स्थानीय चुनाव: एमाले-राप्रपा चुनावी तालमेलको सम्भावना कति ? – Nepal Press

स्थानीय चुनाव: एमाले-राप्रपा चुनावी तालमेलको सम्भावना कति ?

कैलाली । बिहीबार राति एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाबीच करिब १ घण्टा एक्लाएक्लै छलफल भयो । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा एमालेका अध्यक्ष र राप्रपाका महामन्त्रीबीचको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राति नेपालगन्जमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने प्रस्ताव लिएर राणाले ओलीलाई भेटेका थिए ।

राणा समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि आवश्यक वार्ता एवं संवाद समितिका संयोजक पनि हुन् । उक्त समितिमा राणासहित ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुखसमेत रहेका राणा आगामी निर्वाचनमा एमाले र आफूहरू मिलेर जाँदा उपयुक्त हुने भन्दै ओलीलाई प्रस्ताव पेस गरेका थिए ।

भेटघाटमा पाँच पार्टीबीच गठबन्धन भएपछि स्थानीय तह चुनावको तालमेल कसरी गर्न सकिन्छ ? भन्ने विषयमा छलफल भएको थियो । ‘स्थानीय निर्वाचनमा राम्रो मान्छेलाई जिताउनु पर्छ । यस्तो बेला पाँच पार्टी मिल्दा अरूलाई अफ्ठेरो हुन्छ’ उनले ओलीलाई भनेका थिए ‘कांग्रेसले गठबन्धन गरेर अगाडि बढेपछि राप्रपालाई केही समस्या हुने देखिएको छ । एमालेलाई पनि अहिले समयको माग छ । हामी तालमेल गरौं।’

उनले अहिलेको अवस्थमा गठबन्धनका विरुद्ध गठबन्धन गरेर जान उपयुक्त रहेको भन्दै ओलीलाई मनाउन खोजेका थिए । ओली पनि यस विषयमा सकारात्मक रहेको उनको बुझाइ छ ।

‘ठिकै छ छलफल गरौँ , कुरा राखौँ भन्नुभयो’ ओलीको कुरालाई उदृत गर्दै राणाले भने, ‘उहाँले मैले पनि मेरो पार्टीमा कुरा राख्छु भन्नु भयो । मैले पनि यस विषयमा पार्टीमा छलफल गर्छु भनें ।’

राप्रपामा अहिले सँग एमालेसँग चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने नीतिगत निर्णय भने भइसकेको छैन । पहिले एमालेको धारणा बुझेपछि पार्टी भित्र आन्तरिक छलफल गरेर यस विषयमा निर्णयमा पुग्न सकिने राणाले बताए ।

‘पहिले एमालेको कुरा नबुझी पार्टीमा छलफल सुरु हुने कुरा भएन’ उनले भने ‘उहाँ सकारात्मक देखिनुभयो । अब म पार्टीमा कुरा राख्छु । ’

करिब १ घण्टाको छलफलपछि ओली र राणाले नम्बरसमेत आदान प्रदान गरेका थिए । पार्टी तालमेलका विषयमा फेरी दोस्रो चरणको छलफल हुने र त्यहीबाट ठोस निष्कर्षमा पुग्न सकिने उनको भनाइ छ ।

‘उहाँले गठबन्धन गर्न सकिन्छ भन्नुभयो । सल्लाह गरौँ पनि भन्नु भएको छ’ राणाले भने ‘उहाँ नकारात्मक हुनुहुन्थेन ।’

एमालेले के गर्छ ?

आसन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनविरुद्ध अर्को गठबन्धन बनाएर जाने राप्रपा महामन्त्रीको प्रस्तावले एमालेमा पनि यस विषयमा छलफल हुने देखिएको छ । तर , एमालेले राष्ट्रियस्तरमा कुनै पनि दलहरूसँग चुनावी तालमेल नगर्ने भन्दै निर्णय नै गरिसकेको छ । उक्त निर्णयमा स्थानीय स्तरमा तालमेल गर्न सकिने बताइएको छ ।

‘राप्रपाले तालमेलको प्रस्ताव लिएर आएको छ के उहाँहरूसँग तालमेल हुन्छ त ? ’नेपाल प्रेसको प्रश्नमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘राष्ट्रियस्तरमा नभए पनि स्थानीय आवश्यकताको आधारमा सहमति र छलफलका माध्यमबाट हुनसक्छ ।’

अहिलेसम्म स्थानीय स्तरमा पनि कुनै दलहरूसँग तालमेल गर्ने विषयमा नीतिगत निर्णय नभइसकेको उनले बताए ।

‘यो विषयमा स्थानीय स्तरबाट नेता कार्यकर्ताहरुले पनि सुझाव दिनुहुन्छ’ उनले भने ‘उहाँहरूको सुझाव र त्यहाँको आवश्यकता अनुसार तालमेल हुन सक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर