताएका छन् ।

गठबन्धन दलहरूले मतको आधारमा उम्मेदवारी बाँडफाँट तयारी गरेको र विगतको मत तथा उम्मेदवारीको लोकप्रियता आधारमा तालमेल गरेर चुनावी मैदानमा जाने अन्तिम तयारीमा रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब लुम्बिनी बुटवलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरबहादुर पुनले गठबन्धन दलभित्र पार्टीहरूले आआफ्नो मत आधार संकलन गरिरहेको र त्यसैका आधारमा उम्मेदवारी दिने बताए । लुम्बिनी प्रदेशमा गठबन्धनको अत्यधिक बहुमत आउने उनले दाबी गरे ।

सभापति पुनले गठबन्धन दलहरूले चुनावी तालमेलमा अक्षरशः पालना गर्ने बताए । उनले भने– देश र जनतालाई समृद्धि बनाउँछौँ भन्ने एमालेले संसद् बैठकलाई अवरोध गरेर जनताका आवाजलाई कुण्ठित गरेकाले गठबन्धन बनेको हो, यसले राम्रो नतिजा ल्याउँछ ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले लुम्बिनी प्रदेशमा आफ्नो पार्टीले ६० प्रतिशत जित हात पार्ने दाबी गरे । प्रदेशका १ सय ९ वटा पालिकाहरूको सर्वेक्षण अनुसार ६० प्रतिशतभन्दा धेरै जित हासिल गर्ने ठोकुवा गरे । उनले एमाले जनताको प्रिय पार्टी भएकाले जस्तोसुकै गठबन्धनले फरक नपार्ने बताए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा नेकपा माओवादी केन्द्रका संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक तुलाराम घर्तीले सत्ता गठबन्धनलाई आगामी निर्वाचनमा निरन्तरता दिने बताए । प्रदेशका सबै स्थानीय तहहरूमा आफ्नो पार्टीले सर्कुलर गरेको र जसअनुसार पालिकामा निर्वाचन संयन्त्र परिचालन समिति गठनको छलफल भइरहेको बताए ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य छन्द पन्थीले ठूला दलका नेताहरूले झुटको राजनीति गर्दै आएको बताए । उनले ठूला दलको होडबाजीले गठबन्धन निर्माण भएको बताए । निर्वाचनका वेला मिठा भाषण र जनतालाई आश्वासन दिने दलहरूले निर्वाचनपश्चात् प्रतिबद्धता पूरा नगर्ने गरेको भन्दै बेइमानीको राजनीति नगर्न उनको सुझाव थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर